बाबर हायात सहित २ नेदरल्याण्ड क्रिकेटर पारसको टिमबाट इपिएल खेल्ने

  • विकेटनेपाल, मङ्सिर-१७ 

यहि मङ्सिर २२ गतेदेखि सुरु हुने तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि-२० क्रिकेटको लागि पारस खड्का कप्तानीको टिम बिराटनगर वारियर्सले बिदेशी खेलाडी तथा बिदेशी प्रशिक्षकको नाम सार्वजनिक गरेको छ।

एभरेस्ट प्रिमियर लिगमा एउटा टिमले १५ जना खेलाडीको टिममा ३ जना बिदेशी खेलाडी राख्नैपर्ने र ३ जना खेलाडीलाई अन्तिम ११ मा पनि समाबेस गर्नुपर्ने नियम रहेको छ।

यस अघिनै अन्य टिमहरुले बिदेशी खेलाडीहरु सार्वजनिक गरिसकेका छन् जसमा केभिन ओ ब्रायन, सिकन्दर राजा र रोहन मुस्तफा (काठमाडौं किंग्स एघार), रायन टेन डोस्काटे, मोहम्मद नाबिद र रबि इन्दर सिंह (भैरहवा ग्लाडीएटर्स) , सन्नी पटेल, जय किशन कोल्सावाला र गौरभ तोमर ( ललितपुर प्याट्रीएट्स ) , पल स्टरलिङ्ग, जर्ज स्कट र जन सिम्प्सन ( चितवन टाइगर्स ), रिचर्ड लेभी, कायल कोट्जर, पल कोग्लिन, सन्नी भिमसारिया ( पोखरा राइनोज ) रहेका छन्।

एभरेस्ट प्रिमियर लिगको डिफेन्डिंग च्याम्पियन समेत रहेको बिराटनगर वारियर्सले पछिल्लो संस्करण टिममा रहेका हंगकंग राष्ट्रिय क्रिकेटर बाबर हायातलाई टिममा पुनः आबद्ध गरेको छ भने अन्य ३ नयाँ नामहरु समाबेस गरेको छ। नेदरल्याण्ड क्रिकेट टिमका नियमित क्रिकेटर रोल्फ भान डर मर्वे र पल भान मिकिरिन तथा पोखरा प्रिमियर लिगमा पारस कप्तानीको टिम चितवन राइनोजबाट खेलेका भारत गुजरातका खेलाडी स्मित पटेललाई समेत टिममा आबद्ध गरेको छ।

नेदरल्याण्डका मिरकिरन र मर्वे 

पुर्व दक्षिण अफ्रिकी एकदिवसिय तथा बर्तमान नेदरल्याण्डका अलराउण्डर रोल्फ भान डर मर्वे र उनका नेदरल्याण्डकै सहपाठी पल भान मिकिरिनलाई पारस खड्काको कप्तानीमा रहेको बिराटनगर वारियर्सले अनुबन्ध गरेको छ।

३४ बर्षका रोल्फ भान् डर मर्वेसँग दक्षिण अफ्रिका र नेदरल्याण्डबाट गरेर १३ एकदिवसीय र २५ टि-२० अन्तर्राष्ट्रिय खेलको अनुभव रहेको छ। उनले ति खेलहरुमा १७ एकदिवसीय विकेट लिएका छन् भने टि-२० मा ३१ विकेट लिँदै २११ रन समेत बनाएका छन्।

दायाँ हाते ब्याटिंग र देब्रे हाते स्पिन बलिङ्ग गर्ने क्षमता भएका मर्वेले दक्षिण अफ्रिकाबाट केहि समय खेलिसकेपछि नेदरल्याण्डमा बसाइ सरेका हुन्। आइपिएलमा दिल्ली डेयरडेभिल्स र रोयल च्यालेञ्जर्स बैंगलोर, बिग ब्यासमा ब्रिस्बेन हिटबाट खेलिसकेका उनले इंग्ल्याण्डको घरेलु क्रिकेटमा समरसेटबाट खेल्ने गर्छन। अहिलेसम्म १८९ टि-२० खेलको अनुभव लिँदै मर्वेले १३२.०६ को स्ट्राइक रेटमा २१०९ रन तथा १७४ विकेट लिएका छन्।

यस्तै पाउल भान मिकिरिन नेदरल्याण्डबाटै खेल्ने दायाँ हाते तिब्र गतिका बलर हुन्। २६ बर्ष उमेर भएका मिकिरिनले ४ एकदिवसिय तथा २३ टि-२० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेकाछन् जो नेदरल्याण्डको उमेर समुहका उत्पादन हुन्।

उनले आफ्नो पछिल्लो एकदिवसिय खेल नेपाल बिरुद्द खेलेका थिए। नेपालले १ रनले जितेको दोश्रो एकदिवसिय खेलमा पनि उनले किफायती बलिङ्ग गर्दै ८ ओभरमा मात्र २१ रन खर्चिएका थिए भने १ विकेट समेत लिएका थिए। मिरकिरनसँग ३८ टि-२० खेलको अनुभव रहेको छ जसमा उनले सुरुवाती केहि ओभर र डेथ ओभरमा बलिङ्ग गर्दै ७.५२ को इकोनोमीमा २५ विकेट लिएका छन्।

बाबर हायात

अघिल्लो संस्करणमा प्रतियोगिताकै उत्कृस्ट खेलाडी बनेका हंगकंगका तत्कालिन कप्तान बाबर हायात यो संस्करणमा पनि खेल्ने भएका छन्। पारस खड्काको कप्तानीबाट खेल्दै आक्रामक ब्याटिंग शैलीको कारणले म्यान अफ द सिरिज तथा प्रतियोगिताको उपाधी समेत उचालेका थिए। बाबरले अघिल्लो सिजन ७ खेलमा ४४.७१ को औशतले प्रतियोगिताकै सर्वाधिक ३१३ रन बनाएका थिए। ३ अर्धशतक बनाएका उनको नाममा सर्वाधिक धेरै ८१ रन रहेको थियो।

यस्तै अघिल्लो संस्करण वारियर्सबाट खेलेका उनकै हंगकंग सहपाठी तथा वर्तमान कप्तान अन्शुमन राथ भने यो सिजनमा अनुपस्थित रहे। केहि दिन अघि हंगकंग क्रिकेट बोर्डले सार्वजनिक गरेको एसीसी इमार्जिंग टिम्स कप खेल्ने टिममा अन्शुमन घाइते भएको कारण टिममा नपरेको जनाएको थियो।

साथै पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग टि-२० क्रिकेटमा उत्कृस्ट प्रदर्शन गरेका स्मीत पटेल समेत चौथो खेलाडीको रुपमा बिराटनगरबाट खेल्दै छन्। भारतको गुजरात र वेस्ट जोनबाट घरेलु क्रिकेट खेल्ने उनले पिपिएलमा पनि पारस खड्काकै कप्तानीमा खेलेका थिए। पिपिएलको ७ खेलमा ११७ रन बनाउनुका साथै ७ विकेट समेत लिएका थिए।

उमेश पटवाल प्रशिक्षक नियुक्त 

पोखरा प्रिमियर लिगमा प्रतियोगिता निर्देशकको भूमिका निर्वाह गरेका नेपाली क्रिकेट टिमका पुर्व ब्याटिंग कन्सल्टेन्ट उमेश पटवाललाई टिमले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। भारत मुम्बईका पटवाल अफगानिस्तान क्रिकेट टिमको ब्याटिंग प्रशिक्षक रहीसकेका छन्।पटवालले सन् २०१४ को टि-२० विश्वकप र सोहि बर्ष एसिया कपमा अफगानिस्तानको ब्याटिंग प्रशिक्षकको भूमिका निभाएका थिए।

यस अघि लिगकै टिम पोखरा राइनोजले पनि बिदेशी प्रशिक्षकको रुपमा अष्ट्रेलियाका नेथन डोडलाई आबद्ध गरिसकेको छ। डोड अष्ट्रेलियाका लेभल ३ प्रशिक्षक रहेका छन्।

एभरेष्ट प्रिमियर लिग (इपिएल) मङ्सिर २२ गते देखि सुरु भइ फाइनल खेल पौष ७ गते ( डिसेम्बर ८ – डिसेम्बर २२ ) खेलिनेछ। कुल १५ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( मङ्सिर २७ गते र पौष ६ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्।

प्रतियोगितामा अघिल्लो संस्करण जस्तै शिर्ष दुईमा पर्ने टोलीले पहिलो क्वालिफायर खेल खेल्नेछन् र बिजेता टोलि सिधै फाइनल प्रवेश गर्नेछ। यस्तै पराजित टोलीले भने दोस्रो क्वालिफायरमा लिग चरणको तेस्रो र चौथो टोलि बिचको एलिमिनेटर खेलको बिजेतासंग फाइनल प्रवेशका लागि खेल्नेछ।

एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरि ६ टोलीको सहभागिता रहनेछ।

(Photo: ESPNcricinfo)





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]