बलियो सुरुवात र फिनिसिङको बलमा महेन्द्रनगर युनाइटेडले जोड्यो १६८ रन

२०७४ चैत्र १८, आईतवार १६:०८

विकेटनेपाल – १८ चैत्र, आइतवार | धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले बिराटनगर किंग्सलाई जितको लागि १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दिनको दोस्रो खेलमा टस जित्दै ब्याटिंगमा उत्रिएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको हो । उसको इनिंगमा भारतीय खेलाडी पुनित मेहेराले आक्रामक ब्याटिंग गर्दै ३८ रन जोडे । यस्तै कप्तान बिनोद भण्डारीले ३५ तथा अर्का भारतीय खेलाडी पुनित बिष्टले २४ रनको योगदान गरे ।

ओपनिंग ब्याटिंग गर्न उत्रिएका बिनोद भण्डारीले पहिलो विकेटका लागि आशिफ शेख (९) संग ५० रनको साझेदारी गर्दै महेन्द्रनगरलाई राम्रो सुरुवात दिएका थिए । बिनोद भण्डारीले प्रहार गरेको सिधा सट बलर सुभम कामतको हातमा लागेर नन् स्ट्राइकर तर्फको स्टम्पमा लाग्दा आशिफ रन आउट हुनपुगेका थिए । त्यसको अर्को बलमा नै बिनोद भण्डारी समेत व्यक्तिगत ३५ रनको स्कोरमा पभेलियन फर्कन पुगे । सुभम कामतको बलमा मन्जित श्रेष्ठको हातबाट समातिन अघि उनले २९ बलमा ५ चौका र १ छक्का प्राहर गरे । यस्तै इनिंगको अन्त्य तर्फ बिष्फोटक ब्याटिंगको प्रदर्शनी गरेका पुनित मेहेराले भने मात्र १८ बलमा २ चौका र ३ छक्का सहित अविजित ३८ रन जोडे । इनिंगको २० औं ओभरमा मेहेराले बसन्त रेग्मीलाई २४ रनको लागि प्रहार गरेका थिए ।

बिराटनगर किंग्सको बलिंग तर्फ मन्जित श्रेष्ठले २ तथा पारस खड्का र सुभम कामतले समान १-१ विकेट चट्काएका थिए । प्रतियोगिता अन्तर्गत आज सम्पन्न दिनको पाहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेंजर्सलाई ९ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy