बिएमसीएलाई प्रधानमन्त्री कप भक्तपुर छनोटको उपाधि

२०८१ फाल्गुन १०, शनिबार १६:५२

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको लागि भक्तपुर छनोट प्रतियोगिताको उपाधि भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन ( बिएमसीए ) ले जितेको छ।

शनिवार मुलपानी मैदानमा सम्पन्न फाइनलमा भक्तपुर क्रिकेट सेन्टरलाई ७ विकेटले पराजित गर्यो। ११६ रनको लक्ष्य बिएमसीएले मात्र २०. २ ओभरमा ३ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा बिएमसीएका गौरभ पौडेलले सर्वाधिक ४९ रन बनाए जुन क्रममा अविजित रहेका उनले ५३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। बिशाल देवकोटाले अविजित २६ रन बनाए। शौरभ साखाकर्मीले १७ रन बनाए। चौंथो विकेटको लागि गौरभ र बिशालले अविजित ७८ रनको साझेदारी गरेका थिए।

भक्तपुर क्रिकेट सेन्टरको बलिंगमा लोकेश पालले २ तथा त्रिशन चौलागाईले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको भक्तपुर क्रिकेट सेन्टरले ३५. २ ओभरमा ११५ रनमै सबै विकेट गुमाउन पुग्यो। उसका दिपेन श्रेष्ठले सर्वाधिक ३४ रन बनाए भने अभिषेक बस्नेतले १८ तथा समर्पण अधिकारीले १७ रन बनाए।

बिएमसीएको बलिंगमा सागर घिमिरेले ३ विकेट लिए। प्लेयर अफ द फाइनल घोषित घिमिरेले ६ ओभरमा ४ मेडन ओभर गर्दै ४ रन मात्र खर्चिए। सक्रिय प्रताप कार्कीले २ विकेट लिंदा धिरेन्द्र कुमार बस्नेत, मनिष श्रेष्ठ, शशांक दवाडी र सार्थक न्यौपानेले समान १ विकेट लिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी भक्तपुर क्रिकेट सेन्टरका बिनोद तामांग घोषित भए

प्रतियोगिताको उत्कृस्ट खेलाडी भक्तपुर क्रिकेट सेन्टरका बिनोद तामांग घोषित भए। यस्तै उत्कृस्ट बलर हिमालय स्पोर्ट्स म्यानेजमेन्टका सुमन हुमागाईं तथा उत्कृस्ट ब्याटर जनप्रेमी स्पोर्ट्स क्लबका आकाश कुमार शाह घोषित भए।

विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का तथा भक्तपुर क्रिकेट संघका अध्यक्ष डा.  मनिष राज पाण्डे लगायतले पुरस्कार वितरण गर्नु भएको थियो।

प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy