घरेलु भूमिमा बंगलादेशको इतिहासकै कमजोर प्रदर्शन

सिरिजमा २-० ले पछि परेको भ्रमण टोलि न्युजिल्यान्डले तेश्रो खेलमा बंगलादेशलाई ५२ रनले पराजित गर्दै पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज २-१ को स्थतिमा ल्याएको छ। शेरे बांग्ला स्टेडियम, ढाकामा सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १९.४ ओभरमा ७६ रनमै समेटिन पुग्यो।

७६ रन बंगलादेशको टि-२० अन्तर्राष्ट्रिय इतिहासकै दोश्रो सबैभन्दा कम योगफल हो भने घरेलु मैदानमा इतिहासकै सबैभन्दा कम योगफल हो। घरेलु मैदानमा बंगलादेशको यस अघि सबैभन्दा कम योगफल ८५ रन थियो जुन २०११ मा पाकिस्तानसंग शेरे बांग्ला मैदानमै थियो। यस अघि भारतमा आयोजित सन् २०१६ टि-ट्वान्टी विश्वकपमा न्युजिल्यान्डसंगनै बंगलादेश सबैभन्दा कम ७० रनमा अलआउट भएको थियो। बंगलादेशले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सबैभन्दा कम ४ योगफल न्युजिल्यान्डसंगनै रहेको छ। यसै वर्ष अप्रिलमा न्युजिल्यान्डले घरेलु मैदानमा बंगलादेशलाई ७६ रनमै अलआउट गरेको थियो भने २०१० मा पनि बंगलादेश न्युजिल्यान्डमा ८३ रनमा समेटिन पुगेको थियो। बंगलादेश १०० भन्दा कम योगफलमा हालसम्म ८ पटक अलआउट भएको इतिहास रहेको छ।


लक्ष्य पछ्याउने क्रममा बंगलादेशको लागि मुश्फिकुर रहिमले अविजित सर्वाधिक २० रन, लिटन दासले १५ तथा मोहम्मद नैम १३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। न्युजिल्यान्डका देब्रे हाते स्पिनर एजाज पटेलले सर्वाधिक ४ विकेट ( ४-०-१६-४ ) तथा अफस्पिनर कोल म्याककोन्चीले ३ विकेट ( ४-०-१५-३ ) लिए। रचिन रभीन्द्र, स्कट कग्लाइन र कोलिन डी ग्रयाण्डहोमले समान १ विकेट लिए

यस अघि टस जितेर ब्याटिंग गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट क्षेतीमा १२८ रन बनाएको थियो। उसको लागि हेनरी निकोलसले सर्वाधिक ३६ र टम ब्लनडेले ३० रन बनाए। विल योंग र रचिन रभीन्द्रले समान २० रन तथा फिन एलेनले १५ रन बनाए। ६२ रनमा ५ विकेट गुमाएको अवस्थामा निकोलस र ब्लन्डेलले अविजित ६६ रनको साझेदारी गरे। बंगलादेश बलर मोहम्मद सैफुद्दीनले २ तथा मेहदी हसन, मुस्तफिजुर रहमान र महमुदुल्लाहले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल बंगलादेशले ७ र ४ रनले जितेको थियो। सिरिजको बाँकी दुई खेल सेप्टेम्बर ८ र १० तारिखमा खेलिनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy