बंगलादेशको जितमा शाकिबको अलराउण्ड प्रदर्शन

२०७८ भाद्र १६, बुधबार २१:२८

शाकिब अल हसनले अलराउण्ड प्रदर्शन गर्दा भ्रमण टोलि न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै बंगलादेशले पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

ढाकाको  शेरे बांग्ला स्टेडियममा सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको ६१ रनको लक्ष्य बंगलादेशले मात्र ३ विकेट गुमाएर १५ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा शाकिब अल हसनले २५ रन, मुश्फिकुर रहिमले १६ तह महमुदुल्लाहले १४ रन बनाए। सुरुवाती ३ विकेट ३७ रनमा गुमाएपछि चौथो विकेटको लागि रहिम र महमुदुल्लाहले २५ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। न्युजिल्यान्ड बलर एजाज पटेल, कोल म्याककोंची र रचिन रभिन्द्रले समान १ विकेट लिए।

न्युजिल्यान्डको टि-२० अन्तर्राष्ट्रिय इतिहासकै कम योगफल

यस अघि टस जितेर ब्याटिंग रोजेको न्युजिल्यान्डले लज्जास्पद ब्याटिंग प्रदर्शन गरेको थियो। १६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएको न्युजिल्यान्डले ६० रन मात्र बनाउन सक्यो।

न्युजिल्यान्डले टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै आफ्नो संयुक्त रुपमा सबैभन्दा कम योगफल बनाएको हो। टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१४ मा न्युजिल्यान्ड श्रीलंकासंग ६० रनमै समेटिन पुगेको थियो। बंगलादेश बिरुद्ध न्युजिल्यान्डको यस अघि सबैभन्दा कम योगफल १४५ रन थियो। ६० रन बंगलादेश बिरुद्ध कुनै पनि देशले टि-२० अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम योगफल हो। गत महिना अस्ट्रेलिया ६२ रनमा सिमित हुँदै यो रेकर्ड बनाएको थियो जुन अब न्युजिल्यान्डको नाममा भएको छ। टि-२० अन्तर्राष्ट्रिय इतिहासमा बंगलादेश बिरुद्ध हालसम्म ४ वटा टोलिले मात्र सय भन्दा कम योगफल बनाएको छ। अस्ट्रेलिया २ पटक तथा युएई र न्युजिल्यान्ड १ पटक बंगलादेश बिरुद्ध एक सय भन्दा कम योगफलमा समेटिएको छ।

पहिलो ४ विकेट ९ रनको योगफलमै गुमाएपछि पाँचौ विकेटको लागि कप्तान टम लाथम र हेनरी निकोलस बीच ३४ रनको साझेदारी भयो। तर ११ औं ओभरमा १८ रन बनाएका लाथम आउट भएपछि पुनः न्युजिल्यान्डको विकेट जाने शिलशिला दोहोरियो। १३ औं ओभरमा निकोलस पनि १८ रन बनाएर आउट भए। फलस्वरुप ४३/४ को अवस्थाबाट थप १७ रन योगफलमा जोड्दा न्युजिल्यान्डले सम्पूर्ण विकेट गुमाउन पुग्यो। निलोलस र लाथम बाहेक अन्य न्युजिल्यान्ड ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बंगलादेशको बलिंगमा मुस्तफिजुर रहमानले सर्वाधिक ३ विकेट ( २.५-०-१३-३ ) लिए भने नसम एहमद ( २-०-५-२ ) , शाकिब अल हसन ( ४-०-१०-२ ) र मोहम्मद सैफुद्दीन ( २-०-७-२ ) ले समान २ विकेट लिए। मेहदी हसनले १ विकेट ( ४-०-१५-१ ) लिए।

सिरिज अन्तर्गत दोश्रो खेल सेप्टेम्बर ३ तारिख शुक्रबार खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy