१५ बलको अन्तरमा बोल्टले ६ विकेट लिंदा श्रीलंका निरिह

  • विकेटनेपाल, पुष १२ , बिहिबार 

न्युजिल्याण्डमा जारि श्रीलंका र न्युजिल्याण्ड बीचको दुई टेस्ट म्याचको सिरिज अन्तर्गत दोश्रो टेस्टमा ट्रेन्ट बोल्टले घातक बलिङ्ग गरेका छन्।

पहिलो टेस्ट बराबरीमा टुंगिएपछि निर्णायक टेस्टमा टस हारेर पहिले ब्याटिंग गरेको न्युजिल्याण्डले १७८ रनमा सबै विकेट गुमाएपछि ब्याटिंग गरेको श्रीलंकाले पहिलो इनिंगमा १०४ रनमै समेटिन पुगेको हो।

श्रीलंकालाई सस्तोमा समेट्न बोल्ट एक्लैले श्रीलंकन ब्याटिंग क्रमको अन्तिम ६ वटा विकेट लिए। ३६.५ ओभरमा श्रीलंकाको पाँचौ विकेट लिएका बोल्टले त्यसपछि लगातार स्पेल गर्दै ४० औं ओभरको अन्तिम बलमा दशौँ विकेट लिएका थिए।

२१ रन बनाएर ब्याटिंग गरेका रोशेन सिल्भाको विकेट लिएर सुरुवात गरेका बोल्टले त्यसपछि  ३८.१ ओभरमा निरोशन डिकवेला ( ४ ) को विकेट लिए। त्यसपछि ब्याटिंग गर्न आएका दिलरुवान परेरा, सुरंगा लकमल, दुस्मन्था चमिरा र लहिरु कुमारालाई खाता नखोल्दै बोल्टले पेभिलियनको दिशा देखाए। अन्तिमको ४ विकेट बोल्टले एलबिडब्लु मार्फत लिए।

१५ बलको अन्तरालमा बोल्टले ६ विकेट लिंदा श्रीलंकाले ४१ ओभरमा १०४ रनमा सबै विकेट गुमाउन पुग्यो। २९ बर्षिय बोल्टले १५ ओभरमा ८ मेडन ओभर गर्दै ३० रन खर्चेर ६ विकेट लिए।

यस अघि न्युजिल्याण्डले पहिलो इनिंगमा १७८ रन बनाएको थियो। न्युजिल्याण्डले दोश्रो इनिंगमा ब्याटिंग थालीसकेको छ र यो समाचार तयार पार्दा सम्म ५० ओभरमा १ विकेट गुमाएर १२६ रन बनाउदै २०० रनको अग्रता लिएको छ।

न्युजिल्याण्डको पहिलो इनिंगमा टिम साउथिले सर्वाधिक ६८ तथा बिजे वाटलिङ्गले ४६ रन बनाएका थिए भने श्रीलंकन पेसर सुरंगा लकमलले ५ विकेट ( १९-५-५४-५ ) विकेट लिएका थिए। श्रीलंकाको पहिलो इनिंगमा एन्जेलो म्याथुजले सर्वाधिक ३३ रन बनाए भने न्युजिल्याण्ड बलर बोल्टले ६ ( १५-८-३०-६ ) र टिम साउथिले ३ विकेट ( १५-५-३५-३ ) लिए।

( फोटो –  आईसीसी )

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy