बोपाराको अर्धशतकमा लुम्बिनीले पायो १ सय ४३ रनको लक्ष्य

२०८२ मंसिर ५, बिहीबार १७:३०

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले लुम्बिनी लायन्सलाई जितका लागि १ सय ४३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको पाँचौ खेलमा लुम्बिनीले टस जितेर बलिङ रोजे पछि चितवनले पहिले ब्याटिङ गरेको थियो । चितवनले निर्धारित २० ओभरमा ७ विकेट १ सय ४२ रनको योगफल तयार गरेको हो ।

चितवनका लागि रवि बोपाराले ५५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले । प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धशतक हो । पहिलो खेलमा बोपाराले कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । एनपिएलको इतिहासमा भने बोपाराको यो पाँचौ अर्धशतक हो ।

चितवनका कप्तान कुशल मल्लले १८ बलमा १ छक्काको सहयोगमा २१ रन बनाउँदै आउट भए । पहिलो खेलमा कर्णालीविरुद्ध पनि खास सुरुवात दिन नसकेका डाविड मिलान यस खेलमा सामना गरेको पहिलो बलमा नै आउट भए । अर्का ओपनर दिपक बोहोरा १० तथा देव खनाल १४ रनमा आउट भए ।

देव खनाल १४ रनमा पेभिलियन फर्कदा सैफ जेबले ७ बलमा १५ रन जोडे । यस संस्करणको पहिलो खेल खेल्दै गरेको लुम्बिनीका लागि रुबेन ट्रम्पनम्यानले ३ तथा अभिषेश गौतम र गुलबदिन नैबले समान २ विकेट लिए ।

पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको चितवन जितको लयलाई निरन्तरता दिने लक्ष्यमा छ । भने, सिजनको पहिलो खेल खेल्दै गरेको लुम्बिनी सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy