कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

२०८१ आश्विन ३०, बुधबार २२:२०

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

यही कार्तिक ३ गतेदेखि १० गतेसम्म रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा दक्षिण एसियाली चार वटा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित ५ देशका खेलाडीहरूको सहभागितामा बिपी कोइराला स्मृति कप टि २० क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको नेक्सेस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले बताउनुभयो ।

शाहीका अनुसार १ करोड २० लाख खर्च हुने छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र सिद्धार्थनगर नगरपालिकाको सहकार्य, मौर्य होटेलको आतिथ्यतामा क्रिकेट प्रतियोगिता हुने छ ।

विजयी टिमलाई प्रथम पुरस्कार ५ लाख, दोस्रोलाई ३ लाख, म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, म्यान अफ द म्याचलाई ५ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले बताउनुभयो ।

स्पोर्टस टुरिजमलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बिपी कोइराला स्मृति कप टि २० क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

भैरहवामा भएको पत्रकार सम्मेलन कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खान, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ, नेपाली कांग्रेस रुपन्देही जिल्लाका सह सचिव बिष्णु थापा, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

( साभार – रेडियो नेपाल )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy