आईपीएल अघि सन्दिप बारे ब्र्याड हजको ठुलो भनाई

  • विकेटनेपाल-७ चैत्र, बिहिबार

पूर्व अष्ट्रेलियन क्रिकेटर तथा वर्तमान क्रिकेट विश्लेषक ब्र्याड हजले नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछाने दिल्ली क्यापिटल्सको एक्स-फ्याक्टर खेलाडी रहेको बताएका छन्।

आईपीएल मार्च २३ तारिक शनिवार देखि सुरु हुँदैछ जसमा सन्दिपको टिम दिल्ली क्यापिटल्सले मार्च २४ तारिकमा मुम्बई इन्डीएन्स बिरुद्ध पहिलो खेल खेल्दैछ। प्रतियोगिताको उद्घाटन खेलमा गत सिजनको विजेता धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ।

प्रख्यात क्रिकेट साइट, इएसपिएन क्रिकिन्फोसंगको एक कार्यक्रमका दौरान हजले सन्दिपको तारिफ गर्दै यस सिजन दिल्लीका लागि सन्दिपले राम्रो नतिजा निकाल्न महत्वपूर्ण योगदान दिन सक्ने समेत बताए। दिल्ली क्यापिटल्स टोलीको विश्लेषणका क्रममा हजले सन्दिपलाई आफ्नो दिल्ली क्यापिटल्सको सुरुवाती-११ मा समेत स्थान दिए।

अस्ट्रेलियाको लागि ६ टेस्ट, २५ एक दिवसीय र १५ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका हजसंग आइपिएल क्रिकेटको समेत प्रसस्त अनुभव रहेको छ। कोलकत्ता नाइट राइडर्सका लागि खेलाडीका रुपमा आइपिएल खेलेका ब्र्याडले प्रशिक्षकको रुपमा गुजरात लायन्स र किंग्स ११ पन्जाबसंग लामो समय बिताएका छन्।

Brad Hodge
Brad Hodge

अन्तिम सिजनमा खेलेका ३ खेल र भर्खरै सम्पन्न बिग ब्यास लिगमा गरेको प्रदर्शनको तारिफ गर्दै हजले सन्दिप क्षमतावान रहेको धारणा राखेका थिए। उनले बताए-

“मैले दिल्लीको एक्स-फ्याक्टर खेलाडीको रुपमा सन्दिप लामिछानेलाई लिएको छु।”

“एक स्पिनरका रुपमा सन्दिपसंग टर्न् र बाउन्स राम्रो रहेको छ। उनको गुग्ली समेत सटिक छ। मैले उनलाई अष्ट्रेलियामा बिग ब्यासका दौरान बलिंग गरेको हेर्ने मौका पाएको थिए।”

दिल्लीको टोलीमा सन्दिपको भूमिका ठूलो रहने समेत उनले बताए-

“मलाई लाग्छ दिल्लीमा उनको ठूलो भूमिका रहने छ। सनराइजर्स हैदरावादमा राशिद खानले जस्तै भूमिका दिल्लीमा सन्दिपले खेल्नेछन्। म उनीबाट ठूलो आशा राख्दैछु।”

सोहि कार्यक्रममा ब्र्याड हजसंगै पूर्व भारतीय खेलाडी अजित अग्रखरले समेत सन्दिपको तारिफ गरेका थिए। अजित र ब्र्याड दुबैले सन्दिपलाई आफुले छनोट गरेको दिल्लीको पहिलो ११ मा समेत मौका दिए।

सन्दिपको टि-२० करियरमा कोशेढुंगा साबित भएको आइपिएलको अघिल्लो सिजन यता सन्दिपले विश्वभरका टि-२० लिगको स्वाद चाखिसकेका छन्। पछिल्लो बर्षको आइपिएल पछी संचालन भएका टि-२० लिगहरुमा दक्षिण अफ्रिकाको घरेलु टि-२० लिग र भाइटालिटि टि-२० ब्लास्ट ( इंग्ल्याण्ड ) बाहेक अन्य सबै प्रतियोगितामा सन्दिप सहभागी हुँदै आएका छन्।

क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग, अफगानिस्तान प्रिमियर लिग, बिग ब्यास, टि-१० लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायतका चर्चित टि-२० र टि-१० लिगहरुमा सन्दिपको प्रदर्शन समेत सन्तोषजनक रहँदै आएको छ। ३६ टि-२० खेलको अनुभव बटुलीसकेका सन्दिपले ६.८० को उत्कृस्ट इकोनोमीमा ४५ विकेट हात पारिसकेका छन्।

आफु सहभागी बनेका हरेक टि-२० लिगहरुको सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा सन्दिप अटाउँदै आएका छन्। आइपिएल यता सन्दिपले क्यारेबियन प्रिमियर लिगमा ७ विकेट ( ५ खेल मात्र ), ग्लोबल टि-२० लिगमा ८ विकेट ( ५ खेल ), अफगानिस्तान प्रिमियर लिगमा २ विकेट ( १ खेल मात्र ), बिग ब्यास लिगमा ११ विकेट ( ८ खेल मात्र ), बंगलादेश सुपर लिगमा ४ विकेट ( ६ खेल ), पाकिस्तान सुपर लिगमा ११ विकेट ( ७ खेल मात्र ) र टि-१० लिगमा ६ विकेट ( ६ खेल ) हात पारेका छन्।

यी सबै अनुभवको बलमा यस सिजन दिल्लीले सन्दिपलाई धेरै खेलमा मौका दिने अपेक्षा गरिएको छ। यद्यपी टोलीमा अमित मिश्रा, राहुल तेवाटिया र अक्षर पटेल जस्ता अनुभवी भारतीय स्पिनर रहेकाले सन्दिपले अन्तिम ११ मा स्थान बनाउन सजिलो भने रहनेछैन।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy