- विकेटनेपाल, पुष -८ , आइतबार
एभरेस्ट प्रिमियर लिग टि-२० विजेता ललितपुर प्याट्रीएट्सलाई बिश्व प्रसिद्ध वेस्ट इन्डिज क्रिकेटर ड्वेन ब्राभोले बधाई दिएका छन्।
ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुरले पहिलो पटक ईपिएल उपाधि जित्ने क्रममा शनिवार सम्पन्न फाइनलमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गरेको थियो। फाइनलमा पहिले ब्याटिंग गर्दै ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन मात्रै बनाउन सकेको थियो।
जित पछि प्याट्रीएट्सलाई भिडियो मार्फत ब्राभोले बधाई दिएका हुन्। ब्राभोले आफुले गाएको चर्चित गित ‘च्याम्पियन’ गाउदै बधाई दिएको उक्त भिडियो ललितपुर प्याट्रीएट्सका टिम मालिक किशोर महर्जनले आफ्नो फेसबुकमा राखेका छन्।
“ललितपुर, यो हो च्याम्पियन डिजे ब्राभो म ललितपुर प्याट्रीएट्सलाई बधाई दिन चाहन्छु।” भन्दै ब्राभोले आफ्नो गित च्यापियनमा ललितपुरलाई जोड्दै “एभ्री बडी नोज इट ललितपुर च्याम्पियन” भन्दै गित गएका छन्। यस्तै भिडियोको अन्तिममा उनले “सन्दिप इज ए च्याम्पियन समेत भनेर अन्त्य गरेका छन्।
ब्राभो र सन्दिप बिग ब्यास लिगमा एकै टिम मेलबर्न स्टार्समा रहेका छन्। दुवै बिदेशी खेलाडीको रुपमा टिममा रहंदा सन्दिपले ईपिएलमा आफ्नो टिम ललितपुरको लागि बधाई दिन लगाएका हुन्।
https://www.youtube.com/watch?v=n4yg-eOzfPc
ईपिएलमा सन्दिपले पहिलो २ खेल खेल्दै बिग ब्यास खेल्न अस्ट्रेलिया प्रस्थान गरेका थिए। ललितपुरले खेलेको २ खेलमा सन्दिपले राम्रो प्रदर्शन गर्दै २ खेलमा ५ विकेट लिएका थिए। त्यस क्रममा सन्दिपले बिराटनगर वारियर्ससंग २ तथा चितवन टाइगर्ससंग ३ विकेट लिएका थिए।
बिग ब्यास लिगको पहिलो खेलमा सन्दिपले २ विकेट लिंदा ब्राभोले १ विकेट लिंदै ११ रन बनाएका थिए।
को हुन् ब्राभो ?
उमेरले ३५ पुगेका ब्राभो आफ्नो अलराउण्ड खेलसंगै चर्चित गित “च्याम्पियन” को कारण समेत प्रसिद्ध छन्। दायाँ हाते ब्याट्सम्यान र फास्ट बलर ब्राभो आक्रामक ब्याटिंग र डेथ ओभर बलिङ्गको कारण परिचित छन्।
वेस्ट इन्डिजको लागि ४० टेस्ट, १६४ एकदिवसीय र ६६ टि-२० खेलेका ब्राभोले सन् २००४ मा पहिलो पटक इंग्ल्याण्ड बिरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। सन् २०१५ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका ब्राभोले २०१८ अक्टोबरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। फ़्रेञ्चाइज क्रिकेट प्रतियोगिताहरुमा भने ब्राभो निरन्तर खेलीरहेका छन्।
इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स र गुजरात लायन्सको प्रतिनिधित्व गरिसकेका ब्राभोले आफ्नो प्रदर्शनले भारतमा थुप्रै फ्यान पाएका छन्। उनले आईपीएलको पहिलो ३ सिजन मुम्बईको लागि खेले। सन् २०१२ आईपएलमा चेन्नाईको लागि खेल्दै ४६१ रन बनाउनुको साथै १९ विकेट लिएका उनले २०१३ मा पनि उही टिमबाट ३२ विकेट लिंदै पर्पल क्याप जितेका थिए। यस्तै २०१५ आईपीएलमा उनले चेन्नाईको लागि २६ विकेट लिएका थिए र दोश्रो पटक पर्पल क्याप जितेका थिए। पर्पल क्याप २ पटक जित्ने उनि मात्र दोश्रो खेलाडी हुन्।
आईपीएलमा चेन्नाई टिम प्रतिबन्धमा परेपछि गुजरात लायन्सबाट खेलेका उनलाई २०१८ मा पुनः चेन्नाईले टिममा फिर्ता बोलौं ६.४ करोड भारतीय रुपैयाँ खर्चिएको थियो।
