धमला र ऐरी चम्किदा, फाइनल पुग्न बिराटनगरद्वारा बुटवललाई १६६ रनको लक्ष्य

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत इलिमीनेटर खेलमा बिराटनगर टाईटन्स र बुटवल ब्लास्टर्स प्रतिस्पर्धा गरिरहेका छन्। इलिमीनेटर जित्ने टिमले शनिवार चितवन राइनोजसंग फाइनल खेल्नेछ।

बुटवल लिग चरणको अंकतालिकामा दोश्रो तथा बिराटनगर तेश्रो स्थानमा रहँदै इलिमीनेटरको लागि छनौट भएको थियो। चितवन भने लिगमा पांच वटै खेलमा अपराजित हुँदै सोझै फाइनल प्रवेश गरेको थियो।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारि खेलमा टस हारेर पहिले ब्याटिंग गरेको बिराटनगर टाईटन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रनको योगफल तयार गरेको छ।

बिराटनगरको लागि ओपनर सुनिल धमलाले सर्वाधिक ६१ रन बनाए। प्रतियोगितामा पहिलो अर्धशतक बनाउने क्रममा धमलाले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान प्रदिप ऐरीले आक्रामक ब्याटिंग गर्दै अविजित ३३ रन बनाए जुन क्रममा ४ छक्का र १ चौका प्रहार गरे। मोहम्मद जैद आलमले २० रन, लोकेश बम र पुनित मेहराले समान १९ रन बनाए।

धमलाले पहिलो विकेटको लागि जैद आलमसंग ३९ रनको दोश्रो विकेटको लागि लोकेश बमसंग २८ रनको तथा तेश्रो विकेटको लागि पुनित मेहरासंग ५७ रनको साझेदारी गरेका थिए।

इनिंगको अन्तिममा पाँचौ नम्बरमा ब्याटिंग गरेका ऐरीले आक्रामक ब्याटिंग गरे।  यस क्रममा अविनाश बोहराले गरेको अन्तिम ओभरमा उनले २ छक्का र १ चौका प्रहार गरे। बोहराले गरेको १८ औं ओभरमा ऐरीले एउटा छक्का तथा १९ औं ओभरमा ललित भण्डारीलाई एक छक्का उनले प्रहार गरे।

बुटवल ब्लास्टर्सको ब्लैंगमा हर्ष टोन्कले सर्वाधिक २ तथा ललित भण्डारी र अविनाश बोहराले १/१ विकेट लिए। सोमपाल कामि विकेट विहिन रहंदा ३ ओभरमा २२ रन खर्चिए। यस्तै ललितले ४ ओभरमा ३७ तथा अविनाशले ४ ओभरमा ३९ रन खर्चिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy