पोखरा प्रिमियर लिग अन्तर्गत पाँचौं दिनको दोस्रो खेलमा बिराटनगर टाइटन्सले बुटवल ब्लासटर्सलाई १२ रनले पराजित गरेको छ। प्रतियोगितामा बिराटनगरको यो पहिलो जित समेत हो।
रोमाञ्चक बनेको खेलको अन्तिम ओभरमा १३ रन आवश्यक रहंदा बिराटनगर टाईटन्सका किशोर महतोले सिद्धान्त लोहनीको विकेट लिंदै मेडन ओभर बलिङ्ग गरेपछि खेल बिराटनगरले आफ्नो पक्षमा पार्यो।

यस्तो थियो रोमाञ्चक अन्तिम ओभर :
बिराटनगरले दिएको १४१ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रिएको बुटवललाई अन्तिम ओभरमा १३ रनको आवश्यकता रहेको थियो। क्रिजमा बुटवलका लागि संसाद शेख र सिद्धान्त लोहनी रहेका थिए।
अन्तिम ओभर बलिङ्ग गर्ने जिम्मा लिएर आएका किशोर महतोको पहिलो बलमा संसादले रन निकाल्न सकेनन्। ओभरको दोस्रो बलमा सिद्धान्त लोहनी बाई स्वरुप रन लिने चक्करमा रन आउट हुन पुगे। सिद्धान्तको स्थानमा ब्याटिंग गर्न आएका बिपिन खत्रीले त्यसपछिका ४ बलमा रन जोड्न नसक्दा बुटवल पराजित हुन पुग्यो।

त्यसअघि बिराटनगरले दिएको १४१ रनको लक्ष्य पछ्याउन उत्रिएको बुटवलका लागि भिम शार्कीले ५० तथा सागर पुनले २९ रनको योगदान गरेका थिए। प्रतियोगिताको दोस्रो अर्धशतक बनाउने क्रममा भिमले ४२ बलमा ४ चौका र १ छक्का सहित ५० रन जोडे।
यस्तै सागर पुनले ३३ बलमा २९ रन तथा शंकर रानाले १६ बलमा २३ रनको योगदान गरेका थिए।

बिराटनगरको बलिङ्गमा किशोर महतोले सानदार प्रदर्शन गर्दै २ विकेट लिए। आफ्नो ४ ओभरको स्पेलमा किशोरले १ मेडन सहित मात्र १२ रन खर्चिएर चिराग सुरी र रोहन मुस्तफाको विकेट हात पारे।
यस्तै सन्दिप लामिछानेको नाममा समेत २ विकेट रहंदा शाहब आलम र सुनिल धमलाले समान १-१ विकेट हात पारे।
पहिलो इनिंगको समाप्तिमा टस जितेर ब्याटिंग गरेको बिराटनगर टाईटन्सले ७ विकेट गुमाएर १४० रनको योगफल तयार गरेको थियो। टाईटन्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद जैद आलमले सर्वाधिक ७२ तथा प्रदिप ऐरीले ४१ रनको योगदान गरेका थिए।

दोस्रो ओभरको दोस्रो बलमानै ललित भण्डारीले सुनिल धमलालाई पभेलियनको बाटो देखाएपछि बिराटनगरको सुरुवात राम्रो हुन सकेको थिएन। मात्र ३६ रन जोड्न दुई विकेट गुमाएको बिराटनगरको इनिंगलाई जैद आलम र प्रदिप ऐरीको साझेदारीले उकासेको थियो।
जैद र प्रदिपले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गर्दै बिराटनगरको इनिंगलाई उकासेका थिए। जैदले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दा ७२ रन जोडे। यस्तै प्रदिपले भने ४३ बलमा ३ चौका सहित ४१ रन जोडेका थिए।
जैद र प्रदिप बाहेक अन्य ब्याट्समेनहरुले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।
बुटवलको बलिङ्गतर्फ ललित भण्डारीले सर्वाधिक २ विकेट (२.३ -०-१६-२) हात पारे। यस्तै बिपिन खत्री, संसाद शेख र सागर पुनको नाममा समान १-१ विकेट रह्यो।


