पोखरामा जारि पोखरा प्रिमियर लिग प्रिमियर लिगमा सन्दिप लामिछानेको टोलि बिराटनगर टाईटन्स आफ्नो दोस्रो खेलमा पराजित भएको छ। प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा बिराटनगरले धनगढीसंग ७८ रनको हार बेहोर्यो।
प्रतियोगिता अन्तर्गत बिराटनगरको लगातार यो दोस्रो हार समेत हो। यसअघि पहिलो दिनको उद्घाटन खेलमा पोखरा पल्टन बिराटनगर टाईटन्सलाई ५८ रनले पराजित गरेको थियो।
आइतबार दिनको पहिलो खेलमा पहिले ब्याटिंग गर्दै धनगढीले दिएको १८३ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको बिराटनगर १६.४ ओभरमा मात्र १०४ रनमा समेटिन पुग्यो।
बिराटनगरको चेजमा सुनिल धमलाले सर्वाधिक २१ रन जोडेपनि त्यो जितका लागि पर्याप्त रहन सकेन। यस्तै मुहम्मैद जैद आलमले १९, एन्टोन एन्ड्रयुले १८ र सन्दिप लामिछाने १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
धनगढीको बलिंगतर्फ डेनियल लरेन्सले सर्वाधिक ३ विकेट (४-०-१७-३) हात पारे। यस्तै दिपेन्द्र ऐरीको नाममा २ विकेट रह्यो।
खेलको म्यान अफ द म्याच पिटर ट्रेगो घोषित भए।

यसअघि पहिलो इनिंगको समाप्तिमा धनगढीले पुरै २० ओभर ब्याटिंग गर्दै १० विकेट गुमाएर १८२ रनको योगफल तयार गरेको थियो। धनगढीको इनिंगमा बिदेशी खेलाडी पिटर डेभिड ट्रेगोले सर्वाधिक ५३ रनको योगदान गरेका थिए।
मात्र ३८ रन जोड्न पहिलो तिन विकेट गुमाएको धनगढीको इनिंगलाई उकास्न ट्रेगोले कप्तान दिपेन्द्र सिंह ऐरीसंग ६० रनको साझेदारी गरेका थिए। दिपेन्द्र व्यक्तिगत २९ रनमा मुहम्मद जैद आलमको शिकार बने। त्यसक्रममा उनको ब्याटबाट १९ बलमा ४ चौका र १ छक्का निस्कियो।
दिपेन्द्रको विकेट पश्चात धनगढीका सुन्दिप जोरा, मन्जित श्रेष्ठ, रोबिन क्षेत्रि समेत पभेलियन फर्किंदा टोलि समस्यामा देखिएको थियो। अठारौँ ओभरको पहिलो बलमा पिटर ट्रेगो समेत व्यक्तिगत ५३ रनमा आउट भएका थिए। त्यसक्रममा उनले ३८ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए।
ट्रेगोको विकेटपछि फिनिसिङको कमि देखिने अवस्थामा परेको धनगढीका लागि सौरभ खनालले बिष्फोटक ब्याटिंग गर्दै ४१ रन जोडेका थिए। मात्र १३ बलमा सौरभले २ चौका र ५ छक्का प्रहार गरेका थिए। सौरभको इनिंगले टोलीको स्कोरसमेत १८२ रनसम्म पुग्न सफल भएको थियो।

बिराटनगर टाईटन्सको बलिंगतर्फ जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट हात पारेका थिए। महँगो साबित बनेका उनले ४ ओभरमा ४९ रन खर्चिएका थिए।
यस्तै किशोर महतो, सुनिल धमला, सन्दिप लामिछाने र मोहमम्द जैद आलमको नाममा समान १-१ विकेट रह्यो।
