- विकेटनेपाल – १६ कार्तिक, शुक्रवार (पोखरा)
पोखरा प्रिमियर लिग अन्तर्गत ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाण्डौ रोयल्सले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। जितसंगै काठमाण्डौ ६ अंकका साथ तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।
प्रतियोगिता अन्तर्गत शुक्रवार पोखरा रंगशालाको क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाण्डौले बुटवल ब्लासटर्सलाई ३७ रनले पराजित गर्यो। काठमाण्डौको जितमा म्यान अफ द म्याच समेत घोषित नरेश बुढाएरले उत्कृस्ट ब्याटिंग गर्दै ५८ रन जोडे। यस्तै बलिङ्गतर्फ रोयल्सका अमर रौटेलाले सर्वाधिक ३ विकेट लिए।
पहिले ब्याटिंग गर्दै काठमाण्डौले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो। बुटवलका लागि ओपनर रोहन मुस्तफाले सर्वाधिक ६१ रन जोडेपनि जित दिलाउन सकेनन्।
ओपनिङ्ग गर्न उत्रिएका मुस्तफाले ५१ बलमा ५ चौका र ४ छक्का सहित ६१ रन जोडे। त्यसक्रममा उनले चिराग सुरीसंग दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्दै बुटवलको इनिंगलाई जिततर्फ लैजाने प्रयास गरेका थिए। चिराग १४ बलमा व्यक्तिगत ११ रन बनाएर बसन्त रेग्मीको शिकार बने।

काठमाण्डौलाई जिताउन बलिङ्गतर्फ अमर सिंह रौटेलाले सर्वाधिक ३ विकेट हात पारे। यस्तै बसन्त रेग्मी र नन्दन यादवको नाममा समान २-२ विकेट रह्यो।
यसअघि पहिलो इनिंगमा टस जितेर ब्याटिंग रोजेको काठमाण्डौले पहिलो इनिंगको समाप्तिमा ४ विकेट गुमाएर १७२ रन जोडेको थियो। काठमाण्डौका लागि नरेश बुढाएरले सर्वाधिक अविजित ५८ रन जोडेका थिए।
लामो समय पश्चात उत्कृस्ट इनिंग खेलेका नरेशले मात्र २८ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए। पाँचौ विकेटका लागि नरेशले कप्तान ज्ञानेन्द्र मल्लसंग अविजित ६७ रनको साझेदारी गर्दै टिमको स्कोरलाई १७२ रनसम्म पुर्याएका थिए।
ज्ञानेन्द्र व्यक्तिगत २५ रनमा अविजित रहे। १३ बलको सामना गरेका मल्लले २ चौका र १ छक्का प्रहार गरे।
यसअघि काठमाण्डौका जयकिशन कोल्सावाला ४५, अमित श्रेष्ठ ४, पवन सर्राफ २२ र गौरभ तोमर ११ रब बनाएर पभेलियन फर्किएका थिए।
बुटवलको बलिङ्गतर्फ बिपिन खत्रीले सर्वाधिक २ विकेट लिए। आफ्नो ४ ओभरको स्पेलमा बिपिनले २९ रन खर्चिएर कोल्सावाला र अमित श्रेष्ठको विकेट लिए। यस्तै रोहन मुस्तफा र संसाद शेखको नाममा समान १-१ विकेट रह्यो।

प्रतियोगिता अन्तर्गत ४ खेलमा ३ जित सहित ६ अङ्क रहेको काठमाण्डौ अङ्कतालिकाको शिर्ष स्थानमा रहेको छ भने ५ खेलबाट समान ६ अङ्क नै रहेको धनगढी कमजोर रनरेटको आधारमा दोश्रो स्थानमा रहेको छ।
त्यस्तै समान ४ खेलमा ४/ अङ्क रहेका पोखरा र चितवन क्रमश: तेस्रो र चौथो स्थानमा रहेका छन् भने ५ खेलमा समान ४ अङ्क नै रहेको बुटवल आजको हारपछि शिर्ष स्थानबाट पाचौं स्थानमा झरेको छ। बिराटनगर भने ४ खेलमा १ जितासहित अङ्कतालिकाको पुछारमा रहेको छ।


