नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको मंगलबार बसेको बैठकले सो कार्यविधि पारित गरेको हो । क्यानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहेका थिए ।
दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो । कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ ।
राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा प्रति खेल रु १० हजार रुपैयाँ भत्ता पाउने छन् । यस्तै टि-२० अन्तर्राष्ट्रियमा भने प्रति खेल पुरुष खेलाडीले प्रति खेल ५ हजार रुपैयाँ पाउनेछन्।
यस्तै राष्ट्रिय महिला खेलाडीले एक दिवसीय प्रतियोगिता खेल्दा प्रति खेल रु. ५ हजार र टि-ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रति खेल रु ३ हजार पाउनेछन् ।
गत वर्षनै क्यानले म्याच वापत एकदिवसीय अन्तर्राष्ट्रिय र टि-२० अन्तर्राष्ट्रिय खेल्दा प्रति खेल ५ हजार दिने निर्णय गरेको थियो।

यस्तै राष्ट्रिय क्रिकेट टिमको खेलाडीले बन्द प्रशिक्षणमा बस्दा दैनिक रु पाँच सय भत्ता पाउने समेत कार्यविधिमा व्यवस्था गरिएको छ ।
यस्तै राष्ट्रिय प्रतियोगिता खेल्दा पोषण र यातायात भत्ताको रुपमा पुरुष खेलाडीहरुले एकदिवसीयमा २ हजार ५ सय रुपैयाँ तथा टि-२० मा २ हजार रुपैयाँ दैनिक भत्ता पाउनेछन्। महिला खेलाडीले भने एकदिवसीयमा २ हजार रुपयाँ तथा टि-२० मा १ हजार ५ सय रुपैयाँ भत्ता पाउनेछन्।
क्यानले विभिन्न राष्ट्रहरुमा सञ्चालन हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागी हुन जाने नेपालको राष्ट्रिय टिम तथा विभिन्न उमेर समूहको महिला, पुरुष टिमको लागि सहभागी खेलाडी, अफिसियल, प्रशिक्षक, चिकित्सक, पत्रकारहरुलाई खेल शुरुहुने २ दिन अगाडि र खेल समाप्त भएको १ दिन पछिसम्मको लागि दैनिक अमेरिकी डलर ५० प्रदान गर्नेछ।
राष्ट्रिय पुरुष टिम
बन्द प्रशिक्षण भत्ता : रु. ५ सय प्रति दिन ( पुरुष/महिला )
एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा : रु. १० हजार ( प्रति खेल )
टि-२० अन्तर्राष्ट्रिय खेल्दा : रु. ५ हजार ( प्रति खेल )
बन्द प्रशिक्षण भत्ता : रु. ५ सय ( प्रति दिन )
राष्ट्रिय महिला टिम
एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा : रु. ५ हजार ( प्रति खेल )
टि-२० अन्तर्राष्ट्रिय खेल्दा : रु. ३ हजार ( प्रति खेल )
राष्ट्रीय प्रतियोगितामा ( पोषण र यातायात ) भत्ता
पुरुषतर्फ : एकदिवसीयमा – दैनिक रु. २,५००, टि२० मा – दैनिक रु. २,०००
महिलातर्फ : एकदिवसीयमा – दैनिक रु. २,०००, टि२० मा – दैनिक रु. १,५००
उमेर समुह : दैनिक रु. १,०००
दैनिक भत्ता : रु. ५०० ( पुरुष/महिला )
अम्पायर भत्ता ( राष्ट्रिय प्रतियोगिता ) : दुई दिवसीय : प्रति खेल रु. ५,०००० , एकदिवसीय : प्रति खेल रु. ३,५००, टि-२० : प्रति खेल रु. २,५००
अम्पायर भत्ता ( प्रदेश स्तरीय प्रतियोगिता ) : दुई दिवसीय : प्रति खेल रु. ३,०००, एकदिवसीय : प्रति खेल रु. २,००० , टि-२० : प्रति खेल रु. १,५००
कप्तान रुबिना क्षेत्रीद्वारा स्वागत
नेपाल क्रिकेट संघको नयाँ आर्थिक कार्यविधिको महिला राष्ट्रिय क्रिकेट टिम कप्तान रुबिना क्षेत्रीले स्वागत गरेकी छिन्। रुबिनाले आफ्नो फेसबुकमार्फत क्यानलाई धन्यवाद समेत दिएकी छिन्।
“हार्दिक आभार नेपाल क्रिकेट संघ। नेपाली महिला क्रिकेट साथसाथै समग्र नेपाली क्रिकेट लाई टेवा पुर्याउने हेतुले खेलाडीहरुको सुविधा , भत्ताहरुलाई मध्य नजर गरी नेपाल क्रिकेट संघ क्यानले आर्थिक कार्यविधि र नियमावली २०७७ मंगलबार पारित गरेको यस खबरले म साथसाथै समग्र महिला क्रिकेट प्रेमी ,खेलाडी र सम्पूर्ण नेपाली क्रिकेट प्रेमी हर्षित भएका छौं। यसका लागि नेपाल क्रिकेट संघ परिवारलाई म नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कप्तान साथसाथै महिला राष्ट्रिय क्रिकेट टिमको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
आउने दिनमा थप यस्ता कार्यविधि बनोस् जसले गर्दा नेपाली महिला क्रिकेट साथसाथै समग्र नेपाली क्रिकेटको विकास होस् ।” रुबिनाले लेखेकी छिन्।
