बन्द प्रशिक्षणमा पुगेनन् क्यानको कारवाहीमा परेका लगायत खेलाडीहरु

२०७८ पुष १७, शनिबार २३:०२

ओमानमा फेब्रुअरी १५ तारिख देखि सुरु हुने टि-२० विश्वकप ग्लोबल छनोटको तयारी स्वरूप आइतबार देखि काठमाडौँमा नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु हुँदैछ। बन्द प्रशिक्षणको पहिलो दिन टिम होटलमा खेलाडीहरुको ओरिएन्टेसन हुनेछ भने सोमबार देखि टिम मैदानमा पुगेर अभ्यास थाल्नेछ।

बन्द प्रशिक्षणको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले पहिलो चरणमा ३० सदस्यीय टिमको घोषणा गरेको थियो जसलाई आइतबार टिम होटलमा रिपोर्टिंग गर्न बताईएको थियो। प्राप्त जानकारी अनुसार क्यानको कारवाहीमा परेका ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, सोमपाल कामि र कमल सिंह ऐरी सहित करिब १८ जना खेलाडी हालसम्म टिम होटल पुगेका छैनन् जो मध्ये ६ जना खेलाडीहरु सोमबार होटल पुग्ने बताईएको छ। शनिवार ११ जना खेलाडीहरु होटल पुगीसकेका छन्। कप्तान सन्दिप लामिछाने हाल अस्ट्रेलियामा बिग ब्यास लिग खेल्दैछन् जो जनवरी अन्तिम साता नेपाल पुग्नेछन्।

बन्द प्रशिक्षणमा सहभागी हुन क्यानले कारवाहीमा परेका खेलाडीहरुले अधिकारिक रुपमा माग गरेमा क्यानले लचिलो हुँदै अनुबन्धको कारवाहीमा लचिलो हुन तयार भएको बताएको थियो। तर जानकारी अनुसार खेलाडीहरुले क्यान समक्ष कप्तान र उपकप्तान परिवर्तन लगायत सम्पूर्ण कारवाहीनै फिर्ता गर्न माग गरेको छ। यो अवस्थामा क्यानले आइतबार सम्म खेलाडीहरुलाई अभ्यासमा आउन समय दिने बुझिएको छ। आइतबार सम्म पनि खेलाडीहरु बन्द प्रशिक्षणमा उपस्थित नभए क्यानले उक्त खेलाडीहरु बिरुद्ध कस्तो कदम चाल्नेछ प्रतीक्षाको विषय छ।

चार खेलाडीहरुलाई कारवाही गर्दा सामाजिक संजालमा ‘We are Done’ अभियान मार्फत स्टोरि राख्दै समर्थन गरेका करन केसी, बिनोद भण्डारी, बिक्रम सोब, अविनाश बोहरा, सन्दिप जोरा, रोहित पौडेल, कुशल भुर्तेल जस्ता खेलाडीहरु बन्द प्रशिक्षणमा नपुगेको अनुमान गरिएको छ। क्यानले कुन-कुन खेलाडी पुगेको र नपुगेको भने बताएको छैन। होटल पुग्नेमा शरद भेसावकर पनि छन्। बन्द प्रशिक्षणमा रहेका कुशल मल्ल, शाहब आलम, सौरभ खनाल लगायत अन्य २-३ जना खेलाडीहरु आइतबार होटल पुग्ने जानकारी छ। आइतबार बेलुकासम्म कुन-कुन खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी नहुने थाहा हुनेछ।

क्यानको अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरे बमोजिम खेलाडी आचार संहिता उल्लङ्घन गरेको भन्दै क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो । यस्तै क्यानले सन्दिप लामिछानेलाई कप्तान समेत नियुक्त गरेको थियो।


घोषित ३० सदस्यीय प्रारम्भिक टिम :
 सन्दिप लामिछाने ( कप्तान ), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामि, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप जोरा, अविनाश बोहरा, सुशन भारि, पवन सर्राफ, बिक्रम सोब, भिम शार्की, रोहित पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, बिबेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy