क्यानको साधारणसभा आज , को होला अध्यक्ष ( सम्पूर्ण जानकारी )

साढे ३ वर्ष अघि देखि आईसीसीको निलम्बन भोगीरहेको नेपाल क्रिकेट संघको चुनावी साधारणसभा शुक्रबार हुँदैछ।

संघमा सरकारी हस्तक्षेप, आर्थिक अपारदर्शीता लगायत कारण देखाउदै आईसीसीले क्यान निलम्बन गरेको थियो। लामो अवधिको निलम्बन पछि संघले पुनः नयाँ नेतृत्व पाउने भएको हो। क्यान निलम्बन पछि आईसीसीले सल्लाहकार समिति बनाएको थियो जसले क्यानको विधान संशोधन गरेर निर्वाचनतर्फ अघि बढेको थियो।

काठमाडौँको मेरियट होटलमा दिउसो २ बजे उद्घाटन हुने साधारणसभाको लागि आईसीसीको प्रतिनिधि आजै काठमाडौँ आउदैछन्। उद्घाटन खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले गर्नेछन् भने राखेप सदस्यसचिव रमेश सिलवालको पनि उपस्थिति रहनेछ।

संघको नेतृत्वको लागि क्रिकेट संघका पुर्व अध्यक्ष विनय राज पाण्डे र चतुर बहादुर चन्द उठ्दै छन्। शनिवार विहान हुने निर्वाचनपछि सोहि दिन संघले नेतृत्व पाउनेछ। निर्वाचनमा जिल्लाबाट १/१ जना गरि ३९ र प्रदेशबाट २० गरि ५९ जना मतदाताले भोट गर्नेछन् जसले संघको अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत १७ सदसीय कार्यसमितिको चयन गर्नेछ।

क्यानले नयाँ नेतृत्व पाएपछि अक्टोबर १३ ( असोज २६ ) मा बस्ने आईसीसीको बोर्ड बैठकले नेपालको निलम्बन फुकुवा गर्ने अपेक्षा रहेको छ।

पाण्डे र चतुर बीच प्रतिस्पर्धा, कसले जित्ला ? 

क्यानको अध्यक्ष पदको लागि विजय राज पाण्डे र चतुर बहादुर चन्दले उम्मेदवारी दिने भएका छन्। दुवैले आफ्नो छुट्टै प्यानलनै बनाएर निर्वाचनमा जानेछन्।

पाण्डे सन् २००६ देखि २०१० सम्म क्रिकेट संघको अध्यक्ष रहेका थिएभने त्यस अघि उनि संघको महासचिव रहेका थिए। ४० वर्ष क्यानमै विताएका पाण्डे अन्तर्राष्ट्रिय सम्बन्धमा बलियो मानिन्छन्। तर उनि अध्यक्ष रहंदा नेपाली क्रिकेटले भने उल्लेख्य प्रगति गर्न सकेको थिएन।

अर्कोतर्फ कांग्रेस निकट चन्द निलम्बित क्रिकेट संघको अध्यक्ष रहेका थिए जसलाई राखेपले मान्यता नदिंदै रमेश सिलवाललाई अध्यक्ष बनाएर क्यान पुनर्गठन गर्दा विवादको सुरुवात भएको थियो। चन्दले अध्यक्षको रुपमा काम भने गर्न पाएका छैनन् तर व्यक्तित्वको हिसावले उनि पनि ठुलो आशा गर्न लायक भने मानिदैनन्। तसर्थ क्रिकेट प्रेमीहरुले जो अध्यक्ष आएता पनि दुवैबाट ठुलो परिवर्तनको आशा भने राखेका छैनन्।

जिल्ला संघको निर्वाचन देखि सक्रिय रहेका चन्द समुह प्रारम्भिक आंकलनमा बलियो देखिएका छन्। तर विनय राज पाण्डेपनि प्रदेश-१ अध्यक्ष डन्डु शेर्पा, पुर्व उपाध्यक्ष मैनालीको साथ पाएको खण्डमा राम्रो चुनौती दिन सक्षम छन्। पाण्डे समुहलाई राखेप सदस्यसचिव रमेश सिलवालको पनि साथ रहेको छ।

चुनाव जित्नको लाग ३० भोट आवस्यक रहेको छ जसको लागि दुवै समुहले अन्तिम समयमा सक्रियता तिब्र बनाएका छन्।

दुवै समूहले हालसम्म आफ्नो प्यानल घोषणा नगरेता पनि चन्द समुहबाट तत्कालिन महासचिव अशोकनाथ प्याकुरेल पुनः महासचिवमा उठ्ने बताईएको छ। यस्तै चन्द प्यानलबाट उपाध्यायमा राजुबाबु श्रेष्ठ र कोषाध्यक्षमा रोशन सिंह उठ्नेछन्। उपाध्यक्ष पदको लागि डन्डु शेर्पा, महासचिवमा बिनोद मैनाली तथा कोषाध्यक्षमा उपेन्द्र भट्टराई पाण्डे प्यानलबाट उठ्ने सम्भावना रहेको छ।

के भन्छन् अध्यक्षका उम्मेदवार

चतुर बहादुर चन्द -“नेपाली क्रिकेटको अवस्था खस्किएको छ । मेरो नेतृत्व आयो भने क्रिकेटका गतिविधिमा पुनरागमन हुनेछ । अहिलेको अवस्थामा ग्रासरुट मात्रै हैन लगभग क्रिकेट मरेको अवस्थामा छ । निर्वाचित भए नयाँ ढंगले अघि बढ्नेछु ।”

विनय राज पाण्डे -“मेरो उम्मेदवारी क्रिकेट विकासको लागि हो। ४० वर्ष महासचिव र अध्यक्ष भइ बसेको ठाउँमा म फेरी किन जानु पर्ने। एउटै कारण भत्किएको क्रिकेट बनाउने हो। मेरो पक्षमा समर्थन कम होला तर अनुभव बढी छ।”

निलम्बन फुकुवा भए के हुन्छ 

क्रिकेट संघ निलम्बित हुँदा नेपालमा घरेलु क्रिकेट प्रतियोगिता तथा बिभिन्न उमेर समुहका छनौट प्रतियोगिताहरु ठप्प जस्तै रहेको थियो। यस्तै नेपाली क्रिकेट टिमको छनौट समेत आईसीसीको रोहवरमा हुँदै आएको थियो। अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाएता पनि बन्दसत्र सुरुवात गर्न समेत आईसीसीको अनुमति र मिति लिन जरुरि रहेको थियो। संघ आएको खण्डमा क्रिकेटको क्रिकेटको लथालिङ्ग अवस्था हट्दै क्रिकेट सिस्टममा आउनेछ।

संघ हुँदा आईसीसीले नेपाली क्रिकेटको विकासको लागि बजेट दिन पुनः सुचारु गर्नेछ। यसले ठप्प रहेको पूर्वाधार विकासको काम पनि सुरु हुनेछ। खेलाडीहरुले पनि नियमित अभ्यास, सुविधा, आर्थिक सुरक्षा पाउनेछन्। यस्तै लामो समयको लागि स्तरीय प्रशिक्षक समेत पाउनेछ। संघ हुँदा बन्ने छनौट समितिले हाल भइरहेको खेलाडी छनौटको विवाद पनि कम हुने विश्वास गर्न सकिन्छ।

तर अब आईसीसीले दिने वजेट नेपाल क्रिकेट संघको कार्यशैलीले निर्धारण गर्नेछ। पुरानै अपारदर्शीता र अकर्मण्यता देखाउने हो भने आईसीसीले फेरी निलम्बित गर्न सक्छ भने सोहि आधारमा वजेट समेत निर्धारण गर्नेछ।

कसरि भएको थियो निलम्बन 

नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो। त्यस बेला नेपाल क्रिकेट संघले साधारणसभा गर्दै चतुरबहादुर चन्दलाई अध्यक्ष चुनेको थियो। त्यसलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता नदिंदै परिषदले रमेश सिलवाललाई ( हाल राखेपको सदस्य सचिब ) अध्यक्ष बनाएर क्यानको अर्को तदर्थसमिति बनाएको थियो। उक्त तदर्थ समिति बिरुद्ध निर्वाचित क्रिकेट संघले २०७२ मङ्सिरमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। त्यसपछि आईसीसीले राजनीतिक हस्तक्षेप र आर्थिक अपारदर्शीता जस्ता आरोप लगाउदै संघलाई निलम्बन गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy