जर्सी डिजाइन कन्टेस्ट : ५ सय बढीको सहभागिता, उत्कृस्ट छनोट गर्न कमिटि गठन

राष्ट्रिय क्रिकेट टिमको जर्सी डिजाइनको लागि नेपाल क्रिकेट संघले ( क्यान ) आयोजना गरेको खुल्ला जर्सी डिजाइन प्रतिस्पर्धामा ५ सय भन्दा बढी सहभागीले आफ्नो डिजाइन पठाएको क्यानले जानकारी गराएको छ। क्यानले डिजाइन पठाउन असार ४ गतेको अन्तिम मिति राखेको थियो।

क्यानले प्रेस विज्ञप्ति जारि गर्दै सहभागीहरुलाई धन्यवाद दिएको छ भने विजेता चयन गर्न चार सदस्यीय कमिटि गठन गरेको जानकारी गराएको छ। कमिटिमा क्यानका केन्द्रिय सदस्य छुम्बी लामा, जेनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर बिनोद दास र जर्सीको मुख्य प्रायोजक ‘माई सेकेन्ड टिचर’ को प्रतिनिधिहरु रहेका छन्। कमिटिमा रहेका लामाले यस अघि नेपालले त्रिकोणात्मक सिरिजमा प्रयोग गरेको जर्सीको बिरोध गरेका थिए।

घोषित कमिटिले डिजाइनहरु हेरेर सर्टलिस्ट गर्नेछ जसलाई बोर्ड समक्ष प्रस्तुत गर्नेछ। क्यानको बोर्डले छनोट भएका जर्सीहरु हेरेपछि विजेता घोषित गर्नेछ। उत्कृस्ट डिजाइनरले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

नेपालले जुलाई तेश्रो साता विश्वकप लिग-२ अन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोश्रो शृंखलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ। उक्त सिरिजमा नेपालले छनोट भएकोको नयाँ जर्सी लगाउनेछ।

नेपालले दुई महिना अघि घरेलु मैदानमा मलेसिया र नेदरल्याण्डसंग टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दा सार्वजनिक गरिएको नयाँ जर्सी राम्रो नभएको भन्दै सर्वत्र आलोचना भएको थियो। फ्यानहरुले समाजिक संजालमा जर्सी चित्त नबुझेको बताएपछि क्यानले नयाँ जर्सी बनाउन प्रतिस्पर्धानै आयोजना गरेको हो। क्यान भन्दा अघि स्कटल्याण्ड क्रिकेटले पनि आफ्नो फ्यानहरुलाई राष्ट्रिय टिमको जर्सी बनाउन आव्हान गरेको थियो जुन उपाए क्यानले पनि पछ्याएको हो।

फ्यानहरुले बनाएको केहि जर्सीहरु ( श्रोत – फेसबुक ) 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy