गोस र जोन्सको शतकीय साझेदारीमा अमेरिकाको सानदार जित

२०८१ जेष्ठ २०, आईतवार ०९:४५

काठमाडौं । आजबाट अमेरिका र वेस्ट इन्डिजमा सुरु भएको नवौं संस्करणको आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा एन्द्रिस गोस र आरोन जोन्सको शतकीय साझेदारीमा अमेरिकाले क्यानडामाथि जित हात पारेको छ ।

विश्वकपको डेब्यु खेलमा नै जित निकाल्ने क्रममा अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले ७ विकेटको सहज जित हात पारेको हो ।

क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य अमेरिकाले १७ दशमलब ४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

अमेरिकाको जितमा गोस र जोन्सले अर्धशतकीय ईनिङ खेले । जोन्सले ४० बलमा ४ चौका र १० छक्काको सहयोगमा अविजित ९४ रन बनाए । गोसले ४६ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए । तेस्रो विकेटका लागि जोन्स र गोसले ५८ बलमा १ सय ३१ रनको शतकीय साझेदारी गरे ।

पहिलो ओभरमा नै ओपनर स्टेभन टेलरलाई शुन्य रनमा गुमाएर खराब सुरुआत गरेको अमेरिका लागि अर्का ओपनर तथा कप्तान मोनाकं पटेलले १६ बलमा १६ रन बनाए ।

क्यानडाका लागि डेलिन ह्यालिगंर, कलिम साना र निखिल दत्तले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनायो ।

क्यानडाका लागि निकोलस किर्टन र नवनित धालीवालले अर्धशतक बनाए । धालीवालले ४४ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६१ रन बनाए । किर्टनले ३१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । श्रेयश मोभ्भाले १६ बलमा अविजित ३२ तथा ओपनर आरोन जोनसनले १६ बलमा २३ रन बनाए ।

अमेरिकाका लागि अलि खान, कोरि एन्डरसन तथा हरमित सिंहले समान एक एक विकेट लिए ।

जितसँगै समूह ए मा अमेरिका शीर्ष स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy