- विकेटनेपाल, फाल्गुन २ – बुधबार
टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको क्यानडाले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १९४ रन बनाएको छ।प्रतियोगिताको टप-२ भित्र रहँदै मार्चमा जिम्बाबेमा खेलिने २०१९ एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता खेल्न नेपाललाई क्यानडासंग जितको आवस्यकता छ।
प्रतियोगितामै १९५ रनको लक्ष्य नेपालले पाएको सबैभन्दा ठुलो लक्ष्य हो।अघिल्लो खेलमा नेपालले केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याएर खेल जितेको थियो।
पहिलो विकेटको लागि सृमन्था विजेरत्ने र रुभिन्दु गुनसेकेराले ४६ रनको साझेदारी गरे। बसन्त रेग्मीले गुनसेकेरा ( ९ ) लाई क्याच आउट गरेपछि क्यानडाले लगातार विकेट गुमाएको थियो। नितिश कुमार ( ९ रन ) र धानुक पाथिराना ( २ रन ) लाई सन्दिपले आउट गरेपछि नभनित ढालीवाल ( ४ रन ) लाई बसन्त रेग्मीले आउट गर्दा क्यानडाले पहिलो ४ विकेट ९० रनको स्कोरमा गुमाएको थियो। ४ विकेट गुमेपछि पाँचौ विकेटको लागि हम्जा तारिकसंग सृमन्था विजेरत्नेले ४१ रनको साझेदारी गरे जुन साझेदारी करन केसीले ३६ औं ओभरमा तोडे।
त्यसपछि निरन्तर अन्तरलमा विकेट गुमाएपनि एउटा इनिंग विजेरत्नेले सम्हालिरहे। प्रतियोगितामा आफ्नो पहिलो खेल खेलीरहेका विजेरत्नेले करियरकै पहिलो शतक पुरा गर्दै अविजित १०३ रन बनाए। त्यसक्रममा उनले १५२ बल खेल्दै ८ चौका प्रहार गरे।
नेपालको लागि बसन्त रेग्मीले सर्बाधिक ३ विकेट ( १०-०-३४-३ ) तथा सन्दिप लामिछानेले २ विकेट ( ९-१-४०-२ ) हात पारे। करन केसी र शरद भेसावकरले पनि १/१ विकेट लिए।
प्रतियोगितामा नेपालको खेल र नतिजा
पहिलो खेल – नेपालद्वारा नामिबिया १ विकेटले पराजित ( नामिबिया १३८ , नेपाल १३९/९ )
दोश्रो खेल – ओमानद्वारा नेपाल ६ विकेटले पराजित ( नेपाल १३८, ओमान १३९/४ )
तेश्रो खेल – नेपालद्वारा युएई ४ विकेटले पराजित ( युएई ११४ , नेपाल ११५/६ )
चौथो खेल – नेपालद्वारा केन्या ३ विकेटले पराजित ( केन्या १७७/८, नेपाल १७८/७ )
प्रतियोगिताको अंकतालिकामा टप-२ भित्र पर्दै मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकपमा छनौट हुन आज नेपालले खेल जित्नैपर्नेछ। क्यानडा र नेपाल दुवैले यस अघि सम्पन्न ४ खेलमध्ये ३ खेलमा जित र १ खेलमा हार बेहोरेका छन्।
( फिचर फोटो – Cricinfo )
खेलको फोटोहरु –
