करेबियन प्रिमियर अन्तर्गत गय राति सम्पन्न दुई वटा खेलमा जमैका तलावाज र ट्रिनबागो नाइट राइडर्सले जित दर्ता गरेका छन्।
दिनको पहिलो खेलमा जमैकाले बार्बेडोसलाई ६ विकेटले पराजित गर्यो जुन क्रममा बार्बेडोसले दिएको १५२ रनको लक्ष्य जमैकाले १७.४ ओभरमै भेटायो। जमैकाको लागि ओपनर केनार लुइसले सर्वाधिक ८९ रन बनाए जुन क्रममा ५३ बलमा ९ चौका र ५ छक्का प्रहार गरे। यस्तै शम्राह ब्रुक्सले २६ बलमा ४ चौका र २ छक्का मद्दतले अविजित ४७ रन बनाए। लुइस र ब्रुक्सले चौथो विकेटको लागि ९३ रनको साझेदारी गरेका थिए। बार्बेडोसका बलर जोशुवा बिशपले ३ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग रोजेको बार्बेडोसले आजम खानको ५० र ग्लेन फिलिप्सको ३१ रन मद्दतले २० ओभरमा ८ विकेट क्षेतीमा १५१ रन बनाएको थियो। बार्बेडोस बलर मिगेल प्रिटोरियसले सर्वाधिक ४ विकेट तथा फिडेल एडवार्डले २ विकेट लिए।
89 for Kennar Lewis, the highest score of #CPL21 #CricketPlayedLouder #BRvJT pic.twitter.com/6dMlYuDknU
— CPL T20 (@CPL) September 1, 2021
दिनको दोश्रो खेलमा डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सले सेन्ट लुसिया किंग्सलाई २७ रनले पराजित गर्यो। ट्रिनबागोले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा सेन्ट लुसियाले २० ओभरमा ७ विकेट क्षेतीमा १३१ रन मात्र बनाउन सक्यो।
सेन्ट लुसियाका ओपनर आन्द्रे फ्लेचरले अविजित रहँदै ८१ रन बनाए पनि टिमलाई जित दिलाउन असफल रहे। फ्लेचरले ५५ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। फाफ डु प्लेसी र मार्क डेयालले समान १४ रन बनाउनु बाहेक उनलाई अन्य ब्याट्सम्यानले उलेख्य साथ दिन सकेनन्। उसका ३ जना ब्याट्सम्यान खाता नखोली आउट भए। ट्रिनबागोका बलर रभी राम पालले ३ तथा इसुरु उडानाले २ विकेट लिए। किफायती बलिंग गरेका सुनिल नारायण ( ४-१-१६-१ ) र अकेल होसेन ( ४-०-१२-० ) ले समान १ विकेट लिंदै जितमा अहम योगदान दिए।
जित पछि लिग अंक तालिकामा जमैका दोश्रो र ट्रिनबागो तेश्रो स्थानमा उक्लेको छ। जमैकाले ३ खेलमा २ जित र १ हार तथा ट्रिनबागोले ४ खेलमा २ जित र २ हार बेहोरेको छ।