युएईमा जारी अबुधाबी टि-१० लिग अन्तर्गत सुपर लिग चरणको पहिलो खेलमा नेपाली खेलाडी करन केसी आवद्ध पुने डेभिल्सलाई बांग्ला टाइगर्सले ८ विकेटले पराजित गरेको छ। लिगमा पुनेले चौथो खेल खेल्दा यो तेश्रो हार हो।
शेख जायद स्टेडीएम अबुधाबीमा सम्पन्न खेलमा पुनेले दिएको ११६ रनको लक्ष्य बांग्लाले २ विकेट गुमाएर ८.५ ओभरमा पुरा गर्यो।
बांग्लाको जितमा टम मुर्सले अविजित सर्वाधिक ३८ रन बनाए जुन क्रममा १२ बलमा १ चौका र ४ छक्का प्रहार गरे। यस्तै चिराग सुरी र कप्तान आन्द्रे फ्लेचरले समान ३० रन बनाए। पुनेको बलिंगमा मोहम्मद आमिरले १ मात्र विकेट लिने क्रममा २ ओभरमा १४ रन खर्चिए।
यस अघि टस हारेर ब्याटिंग गरेको पुनेले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ११५ रन बनाएको थियो।
पुनेको लागि ओपनर टम कोहलरले उत्कृस्ट लय कायम राख्दै सर्वाधिक ४८ रन बनाए। उनले २५ बलमा ४ चौका र ३ छक्का प्रहर गरे। यस्तै एलेक्स डेभिसले अविजित ४१ रन बनाए जुन क्रममा २१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। बांग्ला टाइगर्सको लागि करिम जनत, कैस एहमद र फजलहक फारुकीले समान १ विकेट लिए।
करन केसीको प्रदर्शन
छैठौं ओभरमा बलिंग गर्न आएका करनलाई आन्द्रे फ्लेचरले पहिलो बलमै चौका हिर्काए जुन क्रममा अफस्टम्प बाहिर गरेको फुललेन्थ बललाई उनले सिधा प्रहार गरे। दोश्रो बलमा करनले पुनः उही प्रकारको बल गरे जसलाई फ्लेचरले कभर माथि छक्का हिर्काए। तेश्रो बलमा पनि फ्लेचरले करनले दिएको स्लोअर बललाई लंग अनमा छक्का हिर्काए।
पहिलो ३ बलमा राउण्ड द विकेट बलिंग गरेपछि चौथो बलमा ओभर द विकेट बलिंग गरेका करनले डट बल गरे। पाँचौ बलमा करनले मात्र १ रन दिए। ओभरको अन्तिम बलमा चिराग सुरीले पोइन्ट क्षेत्रमा हानेको बलमा केनार लुइसले क्याच छोडे। तर सो बलमा रन लिन दौडेका आन्द्रे फ्लेचर रन आउट हुन पुगे।
ओभरमा १७ रन खर्चेका करन विकेटविहिन रहे। पहिलो ३ बलमा महँगो भए पनि त्यसपछिको बलमा करनले राम्रो बलिंग गरे। त्यसपछि भने करन बलिंग गर्न आएनन्।
लिगमा करन केसीको यस अघिको प्रदर्शन
लिग अन्तर्गत करनले यस अघि खेलेको तिन वटा खेलमा १ विकेट लिएका थिए। पहिलो खेलमा डेक्कन ग्ल्याडीएटर्ससंग १ ओभरमा १७ रन खर्चेका उनले दोश्रो खेलमा कलन्दर्ससग १ ओभरमा ९ रन खर्चेर विकेटविहिन रहेका थिए। तेश्रो खेलमा उनले टिम अबुधाबीसग १ ओभरमा १८ रन खर्चदा क्रिस गेललाई बोल्ड गर्दै विकेटको खाता खोलेका थिए।
लिग अन्तर्गत आजको दोश्रो खेलमा अर्का नेपाली खेलाडी कुशल मल्ल आवद्ध टिम अबुधाबीले नर्दर्न वारियर्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय राति ८ बजे सुरु हुनेछ। हालसम्म कुशलले अन्तिम-११ मा मौका पाएका छैनन्।
सोमपाल कामि आवद्ध टिम मराठाले आगामी खेल मंगलबार बेलुका ५:४५ बजे कलन्दर्ससग खेल्नेछ। मंगलबारनै पुनेले दिल्ली बुल्ससंग राति ८ बजे खेल्नेछ।