काठमाडौं – गोल्डेन गेट इन्टरनेशनल कलेज र ट्रीटन कलेजले गोल्डेन गेट कलेज प्रिमियर लिगको उपाधिका लागि भिड्ने भएका छन्।
शनिबार कीर्तिपुरसस्थित टीयू क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा दुवै टोलीले आ-आफ्नो खेलमा जित दर्ता गर्दै उपाधि भिडन्त पक्का गरे । फाइनल खेल आइतबार विहान ११ बजे हुनेछ ।
गोल्डेन गेटले काठमाडौं विश्वविद्यालयलाई ७२ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो । टस हारेर ब्याटिङको निम्तो पाएको गोल्डेन गेटले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन जोडेको थियो ।
शीर्षक्रमका स्टार ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्केपनि युवा ब्याट्सम्यानद्वय सुमित महर्जन र अनिलकुमार शाहले गोल्डेन गेटलाई बलियो योगफलसम्म पुर्याएका थिए । गोल्डेन गेटले छैटौं ओभरभित्रनै १७ रनको स्थितिमा शरद भेषावकर ५ रन तथा दिपेन्द्र सिंह ऐरी शून्य र कप्तान पृथु बाँस्कोटालाई शून्यमा गुमाएको थियो ।
अनिल र सुमितले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे । अनिल ३९ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोड्दै क्याच आउट भए । प्रतियोगितामा दोस्रो पटक म्यान अफ द म्याच चुनिएका सुमितले १९ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनको योगदान दिए । सोनु तामाङले अन्त्यतिर १४ बलमा ३ चौका र १ छक्कासहित २७ रन जोडेपछि गोल्डेन गेटले बलियो योगफल खडा गरेको थियो । जितेन्द्रसिंह ठकुरीले ९ र अमरसिंह राउटेला १० रनको योगदान दिँदा दिपेन्द्र रावत ८ रनमा अविजित रहे ।
केयूका रुपेश श्रीवास्तव र विकास यादवले ३-३ तथा नविन यादव, सोनु देवकोटा र इशान पाण्डेले १-१ विकेट बाँडे ।
जवाफमा निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको केयूले १९.४ ओभरमा अलआउट हुनुअघि ७२ रनमात्र जोड्न सक्यो । शीर्षक्रमका तीन ब्याट्सम्यानलाई खाता नखोली गुमाएको केयूका अर्का ओपनर प्रविन रिजालले ५ रनमात्र जोडे । रवीन जोशी, दिनेश बुढामगर र धिरज अधिकारी शून्यमा पेभेलियन फर्किए । मध्यक्रममा सोनु देवकोटाले १९ र नविन यादवले २१ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सोनुले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । नविनले १८ बलको सामना गर्दै समान १ चौका र छक्का जोडे ।
गोल्डेन गेटका अमरसिंह राउटेलाले ३, नन्दन यादव, दिपेन्द्र ऐरी र पृथु बाँस्कोटाले २ विकेट लिँदा शरद भेषावकरले १ विकेट लिए । दिपेन्द्र रावतले कुनै विकेट नलिएपनि ४ ओभरमा १ मेडनसहित ८ रनमात्र खर्चे ।
ट्रिटनको सहज जित
त्यसअघि दिनको पहिलो खेलमा ट्रिटन कलेजले वर्षाले छोट्याइएको खेलमा हिमालय कलेजलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो ।
वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिलो फिल्डिङ रोजेको ट्रिटनले हिमालयलाई चार विकेटको क्षतिमा २३ रनमै रोकेको थियो । जवाफमा ट्रिटनले ३ दशमलव ३ ओभरमा २६ रन बनायो । हिमालयले आक्रमक ब्याट्सम्यान विनोद भण्डारी र आदिल खानलाई पेभिलियन फर्काएपनि प्रदिप ऐरि र अरुण ऐरिले जित सहज जिततर्फ डोर्याएका थिए । एक विकेट पनि लिएका अरुण म्यान अफ द म्याच भए । उनले ब्याटिङतर्फ ११ बलमा दुई चौका प्रहार गर्दै १४ रन बनाए । प्रदिपले चार रन बनाए ।
हिमालयका लागि कप्तान रुपेश सिंहले दुवै विकेट लिएका थिए ।
त्यसअघि राष्ट्रिय टोलीका स्पिनर ललित नारायण राजवंशीले ट्रिटनलाई पहिलो ओभरमै सफल दिलाएका थिए । हिमालयले खेल अवधिभर मात्र एक चौका प्रहार गर्न सक्यो । गौरभ खड्काले ७ र मयंक झाले ४ रन बनाएका थिए । ट्रीटनका ललित र अरुणसँगै विक्रम सोबले पनि विकेट लिएका थिए ।
युनिभर्सिटी क्रिकेट क्लबको योजनामा जारी प्रतियोगितामा १२ कलेजको सहभागीता रहेको थियो । विजेताले २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिसिजले रु २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रोयाजनमा रु ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ ।