सप्तरी प्रिमियर लिग चैत १० गते देखि

२०७८ चैत्र १, मंगलवार २०:३६

राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको चौंथो संस्करण यही चैत १० गते देखि सप्तरीको राजविराजमा सुरु हुने भएको छ।

यस अघि चैत ७ गते देखि सुरु हुने घोषणा गरिएता पनि प्रतियोगितामा सहभागी टिमहरुले समय थप गर्न माग गरेपछि प्रतियोगिता तिन दिन सारिएको हो। पाँच फ़्रेन्चाइज् टिमहरुको सहभागिता रहने प्रतियोगिताको खेलाडी चयन अक्सनमार्फत गरिंदै आएको छ। यो संस्करणको लागि पनि अक्सन चैत ६ गते संचालन हुनेछ ।

प्रतियोगितामा सहभागी फ़्रेन्चाइजले आफ्नो टिममा पाँच जना जिल्ला बाहिरको खेलाडी राख्न पाउने नियम छ। जिल्ला बाहिरको खेलाडी सहित फ़्रेन्चाइजले अक्सनमार्फत कूल १६ जना खेलाडीको टिम बनाउन पाउनेछ। सबै टिमको मार्की खेलाडीको समेत घोषणा गरिनेछ।

लिगको गत सिजन उपाधि विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले जितेको थियो। वारियर्स टिममा राष्ट्रिय क्रिकेटर अनिल शाह र पवन सर्राफ पनि सहभागी थिए। यस्तै अन्य टिमहरुमा दिपेन्द्र ऐरी, कुशल भुर्तेल, बसन्त रेग्मी, आसिफ शेख, सिद्धान्त लोहनी, मेहबुब आलम, लोकेश बम, सुनिल धमला, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु सहभागी थिए। यो सिजन पनि राष्ट्रिय क्रिकेटरहरुले अक्सनको लागि नाम दर्ता गराइसकेका छन्।

डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्स सहित रुपनी राईडर्स, तिलाठी कोईलाडी जायन्ट्स, बोदे बर्साईन थन्डर्स र टिभीएस किंग्स राजविराज लिगमा सहभागी टिमहरु हुन्। एक साता चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलीनेछ।

प्रतियोगिताको विजेता टिमले तिन लाख रुपैयाँ तथा उपविजेता टिमले एक लाख पचार हजार रुपैयाँ प्राप्त गर्ने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले जानकारी गराएका छन्।

लिगको खेलहरु राजविराज स्थित राज रंगशालामा आयोजना हुनेछ जहाँ खेल हेर्न दर्शकहरुले टिकट काट्नु पर्नेछ। प्रतियोगिताको लागि मैदानको तयारी सुरु भइसकेको छ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy