चरम आर्थिक संकटमा परेपछि चितवनको भरतपुर महानगरपालिका–१५,स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण काम रोकिएको छ । बक्यौता रकम तिर्न नसकेपछि रंगशालाको सम्पूर्ण काम रोकिएको धुर्मस–सुन्तली फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले रकमको चरम अभाव भएपछि साउन १५ गते यता भिआइपी टावरको निर्माण रोकिएको जानकारी दिए । ‘अहिले प्याराफिट निर्माणको सबै काम रोकिएको छ, आर्थिक जोहो नभएसम्म काम अगाडि बढाउन मुश्किल छ’–कट्टेलले भने । उधारो रकम तिर्नै कठिन भएपछि बाध्य भएर निर्माण काम रोकिएको उनले बताए । ‘उधारो रकम मात्रै तिर्न पाए अझै धेरै काम गर्न सकिन्थ्यो, अहिले न त उधारो तिर्न सक्ने अवस्था छ नत काम गर्न नै’–उनले गुनासो पोखे ।
कट्टेलका अनुसार रंगशालाको भौतिक पूर्वाधार निर्माणको काम ३५ प्रतिशत सकिएको छ । मैदानको काम झण्डै ९० प्रतिशत सकिएको छ । वर्षाको कारण पीच निर्माणको काम अघि बढेको छैन । पीच निर्माण भए तत्कालका लागि मैदान खेल्न योग्य बन्ने छ । अहिले ३ हजार दर्शकले हेर्न मिल्ने प्याराफिट निर्माण भइसकेको छ । ‘पीआइपी टावर मात्रै निर्माण गर्न सकिए मैदानमा खेल खेलाउन सक्ने अवस्था रहन्छ, यसका लागि सरकारसंग हारगुहार गरिरहेको छु’–कट्टेलले भने । उनी आर्थिक जोहो गर्न अहिले काठमाडौंँमा छन् । सरकारसंग सहयोगको याचना गरिरहेका छन् । तर कतैबाट पनि ठोस जवाफ नआएकोले कट्टेल निराश छन् ।
रंगशाला निर्माण परियोजनाको आर्थिक प्रशासन शाखाका मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म रंगशाला निर्माणमा ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्च भैसकेको छ । १६ करोड २ लाख रकम उधारो तिर्न बाँकी छ । हालसम्म ३८ करोड ५९ लाख ३२ हजार ७ सय ४१ रुपैयाँमात्रै भुक्तानी गरिएको छ।
महायज्ञमा घोषणा गरिएको रकम उठाउनै कठिन
रंगशाला निर्माणलाई तिव्रता दिन फाउण्डेशनले के सम्म गरेन भन्ने जानकारी सबैलाई थाहा छ । आर्थिक सहयोग जुटाउन भनेर वृहत महायज्ञ समेत आयोजना गरिएको छ ।
सो महायज्ञबाट झण्डै ६९ करोड ४५ लाख ५६ हजार रकम उठेको घोषणा गरिएको थियो । २०७६ माघमा गरिएको महायज्ञमा कबोल गर्नेहरु अहिले चुपचाप छन् । महायज्ञबाट नगद २० करोड २५ लाख रुपैयाँ मात्रै उठेको छ भने बाँकी उठ्नै बाँकी छ । ‘महायज्ञबाट कबुल गरिएको रकम मात्रै उठेको भए धेरै काम गर्न सकिने अवस्था थियो, तर त्यो रकम पनि उठ्ने अवस्था नरहेपछि हामी कठिन मोडमा पुगेका हौं’–कट्टेलले भने । उनले कबुल गरिएको रकम उपलब्ध गराइदिन अनुरोध गरिरहेका छन् ।
महायज्ञमा कबुल गरिएको बागमती प्रदेश सरकारको ३ करोड, एलपी ग्यास उद्योगले १ करोड, पुरानो मेडिकल कलेजले २० लाख, चितवन मेडिकल कलेजले ६० लाख, माडी नगरपालिकाले ३० लाख र पोल्ट्री व्यवसायी महासंघले ५९ लाख ५० हजार रकम उठ्न बाँकी छ ।
जिल्ला समन्वय समितिले २ करोड २२ लाख २२ हजार दिने भनेकामा ५० लाख ९२ हजार ८ सय रुपैयाँ मात्रै दिएको छ भने बाँकी रकम दिन बाँकी छ । प्रदेश सरकारले ३० करोड दिने भनेकोमा ३ करोड मात्रै दिएको छ ।
भरतपुर महानगरपालिकले १६ करोड ७५ लाख बोलेकोमा जम्मा ८ करोड मात्रै र रत्ननगर नगरपालिकाले १७ लाख दिने भनेकोमा ९ लाख ८५ हजार रुपैयाँ मात्रै दिएका छन् । भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्ष थप २ करोड दिने जनाएको छ ।