- विकेटनेपाल, मङ्सिर-२८ , शुक्रबार
एभरेस्ट प्रिमियर लिग अन्तर्गत चितवन टाइगर्सले लिगमा चौथो खेल खेल्दा पहिलो जित निकाल्न सफल भएको छ।
प्ले अफ पुग्ने सम्भावना जीवित राख्न जित मात्रै बिकल्प रहेको अवस्थामा चितवनले बिराटनगरलाई ५ रनले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै चितवनले बनाएको १९६ रनको जवाफमा ब्याटिंग गरेको बिराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्रै बनाउन सकेको हो।
जितसंगै अंक तालिकामा चितवन ४ खेलमा ३ हार र १ जितको साथ चौथो स्थानमा उल्केको छ। उता ४ खेलमा २ जित र २ हारको साथ बिराटनगर तेश्रो स्थानमा यथावत रहेको छ। ३/३ जित हात पार्दै ललितपुर प्याट्रीएट्स र भैरहवा ग्ल्याडीएटर्स प्लेअफ पुगी सकेका छन्।
बाबरको विस्फोटक ब्याटिंगले दिलाएन जित, ललित भण्डारी उत्कृस्ट
१९७ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगरको लागि ओपनिङ्ग ब्याटिंग गर्न आएका पारस खड्का चौथो ओभरमा ललित भण्डारीको बलमा १९ रन बनाएर आउट हुन पुगे। खड्काले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यसपछि अनिल साह र बाबर हायातले दोश्रो विकेटको लागि ३० रनको साझेदारी गरे पनि साह १२ रन बनाएर आउट हुँदा ६.२ ओभरमा बिराटनगरको स्कोर ६३/२ पुग्यो।
दुई विकेट गएपछि चौथो नम्बरमा ब्याटिंग गर्न आएका आसिफ शेखसंग बाबर हायातले ८३ रनको साझेदारी गरे। १५ औं ओभरमा आसिफलाई सागर ढकालले ३० रन ( २१ बल , ३ छक्का ) को योगफलमा क्याच आउट गरे। त्यस लगत्तै रोल्फ भान दर मर्वेलाई पनि सागरले खाता नखोल्दै सोहि ओभरमा दिपेन्द्र ऐरिको हातबाट क्याच आउट गराउदा वारियर्स दबाबमा आएको थियो।
एउटा किनारमा विस्फोटक ब्याटिंग गरिरहेका बाबर हायात पनि १७ औं ओभरमा ललित भण्डारीको बलमा सागर ढकालले उत्कृस्ट क्याच लिंदै पेभेलियन फर्किंदा चितवन खेलमा हाबी भएको थियो।
हायातले ९० रनको इनिंग खेल्दा ४२ बलमा ८ छक्का र ५ चौका प्रहार गरे। त्यस क्रममा उनले २३ बलमा अर्धशतक पुरा गरेका थिए। इनिंगको छैठौं ओभरमा हंगकंग खेलाडी हायातले दिपेन्द्र ऐरिलाई ३ छक्का र २ चौका लगातार प्रहार गरेका थिए।
हायातको विकेटपछि लगातार बलमा ललित भण्डारीले नयाँ ब्याट्सम्यान हरि बहादुर चौहानलाई बोल्ड गरेका थिए।
चौहानको विकेट पछि निकै दबाबमा देखिएको वारियर्सलाई अन्तिम ३ ओभरमा जितको लागि ३५ रन आवस्यक थियो र क्रिजमा रहेका करन केसी र सुमित महर्जनबाट वारियर्सले खेल जिताउने आशा गर्दै थियो।
१८ औं ओभरमा बलिङ्ग गरेका शाहब आलमले ८ रन मात्री खर्चिदा अन्तिम २ ओभरमा वारियर्सलाई जित्न २७ रन आवस्यक थियो। १९ औं ओभरमा ललित सिंह भण्डारी आए जुन ओभरको चौथो बलमा सुमित महर्जन ( ७ ) रन आउट हुन पुगे भने ओभरको अन्तिम बलमा भान मिकिरिन खाता नखोल्दै बोल्ड हुन पुगे।
८ विकेट गुमाएको बिराटनगरलाई अन्तिम ओभरमा जितको लागि १८ रन आवस्यक थियो र क्रिजमा थिए करन केसी र बसन्त रेग्मी। अन्तिम ओभर बलिङ्ग गर्न आए दिपेन्द्र ऐरि जसलाई बाबर हायातले अघिल्लो ओभरमा २६ रन हिर्काएका थिए।
अन्तिम ओभरको पहिलो बलमा रन बनाउन नसकेका करनले ऐरिको दोश्रो बलमा छक्का प्रहार गर्दा ४ बलमा वारियर्सलाई जित्न १२ रन आवस्यक थियो। तेश्रो र चौथो बलमा करनले रन बनाउन सकेनन्। चौथो बलमा १ रन लिने मौका भए पनि करनले स्ट्राइक बसन्तलाई दिएनन् र रन लिएनन्। ओभरको पाँचौ बलमा पनि दिपेन्द्रले डट बल गरे जसपछि अन्तिम बलमा जितको लागि १२ रन आवस्यक रह्यो। अन्तिम बलमा करनले छक्का प्रहार त गरे तर ५ रनले वरियर्स लक्ष्य भन्दा पछि पर्दै खेल गुमाउन पुग्यो।
१८ बलमा २ छक्का मदतले २१ रन बनाए पनि वारियर्सलाई जिताउन भने सकेनन्।
चितवनको बलिङ्गमा प्लेयर अफ द म्याच चुनिएका ललित सिंह भण्डारीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा २४ रन खर्चिए। यस्तै देब्रे हाते स्पिनर सागर ढकालले ३ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै २४ रन खर्चिए। महँगो सावित हुने क्रममा दिपेन्द्र ऐरि ( २-०-३८-० ) , शाहब आलम ( ४-०-४०-० ), पल स्टरलिङ्ग ( ३-०-३४-० ) र जर्ज स्कट ( ३-०-३०-० ) विकेट विहिन रहे।
सिम्प्सनको विस्फोटक इनिंग
टस जितेर खेलमा बिराटनगर वारियर्सले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाए १९६ रनको योगफल तयार गरेको थियो।
टाइगर्सका ओपनिङ्ग ब्याट्सम्यान सन्दिप सुनार र पल स्टरलिङ्गले पहिलो विकेटको लागि ४४ रन जोडेका थिए।
यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका सुनार ३० रन बनाएर छैठौं ओभरमा बसन्त रेग्मीको बलमा ठुलो सट खेल्ने क्रममा आउट हुन पुग्दा टाइगर्सले पहिलो विकेट गुमाएको थियो। सुनारले २२ बलमा ६ चौका प्रहार गरे जुन क्रम मा करन केसीले गरेको इनिंगको दोश्रो ओभरमा ३ चौका समाबेस थियो।
सुनारको विकेट पछि जोन सिम्प्सन र स्टरलिङ्गले दोश्रो विकेटको लागि ५२ रनको साझेदारी गर्दै योगफल १०० पार गराए।
सुस्त ब्याटिंग गरेका स्टरलिङ्ग २३ बलमा १५ रन बनाएर १२ औं ओभरमा पारस खड्काको एलबिडब्लु सिकार भए। इनिंगको क्रममा स्टरलिङ्गले कुनै पनि बाउन्ड्री हिर्काउन सकेनन् ।
दोश्रो विकेट गुमेपछि दिपेन्द्र ऐरि र सिम्प्सनले बिराटनगर बलरहरुलाई निरास बनाउने ब्याटिंग गरे।
एक किनारमा सिम्प्सनले आक्रामक इनिंग खेल्दा राम्रो साथ दिएका दिपेन्द्र अठारौं ओभरमा आउट हुनु अघि दुवैले तेश्रो विकेटको लागि ६९ रनको साझेदारी गरिसकेका थिए। ऐरिलाई भन मिकिरिनले १८ औं ओभरमा क्याच आउट गराए जसले २२ बलमा ३ चौका मदतले ३२ रन बनाए।
२८ बलमा अर्धशतक प्रहार गर्दै ४४ बलमा ७८ रन बनाएका सिम्प्सन अन्तिम ओभरमा करन केसीको बलमा क्याच आउट भए। उनले विस्फोटक इनिंग खेल्ने क्रममा ५ छक्का र ६ चौका प्रहार गरे।
अन्तिममा जर्ज स्कटले १० बलमा २४ रन बनाउदै चितवनको योगफल अझ बढाए। करन केसीको अन्तिम ओभरमा २ छक्का प्रहार गरेका उनले ३ छक्का हिर्काए।
फलस्वरुप २० ओभरमा ४ विकेट गुमाएर चितवनले १९६ रनको योगफल तयार गर्यो।
बिराटनगरको बलिङ्गमा करन केसी, बसन्त रेग्मी, भान मिकिरिन र पारस खड्काले १/१ विकेट लिए। महँगो सावित भएका करन केसीले ४ ओभरमा ५१ रन खर्चिए भने पारसले ३ ओभरमा ३४ रन खर्चिए। रोबिन क्षेत्रीले १ ओभर बलिङ्ग गर्दा १७ रन खर्चिए।