सन्दिप र सिता बर्ष खेलाडी बन्दा रोहितलाई उदयीमान क्रिकेट खेलाडीको अवार्ड : एनसिसिएस सिपिएएन् क्रिकेट अवार्ड

  • विकेटनेपाल – २० फाल्गुन, मंगलवार 

क्रिकेट खेलाडी संघ नेपाल ( सिपिएएन् ) र एनसिसिएसको आयोजनामा मंगलवार पहिलो एनसिसिएस सिपिएएन् क्रिकेट अवार्ड सम्पन्न भएको छ। पछिल्लो एक बर्षको समयमा नेपाली क्रिकेट र खेलाडीले हात पारेको सफलताको सम्मान स्वरुप अवार्ड समारोहको आयोजना भएको हो।

राजधानी स्थित रसियन कल्चर सेन्टरमा सम्पन्न अवार्ड समारोहमा बिभिन्न ४ विधातर्फ ४ खेलाडी र लाइफ टाइम अचिभमेन्ट अवार्डबाट १ व्यक्तित्वले अवार्ड हात पारे।

सन्दिप र सिता बर्ष खेलाडी : 

अवार्ड समारोहमा पुरुष राष्ट्रिय टोलीका स्टार खेलाडी सन्दिप लामिछाने र महिला टोलीकी नियमित सदस्य सिता राना मगरले बर्ष खेलाडीको उपाधि हात पारे।

बर्ष खेलाडी पुरुषको अवार्ड हात पार्ने क्रममा सन्दिप लामिछानेले पारस खड्का, करन केसी, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीलाई पछि छाडे। पाकिस्तान सुपर लिग खेल्न युएईमा रहेका सन्दिपको अवार्ड राष्ट्रिय टोलीका कप्तान पारस खड्काले थापेका थिए। बर्ष खेलाडी पुरुष बनेसंगै सन्दिपले नगद १ लाख ३२ हजार समेत आफ्नो नाम गरे।

यस्तै बर्ष खेलाडी महिलाको अवार्ड हात परेकी सिता राना मगरले सोहि विधातर्फ महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रिसंगै इन्दु बर्मा, करुना भण्डारी र सरिता मगरलाई पछि छाडिन्। अवार्ड थाप्न सिता स्वयं उपस्थित भएकी थिइन्।

यस्तै युवा क्रिकेटर रोहित कुमार पौडेलले उदयीमान क्रिकेट खेलाडीको अवार्ड आफ्नो नाम गरे। सो अवार्ड हात पार्दा रोहितले आफ्नो विधातर्फ अभिनाश बोहरा, सुन्दिप जोरा, ललित राजबंशी र कबिता कुँवरलाई पछि छाडे। रोहितले अवार्डसंगै नगद ६६ हजार समेत आफ्नो नाम गर्न सफल भए।

यस्तै फ्यान भोटिंगका आधारमा तय गरिएको मोमेन्ट अफ दि इयरको उपाधि करन केसीको नाममा रह्यो। गत बर्ष नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २  मा क्यानडा बिरुद्ध चमत्कारी जित दिलाउने क्रममा करनले खेलेको इनिंगका लागि उनलाई सो अवार्ड प्रदान गरियो।

उता आफ्नो जीवनमा क्रिकेट बिकास र प्रवर्धनका लागि गरेको योगदानको कदर गर्दै पूर्वक्रिकेटर कोमल पाण्डेले लाइफ टाइम अचिभमेन्ट अवार्ड हात पारे। सो अवार्डबाट सम्मानित पाण्डेलाई नगद ६६ हजार सहित सम्मान गरियो।

तस्बिर : सलमान शाह 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy