ईपीएल विजेताले नेपाली क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार प्राप्त गर्ने

एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) को चौथो संस्करणको विजेता टिमले नेपाली क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार रकम पाउने भएको छ।

ईपीएलले मंगलबार लिगको पुरस्कार रकम सार्वजनिक गरेको हो। लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै उपविजेता टिमले १५ लाख रुपैयाँ पाउनेछ। ईपीएलको अघिल्लो संस्करण २०१८ को विजेता ललितपुर पेट्रिएट्सले २५ लाख रुपैयाँ तथा उपविजेता भैरहवा ग्ल्याडीएटर्सले १० लाख रुपैयाँ पुरस्कार पाएको थियो।

नेपालको सर्वाधिक पुरस्कार राशि भएको घरेलु लिग धनगढी प्रिमियर लिग थियो जसको पछिल्लो संस्करण २०१९ मा विजेता सीवाईसी अत्तरियाले ३० लाख रुपयाँ पाएको थियो। डिपीएल पछि सर्वाधिक धनराशी पोखरा प्रिमियर लिगको गत संस्करण विजेता चितवन राइनोजले २७ लाख रुपैयाँ पाएको थियो। दुवै लिगलाई उछिन्दै ईपीएल अब सर्वाधिक धनराशीको नेपाली लिग भएको छ।

ईपीएलको यो सिजनमा बजाज पल्सर मुख्य प्रायोजक रहेको छ जसले मुख्य प्रायोजन बापत नेपाली खेलकुद इतिहासकै सर्वाधिक २ करोड ५० लाख रुपैयाँ प्रदान गर्नेछ।

गत सिजन इपिएल ललितपुर पेट्रिएट्सले जितेको थियो जसले २५ लाख रुपैयाँ पाएको थियो

ईपीएल चौथो संस्करण सेप्टेम्बर २५ तारिख देखि अक्टोबर ८ तारिखसम्म कीर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। लिगमा । डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिएट्ससंगै काठमाडौँ किंग्स-११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडीएटर्स र बिराटनगर वारियर्स सहभागी रहेका छन्।

लिगको अघिल्लो सिजन २०१८ डिसेम्बरमा आयोजना भएको थियो। उपाधि जित्ने क्रममा ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रिएट्सले शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गरेको थियो। लिग सिंगल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुनेछ। समुह चरणमा सबै ६ टिमले एकअर्का बिरुद्ध १-१ खेल खेलेपछि अंकतालिकामा शिर्ष-४ टिमले प्लेअफमा स्थान बनाउनेछ।

लिगमा हालसम्म टेस्ट राष्ट्र खेलीसकेका ६ जना खेलाडीहरु बिभिन्न टिमहरुमा अनुबन्धित भैसकेका छन्। काठमाडौँ किंग्स एघारले पाकिस्तानी स्टार खेलाडी शाहिद अफ्रिदी, भैरहवा ग्ल्याडीएटर्सले पूर्व श्रीलंकन कप्तान दिनेश चण्डीमाल, चितवन टाइगर्सले अफगानीस्तानका मोहम्मद शाहजाद, पाकिस्तानका डानिश अजिज र श्रीलंकाका सेक्कुगे प्रशन्नालाई तथा बिराटनगर वारियर्सले जिम्बाब्वेका सिकन्दर रजालाई अनुबन्ध गरिसकेको छ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy