चेन्नाई बिरुद्ध पन्जाबको जित, लोकेस राहुलको आक्रामक इनिंग, चेन्नाई शिर्षमै

२०७६ बैशाख २२, आईतवार २०:११

  • विकेटनेपाल, बैशाख-२२ , आइतबार 

इन्डियन प्रिमियर लिग अन्तर्गत प्ले-अफ अघिको आफ्नो अन्तिम खेलमा चेन्नाई सुपर किंग्सलाई किंग्स-११ पन्जाबले पराजित गरेको छ।

हार पछि पनि चेन्नाई आईपीएल अंकतालिकाको शिर्ष स्थानमा यथावत रहेको छ भने पन्जाब सातौँ बाट छैठौं स्थानमा पुगेको छ। १४ खेल खेल्दा चेन्नाईको ९ जित र ५ हार सहित १८ अंक रहेको छ भने पन्जाबले १४ खेल खेल्दा ६ जित र ८ हार बेहोर्दै १२ अंक बटुल्न सक्यो। समान १८ अंक रहे पनि दिल्ली नेट रन-रेटमा चेन्नाईसंग पछि रहँदै दोश्रो स्थानमा रहेको छ।

अब प्ले अफ अघिको अन्तिम खेलमा मुम्बईले आजको खेलमा कोलकातालाई पराजित गर्ने हो भने मुम्बई अंकतालिकाको शिर्ष स्थानमा पुग्नेछ। यदी कोलकाताले मुम्बईलाई पराजित गरेमा कोलकाता प्लेअफ प्रवेश गर्नेछ। कोलकाता र हैदराबादको समान १२ अंक रहेको छ र नेट-रन रेटमा हैदराबाद भन्दा पछि रहेको छ।

डुप्लेसिसको उत्कृस्ट ब्याटिंग 

पन्जाबको घरेलु मैदान मोहालीमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १७० रनको योगफल तयार गरेको थियो।

चेन्नाईको लागि ओपनर फाफ डु प्लेसिसले ९६ रनको इनिंग खेलेका थिए जुन क्रममा ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे। यस्तै सुरेश रैनाले ५३ रन ( ३८ बलमा ५ चौका र २ छक्का ) बनाए। रैना र डु प्लेसिसले दोश्रो विकेटको लागि १२० रनको साझेदारी गरे।

पन्जाब बलर स्याम करनले ३ विकेट ( ४-०-३५-३ ) तथा मोहम्मद शामीले २ विकेट ( ३-०-१७-२ ) लिए।

लोकेस राहुलको आक्रामक इनिंग 

१७१ रनको लक्ष्य पन्जाबले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

पहिलो विकेटको लागि ओपनर लोकेस राहुल र क्रिस गेलले १०८ रनको साझेदारी गर्दै पन्जाबको जितको आधार तयार गरे। राहुलले ३६ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ७१ रन तथा गेलले २८ बलमा २ चौका र २ छक्का मदतले २८ रन बनाए। निकोलस पुरनले ३६ रन ( २२ बलमा ३ छक्का र २ चौका ) बनाए।

चेन्नाई बलर हरभजन सिंहले ३ विकेट लिए पनि महँगो सावित हुने क्रममा ४ ओभरमा ५७ रन खर्चिए। लोकेस राहुलले हरभजनले गरेको चौथो ओभरमा ३ चौका र २ छक्का प्रहार गर्दै एकै ओभरमा २४ रन बटुलेका थिए। हरभजनले गरेको इनिंगको दोश्रो ओभरमा पनि राहुलले लगातार २ छक्का हिर्काएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy