डिफेन्डिङ च्याम्पियन मुम्बईलाई २० रनले पराजित गर्दै महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्स आईपीएल अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ।
लिगको युएईमा आइतबार सुरु भएको दोश्रो फेज अन्तर्गत पहिलो खेलमा चेन्नाईले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १३६ रन मात्र बनाउन सक्यो।मुम्बईको लागि सौरभ तिवारीले अविजित ५० रन बनाएता पनि जित दिलाउन सकेनन्।
लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको मुम्बईले पहिलो ४ विकेट ५८ रनको योगफलमा गुमाउन पुग्यो। क्विन्टन डीकक १७, डेब्यु गरेका अनमोलप्रित सिंह १६, सुर्यकुमार यादव ३ तथा इशान किशान ११ रन बनाएर आउट भए। पाँचौ नम्बरमा ब्याटिंग गरेका सौरभ तिवारीले त्यसपछि कप्तान काईरन पोलार्डसंग २९ रन जोडे। पोलार्ड १५ रन बनाएर आउट भए जसपछि क्रुनाल पान्ड्या पनि ४ रन बनाएर रन आउट हुन पुगे। सातौँ विकेटको लागि तिवारीले एडम मिल्नेसंग ४१ रनको साझेदारी गरेता पनि जितको लागि पर्याप्त रहेन।
जितको लागि अन्तिम २ ओभरमा ३९ रन आवस्यक हुँदा शार्दुल ठाकुरको ओभरमा १५ रन बनाए पछि मुम्बईलाई अन्तिम ओभरमा २४ रन आवस्यक थियो। तर ड्वेन ब्राभोले अन्तिम ओभरमा १५ रन बनाएका मिल्ने सहित २ विकेट लिंदै मात्र ३ रन खर्चिए पछि चेन्नाईले जित दर्ता गर्यो।
चेन्नाईको बलिंगमा ड्वेन ब्राभोले सर्वाधिक ३ ( ४-०-२५-३ ) तथा दिपक चाहरले २ विकेट ( ४-०-१९-२ ) लिए। जोश हेजलवुड र शार्दुल ठाकुरले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको चेन्नाईले २० ओभरमा ६ विकेट क्षेतीमा १५६ रन बनाएको थियो। उसको लागि ओपनर रुतुराज गायकवाडले करियरकै उत्कृस्ट प्रदर्शन गर्ने क्रममा अविजित ८८ रन बनाए जुन क्रममा ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।
अत्यन्त खराब सुरुवात गरेको चेन्नाईले पहिलो ४ विकेट २४ रनमै गुमाउन पुगेको थियो। फाफ डु प्लेसी र मोईन अलि खाता नखोली तथा सुरेश रैना ४ तथा कप्तान धोनी ३ रन बनाएर आउट भए। पाँचौ विकेटको लागि ओपनर रुतुराज गायकवाडले रभीन्द्र जडेजासंग ८१ रनको साझेदारी गर्दै इनिंग्स उकासे। जडेजा २६ रन बनाएर आउट भएपछि गायकवाडले ड्वेन ब्राभोसंग ३९ रन जडे। अन्तिम ओभरमा ब्राभो २३ रन बनाएर आउट भए जसले ८ बलमा ३ छक्का प्रहार गरे।
मुम्बईको बलिंगमा ट्रेन्ट बोल्ट ( ४-१-३५-२ ) , एडम मिल्ने ( ४-०-२१-२ ) र जस्प्रित बुम्राह ( ४-०-३३-२ ) ले समान २ विकेट लिए।
अंकतालिका र आगामी खेल : जित पछि चेन्नाईको ८ खेलमा ६ जित र २ हार पछि १२ अंक रहेको छ। समान अंक रहेको दिल्ली क्यापिटल्स नेट रन रेटमा पछि पर्दै दोश्रो स्थानमा छ। हार पछि मुम्बई ८ खेलमा ४ जित र ४ हार बेहोर्दै ८ अंक सहित चौंथो स्थानमा छ।

लिग अन्तर्गत सोमबार एक मात्र खेल हुनेछ। शेख जायद अबु धाबीमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन्। खेल ७:४५ बजे राति सुरु हुनेछ।
