काठमाडौँमा जारि चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत चितवन टाइगर्सलाई पराजित गर्दै भैरहवा ग्ल्याडीएटर्स अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। खेलमा नियमित कप्तान सोमपाल कामिले आराम गरेपछि स्थानमा दिलिप नाथले कप्तानी सम्हालेका थिए।
टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न खेलमा चितवनले दिएको १६५ रनको लक्ष्य भैरहवाले ४ विकेट क्षेतीमा १७.५ ओभरमै भेटायो।
भैरहवाको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत चुनिएका ओपनर प्रदिप ऐरीले सर्वाधिक ७२ रन बनाए जुन क्रममा ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर तामिम इक्बालले ३० बलमा ५ चौका र १ छक्का मद्दतले ४० तथा उपुल थारांगाले १९ बलमा ३ चौका र ३ छक्का मद्दतले अविजित ३९ रन बनाए। ऐरी र इक्बालले १०६ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे।
चितवनको बलिंगमा करिम जनतले २ विकेट ( ३-०-२३-२ ) तथा सागर ढकाल र भिम शार्कीले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग रोजेको चितवन टाइगर्सले २० ओभरमा ८ विकेट क्षेतीमा १६४ रन बनाएको थियो। काठमाडौँको लागि करिम जनतले सर्वाधिक ३५, मोहम्मद शहजादले ३२, सेक्कुगे प्रशन्नाले २४, राजेश पुलामीले १४ तथा दिलिप नाथले १३ रन बनाए। भैरहवाका बलर अविनाश बोहराले सर्वाधिक ३ विकेट ( ४-०-३८-३ ) लिए भने कुशल मल्लले २ ( ४-०-१५-२ ) तथा धम्मिका प्रशाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान १ विकेट लिए।
जितपछि भैरहवा लिग अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ जसले ४ खेल खेल्दा २ जित, १ टाई र १ नतिजाविहिन अंक हात परेको छ। हार पछि पनि चितवन ५ खेलमा ४ जित पछि ८ अंक सहित शिर्ष स्थानमा यथावत छ। चितवन शिर्ष-२ स्थानमा रहँदै पहिलो क्वालीफायर खेल्ने पक्का भैसकेको छ। आजको दोश्रो खेलमा पोखराले काठमाडौँ किंग्स-११ लाई पराजित गरे पोखरा दोश्रो स्थानमा उक्लनेछ।