चितवन टाइगर्सले आगामी संस्करणको एभरेष्ट प्रिमियर (ईपीएल)का लागि खेलाडी पाँच विदेशी खेलाडीसहित टोलीको घोषणा गरेको छ । असोज ९ गतेदेखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको तयारीमा रहेको चितवनले बिहीबार पत्रकार सम्मलेन गर्दै टोली सार्वजनिक गरेको हो ।
सोमपाल कामीको कप्तानीमा घोषित टोलीमा २० सदस्यीय टोलीमा श्रीलंकाका शेकुगे प्रसन्न, अफगान मोहम्मद सहजाद र करिम जनात, पाकिस्तानी ड्यानिस अजिज र मलेसियन भिरनदीप सिंह समावेश छन् । यस्तै नेपाली खेलाडीहरू कमलसिंह ऐरी, साहब आलम, इशान पाण्डे , ललितसिंह भण्डारी, दिलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अनसारी, भीम सार्की, खडकबहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल र गौतम केसी छन् ।
चितवनले मुख्य प्रशिक्षकमा सामसन जंग थापा घोषणा गरेको छ । चितवनलाई आसन्न ईपीएलको चौथो संस्करणका लागि प्रभु पेले मुख्य प्रायोजन गर्ने भएको छ । चौथो संस्करणको ईपीएलमा चितवनसँगै भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, काठमाडौं किङ्ग्स ११, विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्नेछन् ।
‘प्रभु पे’ चितवन टाइगर्सको प्रमुख प्रायोजक
एभरेष्ट प्रिमियर लिग (इपिएल)को फ्रेन्चाइज टिम चितवन टाइगर्सले प्रमुख प्रायोजक सार्वजनिक गरेको छ । असोज ९ गतेदेखि सुरु हुने चौथो संस्करणको इपिएलमा चितवन टाइगर्सको प्रमुख प्रायोजकमा ‘प्रभु पे’ रहने भएको छ ।
चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टकी प्रमुख कुसुम लामाले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरे । प्रभु पे मोबाइलबाट भुक्तानी गर्नका लागि इलेक्ट्रोनिक्स वालेटको रुपमा रहेको छ । यो विभिन्न सामान खरिद भुक्तानी गर्दा उपयोगी हुदैं आएको छ । एशोसियट पार्टनरको रुपमा सिल्क ग्रुप रहेको आयोजित कार्यक्रममा जानकारी दिइयो ।
यस्तै चितवन टाइगर्सको माउ संस्था आइडीएस ग्रुप र सिल्क ग्रुपले बुधबार संयुक्त रुपमा आइडीएस सिल्क स्पोर्टस प्राइभेट लिमिटेडको सुरुवात गरेको छ । आइडीएसका प्रमुख किशोर भट्टराई, सिल्क ग्रुपका प्रमुख रमेश शेर्पा र प्रभु म्यानेजमेन्टकी प्रमुख कुसुम लामाले आइडीएस सिल्क स्पोर्टस प्रा.लि.को सुरुवातका लागि संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
आइडीएस सिल्क स्पोर्टस एकेडेमीः एकेडेमी आइडीएस सिल्क ग्रुपको प्रमुख योजना हुनेछ । जसको उद्देश्य काठमाडौँ उपत्यका भित्र सुविधासम्पन्न एकेडेमी निर्माण गर्नु हुनेछ । एकेडेमीले युवा प्रतिभाको पहिचान गर्दै प्रमुख खेलाडी बनाउने प्रयास गर्ने आइडीएस सिल्क स्पोर्टस प्राइभेट लिमिटेडले जनाएको छ ।