डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

२०८१ फाल्गुन ५, सोमबार १८:५५

काठमाडौँ,

डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ।

सोमबार भक्तपुर स्थित सैनिक आवासीय महाविद्यालयमा सम्पन्न फाइनलमा डीएभि स्कुलले नेपाल पुलिस स्कुललाई ६० रनको ठूलो अन्तरले पराजित गर्दै उपाधि पहिलो पटक आफ्नो पक्षमा पारेको हो।

डीएभीले दिएको १५२ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस स्कुलले १७. ५ ओभरमा ९१ रनमा सबै विकेट गुमाउन पुग्यो। उसको लागि सुनिल ठाकुरले सर्वाधिक २० रन बनाए।

डीएभीको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित शशांक झाले २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै प्रसिद्ध जैसीले २ तथा तनिश कुमार शाहले १ विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको डीएभी स्कुलले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १५१ रन बनाएको थियो। उसको लागि फरहान अन्सारीले सर्वाधिक ३३ रन बनाए भने कमल शाहीले ३२ तथा विकेश कुमार जैसवालले २२ रन योगदान दिए।

डीएभीले सेमीफाइनलमा अक्षर स्कुललाई तथा नेपाल पुलिस क्लबले केएमसीलाई सेमीफाइनलमा पराजित गरेको थियो।

उपाधि सहित डीएभीले एक लाख रुपैयाँ हात पार्यो। उपविजेता नेपाल पुलिस स्कुलले ५० हजार रुपैयाँ हात पार्यो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी डीएभीका प्रसिद्ध जैसी घोषित भए।

सैनिक आवासीय महाविद्यालयले आयोजना गरेको प्रतियोगिता दश दिन सम्म चलेको थियो। प्रतियोगितामा उपत्यकाका कुल १२ वटा टिम सहभागी रहेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy