इक्वालिटि कप : मोरङ र सप्तरी फाइनलमा

मोरङ र सप्तरी इक्युवालिटि कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

ग्रासरुट तथा महिला सहभागिता अभिबृद्धिको लागि नेपाल क्रिकेट फाउण्डेशनले आयोजना गरेको चौथोँ संस्करणको ‘प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न खेलहरुमा मोरङ र सप्तरी विजयी भएसंगै फाइनल समेत प्रवेश गरेका हुन्। दुवै टिमले लगातार दोश्रो जित दर्ता गर्दै एक खेल अगावै फाइनलमा स्थान पक्का गरेका हुन्।

विराटनगर-६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा आज सम्पन्न पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको मोरङले इलामलाई ९ विकेटले सहजै पराजित गरेको हो। इलामले दिएको ६३ रनको लक्ष्य मोरङले ५. ५ ओभरमा १ विकेट गुमाएर भेटायो।

मोरङको जितमा ब्याटिंगतर्फ पुर्णिमा राजवंशीले सर्वाधिक ३२ रन योगदान दिईन् जुन क्रममा २७ बलमा ६ चौका प्रहार गरिन्। सानु राजवंशीले १० तथा टिका शाहले अविजित ६ रन बनाईन्। मोरङको बलिंगतर्फ सानु राजवंशी, चाँदनी शाह, फूलकुमारी राजवंशी र बन्दना राजवंशीले समान २ विकेट हात पारिन्। निरु राजवंशी र टिका शाहले समान १ विकेट लिए।

इलामका कुनै पनि ब्याटरले दोहोरो अंकममा रन जोड्न सकेनन्। उसको लागि दिपा लुम्बिनीले सर्वाधिक ९ रन तथा टिकामाया तामांगले ७ रन योगदान दिंदा मोरङले दिएको ४१ अतिरिक्त रन योगफलमा सर्वाधिक योगदान रह्यो। अलराउण्ड योगदान गरेकी मोरङकि पुर्णिमा राजवंशी प्लेयर अफ द म्याच घोषित भईन्।

प्लेयर अफ द म्याच पुर्णिमा राजवंशी

आजको दोश्रो खेलमा सप्तरीले सिरहालाई ८ रनले पराजित गर्यो। १०३ रनको लक्ष्य पछ्याएको सिरहाले निर्धारित २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा ९४ रन मात्र बनाउन सक्यो।

सिरहाको लागि अनुराधा चौधरीले सर्वाधिक १९, सरस्वति मुखियाले अविजित १३ तथा प्रसिधिका खड्काले अविजित ११ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन। सप्तरीको बलिंगमा अपेक्षा यादवले सर्वाधिक ४ विकेट हात पारिन्। यस्तै साक्षी यादव र सुस्मिता यादवले समान २ विकेट लिईन्।

यस अघि पहिले ब्याटिंग गरेको सप्तरीले २० ओभरमा ९ विकेट गुमाएर १०२ रन बनाएको थियो। उसको लागि प्लेयर अफ द म्याच समेत घोषित साक्षी यादवले अर्धशतकीय योगदान दिने क्रममा ५४ बलमा ६ चौका मद्दतले ५७ रन योगदान दिईन्। साक्षीले अघिल्लो खेलमा पनि अर्धशतक बनाएकी थिईन्। यस्तै अपेक्षा यादवले ११ रन बनाईन्। सिरहाको बलिंगमा अनुराधा चौधरीले ४ तथा सरस्वति चौधरीले ३ विकेट हात पारिन्।

प्लेयर अफ द म्याच साक्षी यादव

प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा सप्तरीले इलामलाई ८ विकेटले तथा मोरङले सिरहालाई ७ विकेटले पराजित गरेको थियो।

बुधबार पनि प्रतियोगिता अन्तर्गत दुई खेल आयोजना हुनेछन्। पहिलो खेल सिरहा र इलाम बीच बिच ९ बजे तथा दोश्रो खेल सप्तरी र मोरङ बीच दिउँसो १ बजे हुनेछ। फाइनल खेल बिहिबार सप्तरी र मोरङ बीच हुनेछ।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिता मेरीलेबोन क्रिकेट क्लब फाउन्डेसन र क्रिकेट विदाउट बाउन्ड्रीजको सहयोग रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy