- विकेटनेपाल, बैशाख २१ , शनिवार
इन्डियन प्रिमियर लिग अन्तर्गत आफ्नो लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ।
जितसंगै दिल्ली आईपीएल अंकतालिकाको दोश्रो स्थानमा रहेको छ। १४ खेल खेल्दा दिल्लीले ९ खेलमा जित र ५ खेलमा हार बेहोर्दै १८ अंक बटुल्न सफल रह्यो। प्ले-अफ सम्भावना सकिएको राजस्थान अंकतालिकामा छैठौं स्थानमा ११ अंक सहित रहेको छ।
शिर्ष स्थानमा रहेको चेन्नाईको १३ खेलमा ९ जित र ४ हार सहित १८ अंक रहेको छ भने तेश्रो स्थानमा रहेको मुम्बईको १६ अंक रहेको छ। चेन्नाई, दिल्ली र मुम्बईले प्ले-अफ चरणमा स्थान बनाईसकेका छन् भने एक टिमको टुंगो लाग्न बाँकी छ।
अमित मिश्रा चम्किदा राजस्थानको कमजोर ब्याटिंग
घरेलु मैदान फिरोज शाह कोटला मैदानमा टस जितेर ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो।
दिल्लीको लागि लेग स्पिनर अमित मिश्रा ( ४-०-१७-३ ) र इशान्त शर्मा ( ४-०-३८-३ ) ले ३/३ विकेट तथा ट्रेन्ट बोल्ट ( ४-०-२७-२ ) ले २ विकेट लिए। राजस्थानको लागि रियान पराग अर्धशतक बनाउनु बाहेक अन्य ब्याट्सम्यानले ठुलो योगदान दिन सकेनन्। परागले ४९ बलमा ४ चौका र २ छक्का मदतले ५० रन बनाए।
निर्धारित लक्ष्य दिल्लीले १६.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। रिशभ पन्तले अविजित ५३ रन बनाए पछि दिल्लीको जित सहज बन्यो। पन्तले ३८ बलमा ५ छक्का र २ चौका प्रहार गरे। शिखर धवनले १६, श्रेयस ऐयरले १५ रन बनाए।
राजस्थान बलर इश सोढ़ीले ३ तथा श्रेयस गोपालले २ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच अमित मिश्रा चुनिए। खेलमा दिल्लीले सन्दिप लामिछानेलाई अन्तिम-११ मा समावेस गरेन।