डिसीए पहिलो खेलमा पराजित : मुम्बई टुर

  • मुम्बई, ६ कार्तिक ।

मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) को १७ वर्षमुनीको टोली मंगलवार आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ।
स्थानीय स्टार सीसी क्लबले डीसीएलाई नौ विकेटले पराजित गरेको हो।

मुम्बईकोआजाद मैदानमा टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको डीसीएले ४० ओभरको खेलमा ३६ ओभरमा अलआउट हुँदै एक सय पाँच रन बनाएको थियो ।

डीसीएका लागि रोहन विकले सर्वाधिक ३५ रन बनाए। कप्तान सुवोध ऐरले १६, सक्षम पार्कीले १५ सन्दिप आउजीले ८ रनको योगदान गरे। त्यस्तै, किरन नाथले ३ र निशान पन्तले १ रन जोडे। डीसीएका चार जना खेलाडी खाता नखोल्दै पवेलियन फर्केका थिए।

डीसीएलाई धेरै रन बनाउनबाट रोक्ने क्रममा स्टार सीसीका लेग स्पीनर लक्षले सर्वाधिक पाँच विकेट लिए। त्यस्तै, सुभम र अङ्कितले दुई/दुई विकेट हात पारे।

एक सय ६ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको स्टार सीसीले १० दशमलव ३ ओभरमा एक विकेट गुमाएर सजिलै लक्ष्य पूरा गर्यो। उसको जितमा प्राम्भिक ब्याट्सम्यान तस्यमले अर्धशतक पूरा गर्दै अविजित ५८ रन बनाए। अर्का ओपनर रोहित काम्लीले ३० र तेस्रो नम्बरमा ब्याटिङ्ग गरेका मयुरेशले नटआउट ८ रनको योगदान दिए।

बलिङ्ग गर्दै सोनु मण्डलले डीसीएलाई एक विकेटको सफलता दिलाए। दुई ओभर बलिङ्ग गरेका उनले मात्र १३ रन खर्चे। तीन ओभर बलिङ्ग गर्दै निशान पन्तले सर्वाधिक ३३ रन खर्चे पनि कुनै विकेट हात पार्न सकेनन्। त्यस्तै, ३० रन खर्चेका कुश मल्ल र १७ रन खर्चेका विनोद विष्ट पनि विकेटबिहीन बने। तीन बल फालेका राजन लोहनीले १० रन खर्चे।

प्रतिद्वन्दी राम्रो र बलियो रहेकाले डीसीएका खेलाडीहरुले राम्रो सिक्ने अवसर पाएको प्रशिक्षक दीपेन्द्र चौधरीले बताए। ‘यसबाट हामीले अरु खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छौं’ उनले भने।

१० दिनसम्मको लागि मुम्बई टुरमा आएको डीसीए टोलीले यहाँको विभिन्न क्लबसंग अझै ६ वटा एकदिवसीय खेल खेल्नेछ। नियमित प्रशिक्षण गरिरहेका खेलाडीहरुलाई थप ‘एक्सपोजर’ दिनका लागि मुम्बई टुरमा ल्याएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताए। ‘यसले हाम्रो खेलाडीहरुमा निखारपना आउनेछ’, उनले भने।

फोटो : अविनाश चौधरी

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy