फागुन ५ मा दाङ क्रिकेट लिगको अक्सन, राष्ट्रिय क्रिकेटरहरुको बाक्लो उपस्थिति

छबि पुरी, घोराही, ३ फागुन ।

अबको ११ दिनपछि दाङमा हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग सिजन–२ मा अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सकेका चर्चित खेलाडीहरुको बाक्लो उपस्थिती हुने देखिएको छ ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि दाङमा हुन लागेको प्रतियोगिताका लागि खोलिएको रजिष्ट्रेशनमा २ सय जना खेलाडीले फाराम भरेको आयोजकले जनाएको छ ।

अक्सनका लागि आह्वान गरिएको रजिष्ट्रेशन आवेदनमा फाराम भर्नेमा अहिलेको राष्ट्रिय टीममा रहेकादेखि १९ वर्ष मुनिको टीमबाट खेलीरहेका खेलाडीहरु उल्लेख्य रुपमा रहेका दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, राष्ट्रिय क्रिकेटको सिनियर टीमबाट अहिले उत्कृष्ट प्रदर्शन गरीरहनुभएका मधेश प्रदेशका अनिलकुृमार साहदेखि १९ वर्षमुनिको उमेर समुहबाट हालै विश्वकपमा सनसनीपूर्ण खेल पस्कनुभएका आकाश चन्दलगायत खेलाडीले दाङ क्रिकेट लिग सिजन–२ खेल्न फाराम भरेका छन् ।

फागुन १ गतेसम्म खल्ती एपमार्फत अनलाईन रजिष्ट्रेशनको समय तोकिएकोमा उमेर समुहदेखि सिनियर टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलीसकेका १ सय ३ जना खेलाडीले दाङ क्रिकेट लिग सिजन–२ का लागि आवेदन भरेका छन् । आयोजकले दिएको जानकारी अनुसार, राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका १ सय ३ जना, दाङबाट सिनियर समुहमा ५२ जना, १९ वर्ष मुनिको १९ जना, १६ वर्ष मुनिको २१ जनाले आवेदन भरेका छन् ।

‘पहिलो सिजनको भन्दा यो पटकको प्रतियोगिता थप रोचक र पृथक बन्ने देखिएको छ । उमेर समुहदेखि सिनियर टोलीबाट समेत अन्तर्राष्ट्रिय क्रिकेट खेलीसकेका एक सय बढी खेलाडीले आवेदन दिएका छन् । दाङमा क्रिकेटको माहोल र खेलको स्तर उकास्न ठूलो अवसर हुने देखिएको छ’, दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष मजगैयाले भन्नुभयो ‘अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका अनुभवी खेलाडीहरुसँग यहाँका खेलाडीले खेल्ने अवसर सिर्जना हुँदैछ । यो सामान्य रुपमा लिन मिल्दैन । खेलाडीका लागि यो निकै ठूलो अवसर हो ।’

प्रतियोगिताको मिति नजिकिँदै जाँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका र हाल खेलिरहेका खेलाडीहरुको उपस्थिती दाङ क्रिकेट लिगमा हुने भएपछि आयोजक निकै उत्साहित बनेको छ ।

दाङ क्रिकेट लिग–२ खेल्नका लागि राष्ट्रिय क्रिकेट टीममा उत्कृष्ट पुनरागमन गर्दै क्यानडा विरुद्धको बाईल्याटरल सिरिजमा अविजित सतक प्रहार गर्नुभएका अनिलकुमार साह, राष्ट्रिय टीममा रहनुभएका खेलाडीहरु अर्जुन साउद, बसिर अहमद, साहब आलम, प्रतिश जिसी, हेमन्त धामी, मौसम ढकाल, लोकेश बम, कृष्ण कार्की, शंकर राना, रामनरेश गिरी, अमरसिंश रौटेला, नारायण जोशीलगायत रहेका छन् । यसैगरी, १९ वर्ष मुनिको कप्तानी सम्हालि सक्नुभएका राजु रिजाल, भुवन कार्कीले प्रतियोगिता खेल्न आवेदन भर्नुभएको छ ।

यसैगरी, हालै सम्पन्न १९ वर्षमुनिको विश्वकप खेलमा सनसनीपूर्ण खेल पस्कनुभएका आकाश चन्द, आकाश त्रिपाठी, विकेट किपर, ब्याटर विपिन रावललगायत चर्चित अनुहारले पनि दाङ क्रिकेट लिग–२ खेल्न आवेदन दिएका प्रतियोगिता संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, प्रतियोगिताका लागि लुम्बिनी प्रदेश क्रिकेट टीम कप्तान सुशान्तसिंह थापा, वाग्मती प्रदेश क्रिकेट कप्तान रित गौतम, गण्डकी प्रदेश क्रिकेट कप्तान विपिन खत्रीलगायत अघिल्लो संस्करण खेलेका अधिकांश खेलाडीले अक्सनका लागि आवेदन भरेका छन् ।

प्रतियोगिता निर्देशक विशेष अधिकारीले दाङ क्रिकेट लिगका लागि अपेक्षा अनुसार नै खेलाडीबाट रजिष्ट्रेशन भएको बताउनुभयो । स्थानीय खेलाडीलाई प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेली सकेका खेलाडीसँग खेल्ने वातावरण बनाउनुका साथै क्रिकेटको व्यावसायिक विकासका लागि थालिएको प्रयासमा सरोकार क्षेत्रको चासो बढ्दै गएको बताउनुभयो ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोली रहेका छन् ।

यी पाँच वटा फ्रेन्चाईज क्लबले अनलाईन रजिष्ट्रेशन भरेका खेलाडीहरुलाई प्रतियोगिताको मापदण्डमा रही अक्सनका आधारमा खरीदबिक्री गर्नेछन् । खेलाडी अक्सन फागुन ५ गते हस्पिटालिटी पार्टनर रहेको भिंग्रेली भिलेज रिसोर्टमा हुने भएको छ ।

प्रत्येक टीम मालिकहरुले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन भने राष्ट्रिय तथा अन्तरास्ट्रिय खेल खेलिसकेका एक/एक जना मार्की र टिम कप्तानका रुपमा टिम मालिकहरुले आफै छनोट गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरुलाई खेलाडी खरिद गर्न न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने मापदण्ड तोकेको छ ।

लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश÷दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको छ ।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]