डेब्युमै बिक्रमको ठूलो कीर्तिमान

राष्ट्रिय क्रिकेट टिमको लागि पपुवा न्यु गिनी बिरुद्ध आज एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दायाँ हाते फास्ट बलर बिक्रम सोबले डेब्युमै ठूलो कीर्तिमान बनाएका छन्।

६ वर्ष पछि राष्ट्रिय टिममा पुनरागमन गरेका सोबले डेब्यु गर्ने क्रममा पहिलो बलमै विकेट लिएका हुन्। इनिंग्सको दोश्रो ओभरमा बलिंग पाएका सोबले पहिलो बलमै १ रन बनाएका पपुवा न्यु गिनीका ओपनर टोनी उरालाई बोल्ड गरेका थिए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेलको पहिलो बलमै विकेट लिने सोब नेपालको पहिलो खेलाडी बनेका छन्। विश्वमै यस्तो दुर्लभ किर्तिमान बनाउने सोब २८ औ क्रिकेटर बनेका छन्। त्यस मध्ये ८ जना खेलाडीले बोल्ड गर्दै उक्त विकेट लिएका थिए। पछिल्लो पटक दक्षीण अफ्रीकाका बलर लिजाड विलियम्सले यसै वर्ष आयरल्याण्ड बिरुद्ध एकदिवसिय अन्तर्राष्ट्रिय डेब्युमा एन्डी म्याकब्रायनको विकेट लिएका थिए।

टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्युको पहिलो बलमै विकेट लिने रेकर्ड पारस खड्काको नाममा पनि रहेको छ। २०१४ को टि-२० विश्वकपमा पारसले हंगकंग बिरुद्ध डेब्यु गर्ने क्रममा पहिलो बलमै इरफान एहमदलाई विकेटकिपर सुबास खकुरेलबाट क्याच आउट गराएका थिए। इनिंग्सको पहिलो बलमै पारसले उक्त विकेट लिएका थिए।

नेपाली राष्ट्रिय टिममा लामो अन्तरलमा पुनरागमन गरेका बिक्रम सोबले यो वर्ष प्रधानमन्त्री कप र काठमाडौँ मेयर्स कपमा गरेको बलिंगबाट प्रशिक्षक डेभ व्हाटमोर प्रभावित भएका थिए। सोब अन्तिम पटक नेपाली टिमसंग २०१६ को विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड भ्रमणमा नेपाली टिममा थिए। तर उनले त्यसबेला अन्तिम-११ मा भने मौका पाएका थिएनन्। सोबले २०१५ नोभेम्बर मा नेपालले युएई भ्रमण गर्दा हंगकंगसंग खेलिएको दुई दिवसीय खेलमा नेपालको लागि डेब्यु गरेका थिए। त्यसै भ्रमणमा ओमन बिरुद्ध एकदिवसीयमा उनले डेब्यु गरेका थिए। त्यसपछि भने उनि राष्ट्रिय टिममा स्थान बनाउन असफल रहँदै आएका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy