लगातार तेश्रो सिजन दिल्ली क्यापीटल्सको लागि आईपीएल टि-२० खेल्ने क्रममा रहेका नेपाली स्पिनर सन्दिप लामिछाने बारे दिल्लीले गर्ने सोसल मिडिया पोस्ट कुनै नौलो कुरा हैन। दिल्लीले सन्दिपलाई प्रत्येक सिजन बढीनै महत्व दिएर सामाजिक संजालको हिस्सा बनाउने गरेको छ। सन्दिप सिपिएल टि-२० खेलेर युएई पुगेपछि स्वागत पोस्ट होस् या त्यसपछि विशेष अन्तर्वार्ता, सन्दिपको लागि विशेष क्याप्सन सहित दिल्लीले अभ्यास लगायतको फोटो र भिडियो सार्वजनिक गरिनै रहेको छ। नेपाललाईनै लक्षित गरेर दिल्लीले सन्दिपको फोटो राखेर टिमले नियमित बिज्ञापन समेत गर्नेगर्छ। टिमको फेसबुक पेजमा सन्दिप युएई पुगेपछि ४ वटा फोटो र २ वटा भिडियो राखिएको छ।
https://www.facebook.com/DelhiCapitalsOfficial/posts/3476462432375233
दिल्लीले त्यसैलाई निरन्तरता दिने क्रममा आफ्नो सोसल मिडियामा सन्दिपको अर्को फोटो राखेको छ। सन्दिप र टिमका अर्का भेट्रान लेग स्पिनर अमित मिश्रासंगको फोटो राख्दै उक्त पोस्टमा लेखिएको छ –
“एक किनारबाट लेग ब्रेक, अर्कोतर्फ गुगली। अनुमान गर्नुस त सन्दिप र अमित मिश्रा संगै बलिंग गरेको।”
कमेन्टमा फ्यानहरुको असन्तुष्टि
दिल्लीको पोस्टलाई फ्यानहरुले बिभिन्न अर्थमा लिएका छन्। केहिले पोस्टलाई दिल्लीले सन्दिपलाई माध्यम बनाएर टिमको मार्केटिङको प्रयोग गरेको रुपमा लिएका छन्। कतिले त कल्पनामा मात्रै यस्तो हुन्छ भन्दै व्यंग्यात्मक कमेन्ट गरेका छन्। अधिकांशले सन्दिप नखेलेकोमा असन्तुष्टि पोखेका छन्।
एक नेपाली फ्यानले कमेन्टमा लेखेका छन् – “यो पढेर म निकै खुसि थिए तर त्यो ( कल्पना ) भन्ने शब्दले मलाई तहसनहस पार्यो” कमेन्टलाई धेरैले रुचाएका छन्। अर्को फ्यानले “सन्दिपलाई टिमले फेरी प्रयोग गर्यो” भनेर लेखेका छन्।
अर्को फ्यानले मिश्रा भन्दा सन्दिप राम्रो भन्दै लेखेका छन् – “कल्पनामा मात्र, सन्दिप मिश्रा भन्दा निकै राम्रो छन्। अफगानिस्तानबाट माया। यति भनेपछि खेलाउला नि।” उनको कमेन्टलाई धेरैले रुचाएका छन्।
एक अर्को फ्यानले पनि लाइक बटुल्न मात्रै सन्दिपको फोटो राखिएको लेखेका छन् “यो दिल्लीले सन्दिपको फोटो हाल्दै लाईक बटुल्ने काम गरेको छ, खेलाउनु छैन।” अर्को फ्यानले लेखेका छन् – “कल्पना मात्र गर्ने ?”
एक फ्यानले त दिल्लीको हारको कामना समेत गरेका छन् – “भोलि पनि सन्दिपलाई बेन्चमा बसाउ , दिल्लीले कुनै म्याच नजितोस्। यदी सन्दिपलाई खेलाएको खण्डमा सबै खेल जितोस्” उस्तै कमेन्ट अर्को पनि छ “खेलाउने हैन बिचार, हाम्रो दाइको अनुहार बेचेर पेज चलाउदै छन्।”
एक फ्यानले त दिल्लीलाई व्यंग्य गर्दै मिमि बनाएर कमेन्ट गरेका छन् जसमा सन्दिपलाई अन्तिम-११ मा मौका नदिएकोमा व्यंग्य गरिएको छ।
फ्यानहरुको असन्तुष्टिको कारण
अधिकांश फ्यानहरुले कमेन्टमा सन्दिप नखेल्दाको असन्तुष्टि पोखेका छन्। यो असन्तुष्टि नयाँ भने हैन। त्यसपछाडीको कारण लिगमा सन्दिपको इतिहास हो। २०१८ मा पहिलो सिजन दिल्लीले अन्तिम ३ खेलमा मात्र मौका दिंदा त्यस अघि ११ खेलमा सन्दिपको डेब्युको प्रतीक्षा नेपाली फ्यानहरुले गर्नुपरेको थियो। त्यसपछि दोश्रो सिजनमा २०१९ मा पनि अवस्था फरक रहेन। सन्दिपले ६ खेलमा मौका पाए तर अन्य १० खेलमा बेन्चमा बस्नु पर्यो। सिपिएल टि-२० मा राम्रो प्रदर्शन गर्दै तेश्रो सिजन आईपीएल खेल्न पुगेका सन्दिपलाई पहिलो खेलमा दिल्लीले नखेलाएपछि पुनः नेपाली फ्यानहरुमा सन्दिपलाई दिल्लीले पुरानै तरिकाले अधिकांश खेलमा बाहिर राख्ने होकी भन्ने आशंका रहेको छ।
किन पाउदैनन् सन्दिपले मौका
कम खेलमा मौका पाए पनि सन्दिपको लिगमा प्रदर्शन भने राम्रो रहेको छ। पहिलो सिजनमा ३ खेलमा ५ विकेट तथा दोश्रो सिजन ६ खेलमा ८ विकेट सहित ९ खेलमा उनले कुल १३ विकेट लिएका छन्। यस क्रममा उनले सुरेश रैना, पर्थिभ पटेल, काइरन पोलार्ड, स्याम करन, मोइन अलि, क्रिस गेल , केएल राहुल जस्ता ब्याट्सम्यानको विकेट लिएका छन्।
विश्व क्रिकेटका अन्य लिगमा अन्तिम-११ मा पहिलो रोजाइमा पर्ने सन्दिप आईपीएलमा भने दिल्लीको पहिलो रोजाइमा पर्ने गरेका छैनन्। पहिलो सिजनमा अनुभवहिन रहेता पनि दोश्रो सिजन खेल्दा सन्दिपले विश्वभरका ठूला टि-२० लिग खेलीसकेका थिए। तर पनि दोश्रो सिजनमा उनले अन्तिम-११ मा पर्न संघर्ष गर्नुपर्यो। भर्खरै सम्पन्न सिपिएल टि-२० मा सन्दिपले सबै खेलमा मौका पाएका थिए र सबै खेलमा पुरा ४ ओभर बलिंग गरेका थिए। आईपीएल पछि दोश्रो ठूलो लिग अस्ट्रेलियाको बिग ब्यासमा पनि मेलबर्न स्टार्सको लागि सन्दिप मुख्य बलरको रुपमा खेल्ने गर्छन्।
दिल्लीबाट सन्दिपले मौका नपाउनुको प्रमुख कारण टिममा ठूला भारतीय स्पिनर हुनु हो। पहिलो सिजन खेल्दा देखि लेग स्पिनर मिश्रा टिममा छन्। दोश्रो सिजन दिल्लीले अर्का भारतीय स्पिनर अक्षर पटेललाई टिममा भित्र्यायो। अघिल्लो २ सिजन अर्का भारतीय लेग स्पिनर राहुल तेवतिया पनि टिममा थिए। यो सिजन तेवतिया नरहे पनि चर्चित भारतीय अफ स्पिनर रभीचन्द्रन आश्विनलाई भित्र्यायो। ठूला भारतीय स्पिनरलाई मौका दिंदै टिमले विदेशी खेलाडीको कोटामा अन्य खेलाडीलाई टिमले मौका दिने गरेको छ।
https://www.facebook.com/DelhiCapitalsOfficial/posts/3472877866067023
स्पिन मद्दत गर्ने पिचमा तथा २ भन्दा बढी स्पिनर खेलाउने परिस्थितिमा सन्दिपलाई दिल्लीले बढी मौका दिने गरेको छ। यो सिजन पनि पिचले सुरुवाती चरणमा फास्ट बलरलाई बढी मद्दत गरिरहंदा सन्दिपले मौका पाउनेमा शंका रहेको छ। सिजनको पहिलो खेलमा दिल्लीले २ जना विदेशी फास्ट बलर कागीसो रबाडा र एनरिक नोर्कियालाई खेलाएको थियो। मार्कस स्टोइनिस पनि फास्ट बलर हुन्। ब्याट्सम्यानको रुपमा शिमरन हेटमायर खेलेका थिए।
अन्तिम-११ मा भारतीय स्पिनर रभीचन्द्रन चन्द्रन आश्विनको स्थान पक्का हुँदा सन्दिपको मुस्किल बढेको हो। त्यसमाथि टिममा लिग इतिहासकै सर्वाधिक सफल लेग स्पिनर अमित मिश्रा हुँदा दिल्लीलाई प्रतिस्थापनको चिन्ता छैन। अर्को भारतीय देब्रे हाते स्पिन अलराउण्डर अक्षर पटेल पनि दिल्लीको रोजाईमा पर्ने गरेका छन्। अक्षर राम्रो ब्याटिंग पनि गर्न सक्ने हुँदा उनलाई समाबेश गर्दा टिमको ब्याटिंग गहिराइ बढ्ने गर्छ।
विदेशी खेलाडी ४ जना मात्रै राख्न पाउने हुनाले सन्दिप खेल्नको लागि विदेशी फास्ट बलरले कम मौका पाउनु पर्नेछ। शिमरन हेटमायर र मार्कस स्टोइनिस टिममा पक्का हुँदा सन्दिप खेल्न १ जना विदेशी फास्ट बलरले मात्र मौका पाउनु पर्छ। त्यसको लागि पहिलो खेलमा घाइते भएका इशान्त शर्मा टिममा आउने हो भने सन्दिपको सम्भावना बढ्नेछ। दोश्रो खेलमा पनि इशान्त खेल्ने नखेल्ने पक्का छैन। उनि ढाडको समस्याले पहिलो खेल नखेलेका हुन् र अझै पूर्णत निको भएका छैनन्। इशान्त फास्ट बलरको रुपमा खेलेको खण्डमा दिल्लीले पहिलो खेलमा मौका पाएका एनरिक नोर्कियालाई बाहिर राखेर अथवा १ जना मात्र विदेशी फास्ट बलरलाई राखेर सन्दिपलाई मौका दिन सक्छ।
सन्दिपले क्षमता नभएर भन्दा पनि टिमको कम्बीनेसन र अन्य बिकल्प उपलब्ध हुँदा मौका नपाएका हुन्। अन्य टिममा भएको भए सन्दिपले सहजै मौका पाउनसक्ने थिए। जारि सिजनमै बिभिन्न टिमहरुले युवा लेग स्पिनरहरुलाई अन्तिम-११ मा मौका दिएका छन् र राम्रो प्रदर्शन पनि गरिरहेका छन्। पन्जाबले बैंगलोर बिरुद्ध रभी बिस्नोइलाई मौका दिएको थियो। दिल्लीबाटै यो सिजन राजस्थान पुगेका राहुल तेवतियाले समेत मौका पाएका छन्। मुम्बईमा युवा लेग स्पिनर राहुल चाहरले मौका पाइरहेका छन्। सन्दिप अन्य टिममा भएको भए सहजै पहिलो रोजाइमा पर्ने थिए।
यो सिजन सन्दिपको दिल्लीसंगको ३ वर्षे अनुवन्ध सकिनेछ जसपछि सन्दिप पुनः अक्सनमा जानेछन्। अक्सनमा यस अघि पाएको २० लाख भारतीय रुपैयाँ भन्दा निकै महँगो मूल्यमा सन्दिप अर्को टिममा जाने सम्भावना रहेको छ। त्यसपछि भने सन्दिपलाई अन्तिम-११ मा पर्न मुस्किल नहोला।
IPL : पहिलो खेलमा सन्दिपले मौका नपाउनुको ३ कारण
सन्दिपलाई भारतीय टिममा छनौट गर्ने गावस्करको चाहना
३ पूर्व भारतीय क्रिकेटरुको रोजाइमा सन्दिप दिल्लीको अन्तिम-११ मा
यो पनि पढ्नुस :-
IPL : बैंगलोरलाई विशाल अन्तरले पराजित गर्दै, राहुल प्रेरित पन्जाब शिर्षमा
IPL : केएल राहुलले बनाए ४ ठूलो कीर्तिमान , तोडे सचिनको ८ वर्ष पुरानो रेकर्ड
चेन्नाईसंग आश्विन खेल्ने अनिश्चित, प्रशिक्षक कैफले बताए आश्विनको स्थान कसले लिनेछन्