नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान देव खनालले नेपाललाई विश्वकपमा छनोट गरेर ल्याउने सपना भएको बताएका छन् ।
नेपाल लामो समयसम्म पनि विश्वकप छनोट नभएका हुँदा यो पटक टिमको सम्भावना भएको बताए ।
नेपाल आर्यसीसी यु–१९ विश्वकप एसिया क्षेत्र डिभिजन १ को छनोटका लागि युएई गएको छ । नेपाली टोलीको कप्तानी देव खनालले गर्नेछन् । त्यस्तै नेपालले जगत टमाटाको प्रशिक्षकत्वमा खेल्नेछ ।
खनालले भने, ‘यस पटक नेपालको विश्वकपमा छनोट हुने राम्रो सम्भावना छ । नेपाललाई यो सफलता दिलाउन सके मलाई पनि राष्ट्रिय टोलीमा आउने वातावरण खुल्नेछ । हाम्रो टिम अहिले सन्तुलित छ ।’
उनले नेपाली यु–१९ टोलीको कप्तानको जिम्मेवारी पाउँदा आफूलाई धेरै खुसी लागेको बताए । उक्त जिम्मेवारीलाई आफूले पूर्णतया राम्रो तरिकाले निभाउने कुरामा पनि विश्वस्त भएको बताए ।
उनले भने, ‘टिमको महत्त्वपूर्ण जिम्मेवारी पाउँदा धेरै खुसी लागेको छ । यो जिम्मेवारीलाई म कुशलताका साथ निभाउनेछु । टिमको जिम्मेवारी नै मेरो हो ।’
नेपालले यस प्रतियोगिताको उपाधि जित्न सकेमा २०२४ मा श्रीलंकमा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ ।
प्रतियोगितामा नेपाल सहित कुवेत, मलेसिया, युएई, हंगकंग र सिंगापुर प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको विजेता टिम २०२४ मा श्रीलंकामा आयोजना हुने यु-१९ विश्वकप खेल्न छनोट हुनेछ। सन् २०१६ पछि नेपाल यु-१९ विश्वकपमा छनोट हुन सकेको छैन।
तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी २४ तारिखमा सिंगापुरसंग खेल्नेछ। दोश्रो खेल फेब्रुअरी २५ मा कुवेतसंग, तेश्रो खेलमा फेब्रुअरी २७ मा हंगकंगसंग, चौंथो खेल फेब्रुअरी २८ तारिखमा मलेसियासंग तथा पाँचौ खेल मार्च २ तारिखमा युएईसंग खेल्ने तालिका छ। खेलहरु अजमान स्थित मलेक ग्राउण्ड र इडन गार्डेनमा खेलिनेछ।
प्रतियोगितामा सहभागी सबै टिमले एक अर्का विरुद्ध एक/एक खेल खेलेपछि अंकतालिकाको शिर्षमा हुने एक टिम यु-१९ विश्वकप खेल्न छनोट हुनेछ।
नेपाल क्रिकेट संघ ( क्यान ) ले प्रतियोगिताको लागि १४ सदस्यीय टिमको घोषणा गरिसकेको छ।
नेपाली टिम : देव खनाल ( कप्तान ) आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा ( क ) , दिपक बोहरा ( ख ) , उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा, आकाश चन्द
