धमलाको आक्रामक अर्धशतक मदतले पुलिस फाइनलमा : आरपीएल टि-२०

२०७५ आश्विन २२, सोमबार २२:२८

( फिचर फोटो – फाइल )

  • विकेटनेपाल, असोज २२ 

सुनिल धमलाले आक्रामक अर्धशतकीय पारि खेलेपछि रौतहटमा जारि रौतहट प्रिमियर लिग ( आरपीएल ) टि-२० अन्तर्गत सोमबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लबले मलपोखरी क्रिकेट क्लबलाई ७६ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।

नेपाल पुलिस क्लबलाई फाइनलमा पुर्याउनको लागि ओपनर ब्याट्सम्यान धमलाले ७८ रनको पारि खेल्नेक्रममा ५५ बलमा १० चौका र ३ छक्का प्रहार गरे। म्यान अफ द म्याच समेत घोषित उनले बलिंगतर्फ पनि २ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चे।

टस जितेर पहिले ब्याटिंग गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रनको योगफल तयार पारेको थियो। उसका लागि कप्तान मन्जीत श्रेष्ठले आक्रामक २८ रन बनाउने क्रममा १४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै कुशल भुर्तेलले १६ रन (८ बल), दिलिप नाथले १३ रन (२५ बल), अमित श्रेष्ठले १० रन (१५ बल) बनाए। सिद्धान्त लोहनी २ बलको सामना गर्दै १ रनमा आउट भए।

बलिंगतर्फ मालपोखरी क्रिकेट क्लबका कमल ओलीले ४ विकेट लिनेक्रममा ३५ रन लिएका थिए भने भोजराज भट्ट र सोहन यादवको नाममा १/१ विकेट रह्यो।

Sunil Dhamala
Sunil Dhamala ( File Photo )

जवाफमा १६१ रनको लक्ष्य पछ्याएको मालपोखरी क्रिकेट क्लबले १८.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८४ रन बनाउन सक्यो। उसलाई सास्तैमा समेट्न पुलिसका प्रेम तामांगले ३ विकेट लिंदा मन्जीत श्रेष्ठ, सुनिल धमला र योगेन्द्र कार्कीको नाममा समान २/२  विकेट रह्यो। १ विकेट रामनरेश गिरिले लिए।

मालपोखरी क्रिकेट क्लबको लागि अम्ब्रोस शाहले अविजित २६ रन (२१ बल) तथा कमल ओली र भुवन गैरेले समान १२/१२ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

प्रतियोगिता अन्तर्गत दोश्रो सेमीफाइनल खेल मंगलबार खेलिनेछ जसमा ओएसीस क्रिकेट एकेडेमी र वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको बिजेताले नगद ३ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन्। यस्तै उपविजेताले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy