विद्यालय स्तरीय क्रिकेटलाई राष्ट्रिय स्तरसँग जोड्दै एलपीएल

२०७८ फाल्गुन २१, शनिबार ०८:१५

कैलाली, धनगढीले क्रिकेटको सहरको उपमा त्यत्तिकै पाएको होइन । यहाँको भूमिमा १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल र क्रिकेटमा सुनौलो भविष्य खोज्दै गरेका १२ वर्षीय प्रिन्स कुँवर एउटै क्रिजमा, ड्युज बलको सामना गर्दै गरेको दृश्यलाई ७७ वर्षका दर्शकले नियालेको देख्न पाइन्छ । भर्खरै सम्पन्न भएको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा हामीले मुम्बईको क्रिकेट हेरेर जीवनको ऊर्जावान् समय बेतित गरेका ७७ वर्षीय दर्शक प्रताप सिंह बडैलालले प्रत्येक खेल नछुटाई कन् हेरेको देख्न पायौँ । लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करणमा कक्षा ६ मा पढ्दै गरेका १२ वर्षीय प्रिन्स कुँवर र नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल एउटै टिमबाट सहभागी बने । प्रतियोगितामा खनालसहित, उप–कप्तान शेर मल्ल पनि सहभागी बने । साथै अर्जुन साउद, आदिल अन्सारी, सन्तोष कार्की, वसन्त कार्की, वशिर अहमद, प्रकाश जैसीलगायत दर्जन बढी यु–१९ र यु–१६ का दर्जन बढी खेलाडीको सहभागिता रह्यो । यसरी क्रिकेटमा राष्ट्रिय टिमको प्रतिनिधित्व गर्ने खेलाडी र विद्यालय स्तरबाट भविष्य खोज्दै गरेका कलिला ‘कोपिला’ लाई एउटै क्रिजमा खेल्ने अवसर दिएको एलपीएल विद्यालय स्तरको क्रिकेटलाई राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने माध्यम बनेको क्रिकेट प्रेमीहरू बताउँछन् ।

“यस्ता प्रतियोगिता अनुभव आदान–प्रदानको तहमा उमेर समूहका खेलाडीका लागि महत्त्वपूर्ण छन् भने, सिकाइको पहिलो चरणका लागि विद्यालयका खेलाडीका लागि” क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र क्षेत्री भन्छन्, “त्यसैले एलपीएल नेपाली राष्ट्रिय क्रिकेट र त्यसको आधार तह विद्यालय स्तरको क्रिकेटबिचको पुल हो । एलपीएलका विभिन्न संस्करणमा सहभागी बनेका दर्जनौँ खेलाडी अहिले नेपालको प्रतिनिधित्व गर्छन् । जसबाट हामीले के भन्न सक्छौँ भने, एलपीएल जस्ता प्रतियोगिता नेपाली क्रिकेटको वर्तमान मात्रै होइन सुनौलो भविष्य हुन् ।”

प्रतियोगितामा आफ्नो बलिङ कौशलले सबैलाई मोहित पारेका सत्यवती एकेडेमीका खेलाडी युवराज खत्रीले सन्दीप लामिछाने जस्तै बन्ने सपना बुनेका छन् । उनी भन्छन्, “एलपीएलमा सहभागी बनेर राम्रो प्रदर्शन गर्न पाउनु त खुसीको कुरा हो, हाम्रालागि त्यो भन्दा खुसीको कुरा राष्ट्रिय टिमका सिनियर दाइहरूसँग खेल्न पाउनु हो । किनकि त्यहाँबाट धेरै सिक्न पाइन्छ ।”

भारतमा क्रिकेट अभ्यासपछि नेपाल आएर एलपीएललाई पहिलो प्लेटफर्म बनाएका अर्जुन साउद र शेर मल्ल अहिले नेपाली यु–१९ राष्ट्रिय टिममा सहभागी छन् । एलपीएलले आफूहरूलाई प्रमाणित गर्ने अवसर दिएको उनीहरू बताउँछन् । साथै एलपीएलकै विभिन्न संस्करणमा राम्रो प्रदर्शन गरेका नारायण जोशी, खडक बोहरा, सन्दीप जोरा, नरेन भट्ट, लक्की कडायत, नरेन साउद, अनिल थापा, वसन्त सिंह कार्की, सचिन साउद, हेमन्त कार्की लगायतका खेलाडी अहिले नेपाली यु–१९, १६ र प्रदेशका टिमहरूमा समावेश छन् ।

नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल भन्छन्, “यस्ता प्रतियोगिता एकदमै कमै मात्रामा आयोजना हुने गरेका छन् । तर पनि खेलाडी उत्पादनमा भने महत्त्वपूर्ण भूमिका रहन्छ । हाम्रो जस्तो उमेर समूहका खेलाडीलाई स्थापित गराउने भनेकै यस्ता प्रतियोगिताले नै हो । साथै लुकेर रहेका धेरै खेलाडीहरू बाहिर ल्याउन पनि यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्दछन् ।” नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमका उपकप्तान शेर मल्लले आफू पनि एलपीएलकै विभिन्न संस्करणमा सहभागी बनेर अहिले यु–१९ सम्म पुग्न सकेको बताउँछन् । “मैले पनि लिटल फ्लावर प्रिमियर लिगमै सहभागी बनेर आफूलाई स्थापित गर्ने अवसर पाएको हुँ,’ उनले भने, ‘अहिले धेरै सम्भावना बोकेका भाइहरू मैले देखिरहेको छु । जसलाई स्थापित गराउन एलपीएल सहजकर्ताको जस्तै भूमिकामा छ ।”

क्रिकेटको आधार तह बलियो बनाउनुपर्छ भनेर नै आफूले लिटल फ्लावर प्रिमियर लिगको सुरुवात गरेको आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए । “हामीले धनगढीमा विद्यालय स्तरको क्रिकेट प्रतियोगिता आयोजना गर्दा क्रिकेट माहौल बनिसकेको थियो” उनले भने, “तर नेपाली क्रिकेटको भविष्य सुनौलो बनाउन सिनियर प्रतियोगिता मात्रै गरेर त हुँदैन। त्यसैले वर्तमानलाई मात्रै हैन नेपाली क्रिकेटको भविष्य सुनौलो बनाउन अहिले देखि नै क्रिकेटको आधार तह बलियो बनाउनु पर्छ भनेर हामीले विगत ६ वर्ष अघि यो प्रयासको थालनी गरेका हौँ ।” आगामी संस्करणमा प्रत्येक प्रदेशको एक टिम रहने गरी प्रतियोगिता आयोजना गर्ने तयारी रहेको शाहीले बताए ।

सुदूरपश्चिम राष्ट्रिय टिम र उमेर समूहका खेलाडीमा वर्चस्व राख्ने प्रदेश हो । तर लिटल फ्लावर प्रिमियर लिग जस्ता खेलाडी उत्पादनमा टेवा पुर्‍याउने प्रतियोगिताको भने यहाँ खडेरी छ । त्यसैले एलपीएल जस्ता प्रतियोगितालाई सबै प्रदेशमा निरन्तरता दिन सके खेलाडी र “क्रिकेट खेलको जग विद्यालय तहदेखि नै बलियो हुने खेलाडी तथा क्रिकेट प्रेमीहरू बताउँछन् । “यस्ता प्रतियोगितालाई अन्य प्रदेशले पनि निरन्तरता दिन सक्ने हो भने नेपाली क्रिकेटको भविष्य पनि सुनौलो छ ।” कप्तान देव खनालले भने ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy