धवन विश्वकपबाट बाहिरिने पक्का, पन्त प्रतिस्थापनका रुपमा टोलीमा

२०७६ असार ४, बुधबार १८:११

अष्ट्रेलिया बिरुद्धको खेलका क्रममा लागेको औंलाको चोट ठिक हुन समय लाग्ने भएपछि भारतीय टोलीका ओपनर ब्याट्सम्यान शिखर धवन जारि विश्वकप क्रिकेटबाट बाहिरिएका छन्। धवनलाई चोट लागेकै केहि दिनमा भारतले रिषभ पन्तलाई ब्याकअप ब्याट्सम्यानको रुपमा बोलाएको थियो।

औंलामा चोट लागेका धवनलाई भारतीय टोलीले चांडै ठिक हुने आशामा आफ्नो मेडिकल टोलीको निगरानीमा राखेको थियो। तर बुधवार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसिसिआई ) ले धवनले विश्वकपका बाँकी खेल गुमाउने बताएसंगै रिशभ आधिकारिक रुपमा टोलीको हिस्सा बनेका हुन्।

पन्तले यसअघि नै इंग्ल्याण्डमा भारतीय टिमसंग जोडिएर अभ्यास समेत थालिसकेका छन्।

प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्ने क्रममा प्याट कमिन्सको बलले लाग्दा शिखर धवनको बुढी औंलामा चोट लागेको थियो। चोटिल रहेपनि आफ्नो ब्याटिंग जारि राख्दै धवनले सो खेलमा शतक समेत बनाएका थिए। खेलको प्लेयर अफ दि म्याच घोषित धवनले अष्ट्रेलिया बिरुद्ध फिल्डिंग भने गरेनन्।

पाकिस्तान बिरुद्धको खेलमा धवनको स्थानमा ओपनिंग ब्याटिंग गरेका लोकेश राहुलले सानदार प्रदर्शन गर्दै अर्धशतकीय पारी खेलेपछि भारतको ओपनिंग समस्या भने टरेको छ। धवनको स्थान लिन टोलीमा आएका रिषभ पन्त मध्यक्रमका ब्याट्सम्यान रहेकाले चौथो नम्बरमा पन्तले ब्याटिंग गर्न सक्ने स्रोतले जनाएको छ।

 

यसअघि नै भारतले विश्वकपका लागि अन्तिम १५ खेलाडीको नाम घोषणा गर्दा रिषभ पन्त टोलीमा नपरेपछि धेरै क्रिकेट पण्डित र समर्थकले भारतीय चयनकर्ताको चर्को बिरोध समेत गरेका थिए। बायाँ हाते बिष्फोटक ब्याट्सम्यान पन्तले भारतका लागी ९ टेस्ट, ५ एक दिवसीय र १५ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। पन्तको करियर भारतीय टोलीमा युवा रहेपनि इंग्ल्याण्ड र अष्ट्रेलिया बिरुद्ध उसकै मैदानमा टेस्ट शतक    बनाएपछि पन्तको ब्याटिंगलाई प्रसंशा गरिंदै आएको छ।

भारतीय टोलीले विश्वकप अन्तर्गत आफ्नो पाँचौं खेल अफगानिस्तान बिरुद्ध शनिवार खेल्दैछ। ४ खेलमा ३ जित र १ नतिजा बिहिन खेल खेल्दा भारतले ६ अंक जोडेको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy