चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीलेनै आगामी सिजन २०२१ मा पनि चेन्नाईको कप्तानी गर्ने भएका छन्। जारि आईपीएलमा खराब प्रदर्शन पछि प्ले-अफ पुग्न इतिहासमै असफल भएपछि आलोचना भएता पनि टिमले धोनीलाईनै टिमको नेतृत्वमा निरन्तरता दिने भएको छ।
चेन्नाई सुपर किंग्सका सीईओ काशी विश्वनाथनले टाइम्स् अफ इन्डीयासंग अन्तर्वार्तामा धोनीले आगामी सिजन कप्तानी गर्ने घोषणा गरेका हुन्।
“पक्कै पनि। धोनीले नै २०२१ मा पनि चेन्नाईको नेतृत्व गर्नेछन्। उनले हामीलाई ३ वटा उपाधि जिताएका छन्। यो वर्ष पहिलो पटक हामी प्लेअफ पुग्न सकेनौ। कुनै पनि टिमले यस्तो गर्न सकेको छैन। एउटा खराब वर्ष गयो भन्दैमा हामि सबै परिवर्तन गर्नुपर्छ भन्ने हुँदैन।” विश्वनाथनले बताए।
टिम मात्र हैन धोनीको पनि यो सिजन ब्याटबाट प्रदर्शन औशत भन्दा कमजोर रहेको थियो। १२ खेलमा धोनीले २८.४२ को औशतले १९९ रन मात्र बनाउन सकेका छन् भने उनको स्ट्राइक रेट मात्र ११८.४५ रहेको छ।
आईपीएल २०२१ को आयोजना ६ महिना पछि हुनेछ। ३९ वर्षीय धोनीको व्यक्तिगत फर्म मात्र हैन भविष्यलाई लिएर समेत प्रश्नहरु उठ्न थालेको छ। तर चेन्नाई सीईओले टिमको हारको कारण लिगको दौरान अप्रिय घटनाक्रमहरुलाई दिए –
“हामीले हाम्रो क्षमता अनुसार यो सिजन खेल्न सकेनौ। हामीले जित्नु पर्ने खेलहरु हार्यौं जसले हामीलाई पछाडी धकेल्यो। सुरेश रैना र हरभजन सिंहले नाम फिर्ता लिनु तथा कोभिड-१९ केसहरुले गर्दा टिमको सन्तुलनमा गडबडी भयो।” विश्वनाथनले बताए।
चेन्नाईका सीईओले कप्तानमा विश्वास देखाएता पनि टिमका मुख्य प्रशिक्षक स्टेफेन फ्लेमिंगले टिम बुढो भएको र रस सकिन थालेको प्रतिक्रिया दिएका थिए –
“आईपीएलको अंकतालिका हेर्दा यो भन्न सकिन्छ कि टिमको रस समाप्त हुँदैछ।” फ्लेमिंगले एक खेल हारेपछि प्रतिक्रिया दिने क्रममा बताएका थिए।
“यदी तपाई ३ वर्षे अवधि हेर्नुहुन्छ भने हामीले पहिलो वर्ष जित्यौं र अर्को वर्ष अन्तिम बलमा हार्न पुग्यौ। मलाई लागेको थियो कि खेलाडीहरुको उमेर बढ्दै गर्दा हामीलाई मुस्किल हुनेछ। र, दुबईको परिस्थितिले पनि हामीसंग नयाँ आवस्यकताहरुको माग गरेको छ।” फ्लेमिंगले बताएका थिए।
आईपीएल २०२० चेन्नाईको लागि बिगत बन्दै गर्दा विश्लेषक र फ्यानहरुले बुढा खेलाडीहरुको बिकल्प खोज्नु पर्ने बताउन थालेका छन्। श्रोतका अनुसार टिम व्यवस्थापनले अर्को सिजनको लागि केहि कडा निर्णयहरु लिने छ-
“फ्लेमिंगले बताए जस्तै धेरै कमजोरीहरु बाहिर देखिएको छ , हामीले केहि कडा निर्णयहरु लिनेछौँ। समस्या यो छ कि, अर्को सिजन आउन धेरै समय पनि बाँकी छैन।” चेन्नाई टिमको श्रोतले इनसाइडस्पोर्ट्ससंग नाम नबताउने सर्तमा बताएको थियो।
चेन्नाईलाई २०२१ मा नयाँ टिम बनाउनको लागि अर्को मुख्य समस्या २०२१ को लागि भारतीय क्रिकेट बोर्डले अझै अक्सन हुने या नहुने घोषणा नगर्नु हो। अक्सन नभए पुरानै खेलाडीहरु रिटेन हुन सक्नेछन्। त्यसो भएको खण्डमा चेन्नाईको नयाँ टिम बनाउने संघर्ष जारि रहन सक्छ।
के-के हुन सक्ला परिवर्तन
टिमसंग हरभजन सिंह र सुरेश रैनाको ३ वर्ष अनुबन्ध अवधि सकिने हुँदा टिमले अनुबन्ध थप नगर्ने सम्भावना छ।
यस्तै शेन वाटसनले ब्याटिंगमा निरन्तरता दिन नसक्दा तथा बलिंग पनि नगरीरहेको हुँदा उनलाई पनि निरन्तरता पाउन मुस्किल देखिन्छ। अम्बाती रायडु र फाफ डु प्लेसीले राम्रो प्रदर्शन गरेता पनि २०२१ मा टिम पुनर्निर्माण हुँदा मौका पाउनेमा शंका गर्न सकिन्छ। ८ खेल खेल्दा ६० वरपर मात्र रन बनाउन सकेका केदार जाधबले पनि निरन्तरता पाउन मुस्किल देखिन्छ।
३२ वर्षीय लेग स्पिनर पियुष चावलाको पनि प्रदर्शन खास नरहेको हुँदा निरन्तरता पाउने सम्भावना कम छ। उनि संगै छिट्टै ४२ वर्ष पुग्ने अर्का लेग स्पिनर इमरान ताहिरको पनि बिकल्प टिमले सोच्न सक्छ।
यो पनि पढ्नुस :-
‘रोहित किन टिममा छैनन्, भारतीय फ्यानलाई जान्ने हक छ’ गावस्कर
लगातार पाँचौ जित पछि पन्जाब चौथो स्थानमा उक्लियो, कोलकाता सहजै पराजित