दिल्लीलाई पहिलो क्वालीफायरमा ४ विकेटले पराजित गर्दै चेन्नाई नवौं पटक इन्डियन प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ। युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नाईले मात्र २ बल बाँकी रहंदा ६ विकेटको क्षेतीमा भेटायो। रोमान्चक रहेको खेलको अन्तिम १० बलमा १९ रन आवस्यक हुँदा चेन्नाई कप्तान धोनीले १ छक्का र ३ चौका प्रहार गर्दै दबाबमा खेल जिताए।
लामो समय पछि फिनिसरको रुपमा पुनः प्रमाणित गरेपछि धोनीले खेल पछि कुराकानीमा आफ्नो पारि बारे बताए – “यो एउटा महत्वपूर्ण पारि थियो। तर विशेष केहि थिएन मात्र बल हेरेर हानेको मात्र हो। मैले यो प्रतियोगितामा हालसम्म केहि खास गर्न सकेको थिईन। नेट्समा म राम्रो ब्याटिंग गरिरहेको थिएँ र आफ्नो फर्मको बारेमा धेरै सोचेको थिईन। त्यसैले बलरले कहाँ बल फाल्छ होला भनेर सोच्ने हो। त्यसबाहेक मेरो दिमागमा केहि थिएन। धेरै कुरा दिमागमा घुमेको खण्डमा बल हेर्न गाह्रो हुन्छ। दिल्लीसंग राम्रो बलिंग आक्रमण छ। उनीहरुले परिस्थितिको राम्रो उपयोग गरे त्यसैले हाम्रो लागि सहज हुनेवाला थिएन। तर भाग्यवश खेल हाम्रो पक्षमा रह्यो।”
धोनीले ब्याटिंग लाईन अपमा परिवर्तन गरिएको बारे बताए – “शार्दुलले पछिल्लो समय राम्रो ब्याटिंग गरिरहेकाले उनलाई माथि पठाइएको थियो। रोबिन सधैं माथि ब्याटिंग गर्न रमाउने गर्छन्। मोईन अहिले पनि तेश्रो नम्बरको बिकल्प हुन्। हामि परिस्थिति अनुसार निर्णय गर्नेछौँ कि उथप्पा र मोई कसलाई माथि पठाउने।” खेलमा रोबिन उथपालाई तेश्रो नम्बरमा पठाएर शार्दुल ठाकुरलाई चौंथो नम्बरमा तथा मोईन अलि लाई छैठौं नम्बरमा पठाइएको थियो।
“हामीले गत सिजन प्लेअफ छनोट हुन नसक्दा सहज परिस्थिति थिएन। अहिले सबै खुसि छन् र सफलताको श्रेय सपोर्ट स्टाफ र टिमको सबै सदस्यलाई जान्छ।” धोनीले थपे।
हारपछि दिल्लीका कप्तान रिशभ पन्तले बताए – “यो निश्चित रुपमा निकै निराशाजनक छ जसलाई वायान गर्न मसंग शब्द छैन।” अन्तिम ओभरमा टम करनलाई बलिंग दिएको बारे पन्तले यस्तो बताए -“मलाई लागछ टमले आज निकै राम्रो बलिंग गरे त्यसैले उनलाई अन्तिम ओभर दिनु सहि थियो तर दुर्भाग्यवस अन्तिम ओभरमा उनले रन खाए। मलाई लाग्छ बलरहरुले राम्रो बलिंग गरे तर हामीले सुरुवातमा धेरै विकेट नलिंदा फरक पार्यो। एउटा क्रिकेटरको रुपमा गल्तिबाट सिक्नु पर्छ र अर्को खेलको लागि अघि बढ्नुपर्छ। आशा छ हामीले अर्को खेल जितेर फाइनल पुग्नेछौँ।” पन्तले विश्वास व्यक्त गरे।
लिग अन्तर्गत सोमबार इलिमीनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन्। उक्त खेलको विजेतासंग दिल्लीले फाइनल प्रवेशको लागि दोश्रो क्वालीफायरमा बुधबार प्रतिस्पर्धा गर्नेछ। लिगको फाइनल अक्टोबर १५ तारिखमा युएईमा खेलिनेछ।
