विकेटकिपर ब्याट्सम्यान रिशभ पन्तले आगामी सिजन इन्डियन प्रिमियर लिग ( आईपीएल ) २०२१ मा दिल्ली क्यापिटल्स टिमको कप्तानी सम्हाल्ने भएका छन्। दिल्लीले बिहिबार बिज्ञप्ति जारि गर्दै पन्तलाई कप्तान घोषणा गरेको हो।
लिगको १४ औं सिजनमा पन्तले घाइते भएका श्रेयस ऐयरको ठाउँ लिने छन्। ऐयरलाई भारत-इंग्ल्यान्ड एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज दौरान बायाँ काँधमा चोट लागेको थियो।
“म श्रेयसको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। श्रेयसको कप्तानीमा हाम्रो टिमले नयाँ उचाई छोएको छ जसलाई हामि निकै याद गर्नेछौँ। उनको अनुपस्थितिमा फ़्रेन्चाइजले रिशभलाई कप्तानीको जिम्मेवारी सुम्पेको छ। प्रतिकुल परिस्थितिमा यो निर्णय गर्नु परेता पनि यो उनको विकासको लागि उत्कृस्ट अवसर हुनेछ। म उनलाई नयाँ जिम्मेवारीको लागि शुभकामना दिन चाहन्छु।” दिल्ली टिमका अध्यक्ष तथा सहमालिक किरण कुमार गान्धीले बताएका छन्।
“पक्कै पनि श्रेयस ऐयरको कप्तानी यो सिजन मिस हुनेछ र हामि आशा गर्छौं कि उनि छिट्टै फिर्ता हुनेछन्।” टिमका सहमालिक पार्थ जिन्दालले बताएका छन्। “दिल्ली क्यापिटल यस्तो टिम हो जो निडर क्रिकेट खेल्ने गर्छ र रिशभ पन्त त्यसको मेरुदण्ड हुन्।” जिन्दालले बताए।
🚨 ANNOUNCEMENT 🚨
Rishabh Pant will be our Captain for #IPL2021 ✨@ShreyasIyer15 has been ruled out of the upcoming season following his injury in the #INDvENG series and @RishabhPant17 will lead the team in his absence 🧢#YehHaiNayiDilli
— Delhi Capitals (@DelhiCapitals) March 30, 2021
घाइते श्रेयस ऐयरले पन्त कप्तानी भएकोमा आफ्नो धारणा व्यक्त गरेका छन् – “जब मलाई काँधको चोट आयो तब दिल्लीलाई अर्को सिजनको लागि नेतृत्वको खाँचो थियो। मलाई कुनै सन्देह छैन कि रिशभ यो जिम्मेवारीको लागि उत्कृस्ट रोजाई हुन्। उनिसंग मेरो शुभकामना छ। म टिमलाई निकै मिस गर्नेछु र बाहिरबाटै भए पनि हौसला दिने छु।” ऐयरले बताएका छन्।
नयाँ जिम्मेवारी पाएपछि रिशभ पन्तले बताए – “दिल्लीमा म हुर्केको हुँ जहाँ देखि आईपीएल यात्रा ६ वर्ष अघि सुरु भएको थियो। यो टिमको नेतृत्व गर्नु मेरो सपना थियो। आज मेरो सपना पुरा भएको छ जसको लागि टिम व्यवस्थापनहरु प्रति म अनुग्रहित छु। म मेरो उत्कृस्ट दिनको लागि आतुर छु।”
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले बताए – “श्रेयस ऐयरको कप्तानीमा पछिल्लो दुई सिजन उत्कृस्ट रहेको थियो जुन नतिजाले पनि देखाउछ। यो युवा रिशभको लागि उत्कृस्ट अवसर हो। अस्ट्रेलिया र इंग्ल्यान्ड बिरुद्ध भखरै सफल प्रदर्शन पछि उनमा आत्मविश्वास रहेको छ भने नयाँ भूमिकाले उनिसंग थप जिम्मेवारी हुनेछ। प्रशिक्षण समुह उनिसंग काम गर्न पाउदा उत्कृस्ट छ।”
आईपीएलमा कप्तानको रुपमा रिशभ पन्तको यो सिजन डेब्यु हुनेछ। २३ वर्षीय विकेटकिपर ब्याट्सम्यानले भारतीय घरेलु क्रिकेटमा दिल्लीको स्टेट टिमको कप्तानी गरेको अनुभव रहेको छ।
२३ वर्षको उमेरमा कप्तानी गर्न लागेका पन्त आईपीएल इतिहासको पाँचौ युवा कप्तान बन्ने भएका छन्। उनि भन्दा सानो उमेरमा बिराट कोहली, स्टिभ स्मिथ, सुरेश रैना र श्रेयस ऐयरले कप्तानी सम्हालेका थिए। स्मिथ र कोहलीले २२ वर्षको उमेरमा तथा रैना र ऐयरले २३ वर्षको उमेरमा पन्त भन्दा दिनमा कान्छोउमेरमा कप्तानी सम्हालेका थिए।
आईपीएलमा पन्तले कुल ६८ खेल खेल्दा २ हजार ७९ रन बनाएका छन्। पन्तले २०१८ को सिजनमा १४ खेलमा ६८४ रन बनाएका थिए। गत सिजन टिम फाइनल यात्रा गर्न सफल भएता पनि पन्तको प्रदर्शन भने उत्कृस्ट रहन सकेको थिएन। उनले १४ इनिंग्समा ३१ को औशतले र ११४ को स्ट्राइक रेटले ३४२ रन बनाउन सकेका थिए।
२०१९ मा दिल्ली डेयरडेभिल्सबाट नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्स बनेपछि टिम २०१९ मा प्लेअफ पुग्न सफल भएको थियो भने गत सिजन फाइनल यात्रा गर्न सफल भएको थियो।
आईपीएल २०२१ को सुरुवात अप्रिल ९ देखि हुँदैछ। दिल्लीले अप्रिल १० तारिखमा चेन्नाई सुपर किंग्ससंग खेल्दै लिगको सुरुवात गर्नेछ।
धेरैले पढेको
https://wicketnepal.com/ipl-khel-talika-wn21-aayo/
https://wicketnepal.com/april-17-nepal-tri-series-date-ann-wn21/
https://wicketnepal.com/sandeep-to-play-england-vitality-blast-wn21/
