दिल्लीले फुकुवा गरेपछि सन्दिपले यसरी दिए धन्यवाद

इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा तिन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि नेपाली स्पिनर सन्दिप लामिछानेलाई टिममा निरन्तरता नदिने घोषणा दिल्लीले बुधबार गर्यो। सन्दिप सहित दिल्लीले किमो पौल, एलेक्स केरी, जेसन रोय, मोहित शर्मा र तुषार देशपाण्डेलाई फुकुवा गर्ने निर्णय गर्यो।

आईपीएल २०१८ मा नेपाली लेग स्पिनरमा विश्वास देखाउदै दिल्लीले २० लाख भारतीय रुपैयाँ खर्चेर अक्सनमार्फत सन्दिपलाई भित्र्याएको थियो। पहिलो सिजन ३ वटा र दोश्रो सिजन ६ वटा गरि कुल ९ खेलमा सन्दिपले दिल्लीको प्रतिनिधित्व गरे जुन क्रममा १३ विकेट आफ्नो नाम गरे। तर २०२१ को सिजनमा दिल्ली उपविजेता बन्दा सन्दिपले मैदान बाहिरनै रहनुपर्यो।

२०२१ आईपीएल भारतमै आयोजना हुँदैछ जसको लागि फेब्रुअरीमा मिनी अक्सन आयोजना हुँदैछ। त्यस अघि सहभागी ८ वटै टिमहरुले फुकुवा गर्ने र टिमसंग रहने खेलाडीहरुको सूची सार्वजनिक गर्दा सन्दिप पनि दिल्लीको फुकुवा हुने खेलाडीको सूचीमा परेका हुन्।

“रकस्टार, मैदान भित्र र बाहिर” सन्दिपलाई फुकुवा गरेपछि दिल्लीले आफ्नो फेसबुक पोस्टमा लेखेको छ।

“टिन एजमा हाम्रो आफ्नै मिस्टर वर्ल्डवाइड सन्दिप लामिछानेले विश्वभर आफ्नो रेकर्ड तोड्दै आफ्नो नाम बनाइसकेका छन्। हामि विश्वस्त छौँ उनले यसलाई निरन्तरता दिनेछन्। प्रेरक बन्दै गर्नु सन्दिप।” दिल्लीले सन्दिपको फोटोहरु राख्दै आगामी दिनको लागि शुभकामना दिएको छ।

सन्दिप लामिछानेले पनि दिल्लीले आफूमाथि विश्वास देखाएकोमा आभार प्रकट गरेका छन्-

“आईपीएलले मलाई धेरै दिएको छ , अझ विशेष गरि दिल्ली क्यापिटल्सले जसले म माथि विश्वास देखाएर मौका दियो। याददार पछिल्लो ३ वर्षको लागि म सम्पूर्ण दिल्ली क्यापिटल्स परिवार प्रति आभारी छु। ”

सन्दिपले टिममा पहिलो मौका दिने दिल्ली टिमका सीईओ हेमन्त दुवालाई सम्झिएका छन्। सन्दिपलाई दिल्लीले छनोट गरेपछि दुवा काठमाडौँ आएर सन्दिपलाई दिल्लीको जर्सी प्रदान गरेका थिए। दुवाले सन्दिपलाई दिल्ली बोलाएर उनको ट्रायल लिएका थिए।

“अझ पहिलो मौका दिने सर ‘हेमन्त दुवा’ प्रति विशेष आभारी प्रकट गर्न चाहन्छु। म सबैलाई सुभकामना दिन चाहन्छु। यो नयाँ दिशातर्फ जानको लागि हो।”

नेपाली खेलाडीलाई आईपीएल जस्तो विश्वकै उत्कृस्ट क्रिकेट लिगमा मौका दिएर दिल्ली क्यापिटल्सले ठूलो गुण लगाएको थियो। दिल्लीले सन्दिपलाई मौका दिएपछि २०१८ मा सन्दिपले विश्वभरका ठूला लिगहरुमा मौका पाउन थालेका थिए। सन्दिपले बिग ब्यास, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, टि-१० लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग जस्ता लिगहरु खेलीसकेका छन्।

दिल्ली टिममा रहंदा अधिकांश खेलहरुमा मैदान बाहिर बिताउनु पर्दा नेपाली फ्यानहरु निराश हुने गरेका थिए। दिल्ली टिममा रभीचन्द्रन आश्विन, अक्षर पटेल, अमित मिश्रा जस्ता स्पिनरहरु रहंदा सन्दिपको आवस्यकता टिमलाई महसुस नभएको हो। त्यसैले सन्दिपलाई फुकुवा गर्नुमा टिमले भलो सोचेको हो। दिल्लीले फुकुवा गरेपछि अब नेपाली स्पिनरलाई कुन टिमले अक्सनमार्फत लिनेछ नेपाली फ्यानहरुमा कौतुहलता रहेको छ। स्पिन पक्ष कमजोर रहेका टिमहरुको रोजाइमा सन्दिप पर्न सक्नेछन्। तिन वटा सिजन प्रति सिजन मात्र २० लाख भारु पाएका नेपाली स्पिनरले अब ठूलो रकम पाउन सक्ने पनि अनुमान गर्न सकिन्छ।

सम्बन्धित :

आईपीएल २०२१ : कुन टिमले कुन-कुन खेलाडी फुकुवा र टिमसंग राख्यो ( पुरा सुची )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy