क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत बिहिबार आफ्नो तेश्रो खेल खेलेका नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले प्रभावशाली प्रदर्शन जारि राखेका छन्।
दिपेन्द्रको टिम मोन्टरियल टाइगर्सले लिगमा पहिलो हार बेहोर्न पुग्दा बलिंगमा महँगो सावित भएका दिपेन्द्रले ब्याटिंगमा भने राम्रो प्रदर्शन गरे। ब्राम्प्टन वुल्भ्सले टाइगर्सलाई १५ रनले पराजित गर्यो।
२ ओभर बलिंग गरेका दिपेन्द्रले २० रन खर्चिए भने ब्याटिंगतर्फ २४ बलमा २ चौका मद्दतले २८ रन बनाए।
पहिलो इनिंग्सको आठौँ ओभरमा बलिंग सुरुवात गरेका ऐरीले मात्र ४ रन खर्चिए। स्पेल निरन्तरता दिने क्रममा दसौं ओभर बलिंग गर्दा भने ऐरीले एकै ओभरमा १६ रन खर्चिए। ओभरको पहिलो बलमा मार्क च्याम्पम्यानले चौका प्रहार गरे। तेश्रो बलमा कोलिन डी ग्रयाण्डहोमले चौका तथा लगत्तै बलमा छक्का प्रहार गरे। टिमको सबैभन्दा महँगो बलर बनेका ऐरीलाई त्यसपछि भने बलिंगमा ल्याइएन।
ब्याटिंगतर्फ भने दिपेन्द्रको प्रदर्शन निकै राम्रो रह्यो। छैठौं नम्बरमा ब्याटिंग गरेका ऐरीले अर्को किनारमा विकेट गुमेता पनि क्रिजमा जम्दै साझेदारी गर्ने प्रयास गरेका थिए। त्यसक्रममा ऐरीले राम्रो स्ट्राइक रोटेसन गरे। त्यसक्रममा उनले बाह्रौं ओभरमा हुसेन तलतलाई तथा चौधौं ओभरमा शाहिद अहमदजाईलाई चौका प्रहार गरे। त्यसबाहेक बलहरुमा एक रन, दुई रन लिंदै ऐरीले इनिंग्स अघि बढाउदै परिपक्वता देखाए। तर आवस्यक रन गतिको दबाब बढ्दै जाँदा उन्नाईसौं ओभरमा ऐरी ठूलो सट खेल्ने क्रममा लोभान भान विकको बलमा क्याच आउट हुन पुगे।
लिगमा दिपेन्द्रले पहिलो खेलमा मोन्टरियल टाइगर्स विरुद्ध २८ रन बनाएका थिए भने दोश्रो खेलमा भानकुभर नाइट्स विरुद्ध १ विकेट लिनुको साथै अविजित २२ रन बनाएका थिए।
खेलमा ब्राम्पटन वुल्भ्सले दिएको १४४ रनको लक्ष्य पछ्याएको मोन्टरियल टाइगर्सले १९.१ ओभरमा १२८ रनमा सबै विकेट गुमायो। दिपेन्द्र ऐरी र शाकिब अल हसनको २८ रन टिमको लागि सर्वाधिक योगदान रह्यो। दिलप्रित सिंहले २४ तथा शर्फेन रुथरफोर्डले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
प्लेयर अफ द म्याच घोषित ब्राम्पटनका लोबान भान विकले ३ विकेट तथा शाहिद अहमदजाई र कोलिन डी ग्राण्डहोमले २/२ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको ब्राम्पटनले १९.५ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनायो। उसको लागि कोलिन डी ग्राण्डहोमले सर्वाधिक ५६ रन, उस्मान खानले ३३ तथा मार्क च्यापम्यानले २१ रन योगदान दिए। मोन्टरियलको बलिंगमा कार्लोस ब्राथवेट र आयन अफ्जल खानले ४/४ तथा शाकिब अल हसन र अब्बास अफ्रिदीले १/१ विकेट लिए।
लिग अन्तर्गत मोन्टरियल टाइगर्सले आगामी खेल जुलाई १९ तारिख, शनिवार राति ८:४५ बजे टोरोन्टो नेसनल्स विरुद्ध खेल्नेछ।