- विकेटनेपाल, माघ-१८ , शुक्रबार
दिपेन्द्र ऐरिले सानदार इनिंग खेलेपछि युएई र नेपाल बीच जारि ३ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो टि-२० मा ४ विकेटको जित दर्ता गर्दै नेपालले सिरिज १-१ को बराबरी गरेको छ।
युएईले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो ५ विकेट ४६ रनमा गुमाउन पुगेको थियो। हारको खतरा बढीरहेको अवस्थामा ऐरिले अविजित ४७ रनको इनिङ्ग खेल्ने क्रममा अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा २० औं ओभरको दोश्रो बलमा छक्का र तेश्रो बलमा चौका प्रहार गर्दै नेपाललाई रोमान्चक जित दिलाए।
टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐरिको यो सर्वाधिक इनिंग हो भने करियरमा पहिलो पटक प्लेयर अफ द म्याच अवार्ड पनि पाए।
दिपेन्द्र ऐरिले नेपालको लागि सन् २०१७ बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासंग डेब्यु गरेपछि उनले खेलेका ६ उत्कृस्ट इनिंगलाई यहाँ प्रस्तुत गरेका छौँ –
६१ रन ( बिरुद्ध केन्या , २०१७ बिश्व क्रिकेट लिग च्याम्पियनसिप )
टियु मैदानमा आयोजित बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा केन्यासंग ऐरिले करियरको दोश्रो खेलमै उत्कृस्ट ब्याटिंग गरेका थिए। केन्यासंगनै भएको अघिल्लो खेलमा ऐरिले डेब्यु गरेका थिए।
केन्यासंग पहिलो खेलमा नेपाल पराजित भए पछि दोश्रो खेलमा नेपाल जित हात पार्न चाहन्थ्यो। पहिले ब्याटिंग गरेको केन्यालले नेपाललाई १५६ रनको लक्ष्य दियो। लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवात राम्रो गर्न सकेन र पहिलो २ विकेट १४ रनमै गुमाउन पुग्यो। त्यसपछि ब्याटिंग गर्न आएका ऐरिले तेश्रो विकेटको लागि ज्ञानेन्द्र मल्लसंग १११ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। ६६ बलमा ऐरिले ८ चौका र १ छक्का प्रहार गरेका थिए जुन नेपाली टिमको लागि उनको पहिलो अर्धशतक थियो।

५६ रन ( बिरुद्ध बंगलादेश यु-२३ , एसीसी इमर्जिङ्ग टिम्स कप २०१७ )
बंगलादेशमा भएको प्रतियोगितामा नेपालको लागि दोश्रो प्रतियोगिता खेल्ने क्रममा ऐरिले राम्रो इनिङ्ग खेलेका थिए।
बंगलादेश यु-२३ टिमले दिएको २५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो ३ विकेट १६ रनमै गुमाईसक्दा ऐरिले चौथो विकेटको लागि दिलिप नाथसंग ९८ रनको साझेदारी गर्ने क्रममा अर्धशतक बनाएका थिए। राष्ट्रिय टिमको लागि दोश्रो अर्धशतक बनाउने क्रममा ऐरिले स्तरीय बंगलादेशी बलर बिरुद्ध राम्रो ब्याटिंग गरेका थिए।
बंगलादेश यु-२३ टिममा बंगलादेशको लागि खेलीसकेका बलर अबुल हसन, मोहम्मद सैफुद्दीन, नासिर हुसेन, अफिफ हुसेन, मोमिनुल हक जस्ता बलरहरु थिए। नेपाल खेलमा ८३ रनले पराजित भए पनि ऐरिले ५६ रन बनाउदै मन जितेका थिए।
६०* ( बिरुद्ध हंगकंग , एसीसी इमर्जिङ्ग टिम्स कप २०१७ )
नेपालको लागि तेश्रो अर्धशतक बनाउने क्रममा ऐरिले हंगकंग बिरुद्ध ७ विकेटको जितमा उत्कृस्ट इनिंग खेलेका थिए। हंगकंगले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा ऐरिले अविजित ६० रन बनाउन ८३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। यस क्रममा ऐरिले शरद भेसावकरसंग ११५ रनको विशाल साझेदारी गरेका थिए।

५० रन ( बिरुद्ध पपुवा न्यु गिनी, आईसीसी बिश्व कप छनौट २०१८ )
पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गर्ने क्रममा नेपालले मात्र ११५ रनको लक्ष्य पछ्याउदा ३५ रनमै ३ विकेट गुमाईसकेको थियो। त्यसपछि नेपाललाई सुरक्षित गन्तब्य प्रदान गर्ने क्रममा ऐरिले चौथो विकेटको लागि अरिफ शेखसंग ६७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। अविजित ५० रन बनाउदै राष्ट्रिय टिमको लागि चौथो अर्धशतक बनाउने क्रममा ऐरिले ५८ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
५४ रन ( बिरुद्ध मलेसिया, एसिया कप छनौट २०१८ )
मलेसियामा सम्पन्न प्रतियोगिताको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले पहिलो ५ विकेट ६० रनको योगफलमै गुमाउन पुगेको थियो। नेपाल सानो योगफलमै समेटिने खतरा थियो जसलाई दिपेन्द्र ऐरिले उत्कृस्ट ब्याटिंग गर्दै टार्न पुगे।
छैठौं विकेटको लागि ऐरिले आरिफ शेखसंग १०१ रनको साझेदारी गर्दै राष्ट्रिय टिमको लागि पाँचौ अर्धशतक समेत पुरा गरेका थिए। ५४ रन बनाउन ५१ बलमा उनले ६ चौका र १ छक्का प्रहार गरे। खेलमा नेपालले १८८ रनको योगफल तयार गर्यो र लक्ष्य पछ्याउने क्रममा मलेसिया १६९ रनमा समेटिन पुग्दा नेपालले १९ रनको जित दर्ता गर्यो।

४७ रन ( बिरुद्ध युएई, नेपाल-युएई टि-२० सिरिज )
शृंखला अन्तर्गत ३ एक दिवसीय अन्तर्राष्ट्रिय र पहिलो टि-२० अन्तर्राष्ट्रियमा दिपेन्द्र ऐरीको ब्याट नचल्दा उनी आलोचनाको शिकार बनेका थिए। तर दोस्रो टि-२० खेलमा ऐरीले अतिआवश्यक ४७ रनको अविजित इनिंग खेल्दै नेपाललाई जित दिलाए। त्यसक्रममा उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
खेलको प्लेयर अफ दि म्याच बनेका ऐरीले टि-२० अन्तर्राष्ट्रियमा व्यक्तिगत सर्वाधिक रन बनाउंदा नेपालले खेलमा रोमान्चक जित हात पार्यो। युएईले दिएको १०८ रनको सामन्य लक्ष्य पछ्याउने क्रममा नेपाल ३५/३ को खराब अवस्थामा रहंदा दिपेन्द्र ब्याटिंग गर्न गर्न उत्रिएका थिए। त्यसपश्चात उनले करन केसीसंग चौथो विकेटको लागि मात्र ४ रनको साझेदारी गर्न सके। करनको विकेट पश्चात थप ७ रन जोड्दा सन्दिप जोरा समेत पभेलियन फर्किए।
खराब अवस्थामा रहेको नेपालको ब्याटिंगलाई दिपेन्द्रले पवन सर्राफसंग छैठौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै जितको नजिक पुर्याए। जितका लागि ७ रन आवश्यक हुँदा पवनले अन्तिम ओभरको पहिलो बलमा आफ्नो विकेट गुमाएका थिए। त्यसको लगत्तै दिपेन्द्रले छक्का र चौका प्रहार गर्दा नेपाल खेलमा जित दर्ता गर्यो।
६ इनिंग मध्ये तपाईको प्रिय इनिङ्ग कुन हो ? कमेन्ट गर्नुस है