यु-१९ युथ एसिया कपको पहिलो खेलमा टेस्ट रास्ट्र तथा आयोजक श्रीलंकासंग नेपालले मात्र १ रनको हार बेहोरेको छ।
श्रीलंकाले पहिले ब्याटिंग गर्दै दिएको २२८ रनको लक्ष पछ्याउने क्रममा नेपाललाई जितको लागि अन्तिम ओभरमा मात्र ८ रन आवस्यक थियो र बाँकी थियो मात्र १ विकेट। अन्तिम ओभरको दोश्रो बलमा दिपेन्द्र ऐरीले छक्का प्रहार गरेपछि अब नेपाललाई बाँकि ४ बलमा मात्र २ रन आवश्यक थियो।
जित निकै नजिक रहेको अवस्थामा नेपाली फ्यानहरुको उत्साह त्यतिबेला समाप्त भयो जतिबेला अन्तिम ओभर बलिंग गरिरहेका जयबिक्रमाको बल दिपेन्द्र ऐरीको प्याडमा लाग्यो। ३२ रनमा ३ विकेट गुमाईसकेको अवस्थाबाट नेपाललाई जितभन्दा मात्र २ रन टाढा पुर्याउने दिपेन्द्र ‘एलबिडब्लु’ धरापमा पर्नु नेपालको लागि दुर्भाग्यपूर्ण थियो।
ऐरीले ९० रनको इनिंग खेल्ने क्रममा ९९ बल सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरे। स्कोरकार्ड हेर्नुस
श्रीलंकाले दिएको २२६ रन लक्ष पछ्याउने क्रममा नेपालले लगातार सुरुवाती विकेट गुमाउन पुग्यो। ५ विकेट गुम्दा नेपालको स्कोर २८ औ ओभरमा ११२ मात्रै थियो। तर त्यसपछि पाचौ नम्बरमा ब्याटिंग गर्न आएका दिपेन्द्र र सातौ नम्बरमा ब्याटिंग गरेका अविनाश कर्णले छैठौ विकेटको लागि ८४ रनको साझेदारी गर्दै नेपाललाई जितको नजिक पुर्याए।
अविनाश ४५ औ ओभरमा मेन्डिसको बलमा ४० रन बनाई पेभेलियन फर्किनु अघि ६४ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
छैठौ विकेट गुमाएपछि नेपालको स्कोर १९६/६ थियो र जितको लागि आवस्यक थियो मात्र ३२ रन। तर ब्याट्सम्यानहरुले त्यसपछि परिपक्वता देखाउन नसक्दा नेपालले थोरै अन्तरमा ३ वटा विकेट गुमायो। कप्तान सन्दिप लामिछाने नवौ विकेटको रुपमा रन आउट हुँदा नेपालको स्कोर ४८.५ ओभरमा २२०/९ थियो।
नेपालको लागि ओपनर सन्दिप सुनार ( २ ) र आसिफ शेख ( १ ) ले राम्रो सुरुवात दिन सकेनन्। तेश्रो नम्बरमा ब्याटिंग गरेका आदील खानले ३९ रनको पारि खेल्दै आशा देखाए पनि धेरै बेर क्रिजमा जम्न सकेनन्। चौथो नम्बरमा भिम शार्कीले ८ रन मात्रै बनाउन सके। छैठौ नम्बरका प्रकाश केसी १४ रनमा आउट भए।
यस अघि टस जितेर फिल्डिंग रोजेको नेपालले श्रीलंकालाई खुलेर खेल्न दिएन। खेलको पहिलो बलमै ओपनर चथुरंगा खाता नखोली कमल ऐरीको बलमा आउट भए। तेश्रो नम्बरमा ब्याटिंग गरेका हसिथा बोयोगोडाले ८३ रनको इनिंग खेल्दै श्रीलंकन पारि उकासेका थिए। यस्तै अशेन बन्डाराले अविजित ४८ रनको योगदान दिए।
नेपालका सुरुवाती बलर कमल ऐरीले ३ विकेट आफ्नो पक्षमा पारे जसले ८ ओभरमा ४३ रन खर्चे। यस्तै अफ स्पिनर पवन शर्राफले २ विकेट र दिपेन्द्र ऐरीले १ विकेट हात पारे।
९० रन र १ विकेट बनाउदै उत्कृस्ट प्रदर्शन गरेका दिपेन्द्र ऐरीनै खेलको म्यान अफ द म्याच घोषित भए जसले २५० अमेरिकी डलर पाए।
नेपालले समुह ‘ए’ अन्तर्गत आफ्नो दोश्रो खेल भोलि भारतसंग नेपाली समय १० बजे खेल्नेछ।
आज सम्पन्न अन्य खेलहरुमा बंगलादेश, भारत र पाकिस्तानले जित हात पारे। बंगलादेशले अफगानिस्तानलाई ४ विकेटले, भारतले मलेसियालाई २३५ रनले तथा पाकिस्तानले सिंगापुरलाई ९ विकेटले पराजित गर्यो।